राजेन्द्र कार्की । जाजरकोट
अन्र्तजातिय प्रेमका कारण १० जेठमा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका दुई जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली विहिवार विहानै देखि परिचालन गरिएको छ ।
घटनामा हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुवेका आशंकामा शसस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर बुधवार देखि परिचालन गरिएको छ । शसस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाको नेतृत्वमा गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको छ । अक्सिजन सहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउ र खोचमा शव अड्किएको हुन सक्ने आशंकामा खोजी गरिरहेको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख यज्ञ बस्नेतले बताए ।
हराएकाको खोजी कार्यमा स्थानिय बासिन्दा, नेपाली सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु दैनिक जसो संलग्न रहेपनि भेटाउन नसकेपछि गोताखोर बोलाईएको उनले बताए । बेपत्ताहरु नदीमा डुवेको हुन सक्ने आशंकामा शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उनले बताए ।
गत १० जेठमा भएका घटनामा भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ११ का लोकेन्द्र सुनारको शव घटनास्थल देखि १० किलोमिटर तल कुदु नजिक नदीको खोजमा हात बाँधिएको अवस्थामा बुधवार फेला परेको थियो । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यस अघि नै फेला परिसकेको छ । लोकेन्द्रको शवको पोष्र्टमार्टम हुन बाँकी छन भने अन्य तीन जनाको पोष्र्टमार्टम गरेर दाहसंस्कार गरिएको छ ।