राजेन्द्र कार्की । जाजरकोट
पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा घटेको अमानवीय घटनाबारे अध्ययन गर्न सरकार द्धारा गठित उच्चस्तरीय समितिले घटना स्थल पुगेर काम थालेको छ । घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समिति जाजरकोट पुगेको हो । समितिले पिडित पक्ष र जाजरकोटको स्थानिय प्रशासन भेटघाट गरेको समितिका संयोजक जितेन्द्र बस्नेतले बताए । पीडित पक्षसँग भेटघाट गर्नुका साथै जाजरकोट प्रहरी, स्थानिय प्रशासन सँग छलफल गरेको बताए ।
पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोटमा राखिएको भेरी नगरपालिका– ४ का सन्जु भनिने सञ्जीव विकको शवको अवलोकन गरेको छ । सन्जुको शव विहिवार भेरी नदीमा फेला परेको थियो । घटनाका विषयमा संसददेखि सडकसम्म चर्को दबाब भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
दलित केटा र गैरदलित केटी बीच लामो समय देखि प्रेम सम्बन्ध रहेकोे र उक्त प्रेमलाई विवाहमा परिणत गर्न भन्दै सोती गाँउ पुगेका युवाहरूको समूह माथि गाउँलेले आक्रमण गरेको थियो । आक्रमणबाट प्रेमी नवराज सहित पाँच जनाको ज्यान गएको छ भने एक जना गोविन्द्र शाही हराईरहेका छन् । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
पीडित परिवारको मागअनुसार शव हेरेर अनुसन्धान थालिएको समितिका संयोजक बस्नेतले बताए ।
उच्चस्तरीय समितिमा गृह मन्त्रालयका सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव द्धय वशिष्ट घिमिरे र माधव ढकाल सहभागी छन् । समितिको टोली पश्चिम रुकुमको मुसिकोट गएर अनुसन्धान प्रक्रिया बारे जानकारी लिनेछ । केही दिन समिति जाजरकोट र रुकुममै रहेर घटनाको सत्यतथ्य अवस्था बुझ्ने भएको छ ।
यसैबीच उच्चस्तरीय समितिलाई शुक्रबार दलित अधिकारकर्मीहरुले निष्पक्ष छानबिन गर्न भन्दै ६ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन । घटना भएको केही समयमै घटनास्थल पुगेका प्रहरीलाई समेत छानवीनको घेरामा राखिनु पर्ने, पक्राउ परेका सवैको पोलिग्राफ टेष्ट गरिनु पर्ने, घटनाको निश्पक्ष छानवीन गर्नु पर्ने , पिडितले न्याय पाउनु पर्ने लगायतका माग ज्ञापनपत्रमा राखिएको छ ।
केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराज सहितका १९ जनामाथी सोतीका स्थानियले आक्रमण गरेका थिए । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । पिडित पक्षले वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरी वडाध्यक्ष सहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य दुई जनाको खोजी भैरहेको जनाएको छ । प्रहरीले सोही घटनामा सँगै गएर बाँचेका सात जनालाई सर्जिमिन मुचुल्का गर्नका लागी विहिवार मुसिकोट लगेको छ ।