‘मेरो छोराको हत्यारालाई कारवाही होस, न्याय नमरोस’ – पिडित

lagu ausadhi biruddha abhiyan jajarkot

सत्यतथ्य छानवीन गछौ –समिति

राजेन्द्र कार्की । जाजरकोट
गत १० जेठमा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि मृत्यु भएका नवराज विकका आमाबुवाले छोरोको हत्यारालाई कारवाहीको माग गरेका छन् । सरकार द्धारा गठित उच्च स्तरीय छानवीन समिति समक्ष नवराजका आमाबुवाले न्यायको याचना गरेका हुन् ।

घटनालाई तोड्मोड गर्ने काम नगरियोस निश्पक्ष छानवीन गरि हामीलाई न्याय दिईयोस नवराजका बुवा मोहनलाल विकले भने ‘दलित भएकै कारण मेरो छोरा सहित पाँच जनाको हत्या भएको छ । निश्पक्ष छानवीन गरि दोषी माथि कारवाही गरियोस । मेरो छोरा मरे पनि न्याय नमरोस ।’ आफ्नो घरमा नवराजकी प्रेमिका आउजाउ गर्ने गरेको र गत पुसमा चार दिन बसेर गएको बताउँदै आमा उर्मिलाले छानवीन समिति समक्ष भावविहल हुदै भनिन ‘त्यतिवेलै मैले तिमिहरुको यो सम्बन्ध कसरी अघि बढ्छ । हामी दलित तिमी ठकुरीकी छोरी भनेर सम्झाउँदा पनि मानेनन् । अहिले आएर हामी दलित भएकै कारण छोराको ज्यानै लिएर छोडे । छोरो सदाको लागी मरेर गएपनि न्याय नमरोस । हत्याराको कारवाही होस । न्याय नमरोस ।’
उच्च स्तरीय छानवीन समितीका संयोजक गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानवीन हुने आश्वासन दिए । उनले भने ‘कसैको दवाव र प्रभावमा पदैनौ । छानवीन निश्पक्ष हुन्छ । पिडितलाई न्याय दिलाउन हामी सरकारले दिएको मेन्डेड अनुसार प्रतिवेदन पेश गछौ ।’
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा घटेको अमानवीय घटनाबारे अध्ययन गर्न सरकार द्धारा गठित उच्चस्तरीय समितिले घटना स्थल पुगेर काम थालेको छ । घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समिति जाजरकोट पुगेको हो । समितिले पिडित पक्ष र जाजरकोटको स्थानिय प्रशासन भेटघाट गरेको समितिका संयोजक बस्नेतले बताए । पीडित पक्षसँग भेटघाट गर्नुका साथै जाजरकोट प्रहरी, स्थानिय प्रशासन सँग छलफल गरेको बताए । सरोकारवाला सवै सँग प्रत्यक्ष भेटघाट गर्ने उनको भनाई छ ।

पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोटमा राखिएको भेरी नगरपालिका– ४ का सन्जु भनिने सञ्जीव विकको शवको अवलोकन गरेको छ । सन्जुको शव विहिवार भेरी नदीमा फेला परेको थियो । घटनाका विषयमा संसददेखि सडकसम्म चर्को दबाब भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

दलित केटा र गैरदलित केटी बीच लामो समय देखि प्रेम सम्बन्ध रहेकोे र उक्त प्रेमलाई विवाहमा परिणत गर्न भन्दै सोती गाँउ पुगेका युवाहरूको समूह माथि गाउँलेले आक्रमण गरेको थियो । आक्रमणबाट प्रेमी नवराज सहित पाँच जनाको ज्यान गएको छ भने एक जना गोविन्द्र शाही हराईरहेका छन् । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
पीडित परिवारको मागअनुसार शव हेरेर अनुसन्धान थालिएको समितिका संयोजक बस्नेतले बताए ।
उच्चस्तरीय समितिमा गृह मन्त्रालयका सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव द्धय वशिष्ट घिमिरे र माधव ढकाल सहभागी छन् । समितिको टोली पश्चिम रुकुमको मुसिकोट गएर अनुसन्धान प्रक्रिया बारे जानकारी लिनेछ । केही दिन समिति जाजरकोट र रुकुममै रहेर घटनाको सत्यतथ्य अवस्था बुझ्ने भएको छ ।

यसैबीच उच्चस्तरीय समितिलाई शुक्रबार दलित अधिकारकर्मीहरुले निष्पक्ष छानबिन गर्न भन्दै ६ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन । घटना भएको केही समयमै घटनास्थल पुगेका प्रहरीलाई समेत छानवीनको घेरामा राखिनु पर्ने, पक्राउ परेका सवैको पोलिग्राफ टेष्ट गरिनु पर्ने, घटनाको निश्पक्ष छानवीन गर्नु पर्ने , पिडितले न्याय पाउनु पर्ने लगायतका माग ज्ञापनपत्रमा राखिएको छ ।
केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराज सहितका १९ जनामाथी सोतीका स्थानियले आक्रमण गरेका थिए । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । पिडित पक्षले वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरी वडाध्यक्ष सहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य दुई जनाको खोजी भैरहेको जनाएको छ । प्रहरीले सोही घटनामा सँगै गएर बाँचेका सात जनालाई सर्जिमिन मुचुल्का गर्नका लागी विहिवार मुसिकोट लगेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad