राजेन्द्र कार्की । जाजरकोट
अन्र्तजातिय प्रेमको विषयलाई लिएर एक जनप्रतिनिधी कै संलग्नतामा गत शनिवार पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनालाई रुकुमका स्थानिय र जनप्रतिनिधीले विषयान्तर गर्न खोजेको पिडित पक्षको गुनासो छ । वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नतामा घटना भएको र उनी पुर्व गृहमन्त्री जनार्दन शर्माको पहुँचमा भएकाले न्याय पाउनेमा पिडित परिवारले आशंका गरेका छन् ।
सोतीका स्थानिय र केही जनप्रतिनिधीले लकडाउन उलंघन गरी हुल आएको, उमेर नपुगेकी केटीलाई जर्वजस्ती लिन खोजेको र आक्रमण गर्ने उद्देश्यले केटाहरु आएको हुँदा गाँउलेहरुले नियन्त्रणमा लिने प्रयास गर्दा भागदौडमा भेरीमा परेर ज्यान गएको बयान दिएका छन् । उनीहरुले घटनालाई जातियता सँग नजोड्न आग्रह गरेपछि घटनालाई विषयान्तर गर्ने प्रयास गरिएको छ । तर कथित उपल्लो जातको भनिने ठकुरीकी छोरी तल्लो जातको भनिने दलितले लिन खोजेको भन्दै पुरै गाँउनै उठेर आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् । बेपत्ताहरु पनि जीवित हुने आशा निकै कम छ ।
मंगलवार संघिय संसदमा पश्चिम रुकुमबाट प्रतिनिधित्व गर्ने पुर्वगृह मन्त्री शर्माले पनि घटनाबारे सोही आशयको धारणा राखेपछि घटनालाई राजनैतिक रुपमा संरक्षण गर्न खोजिएको पिडित परिवारको आशंकामा थप बल पुगेको छ । घटनाको बारेमा पश्चिम रुकुम प्रहरीले अनुसन्धान गर्ने र मुद्धा पनि जिल्ला अदालत रुकुममा नै दर्ता हुने भएपछि न्याय पाउनेमा पिडित परिवारको आशंका छ ।
मृतक नवराजका बुवा मोहनलाल विकले घटनाबारे निश्पक्ष छानवीन गरि दोषीलाई कारवाही हुनुपर्ने बताए । बयान दिन रुकुम जाँदा झन्झिटिलो एकातिर छदैछ अर्कोतिर उतैबाट अनुसन्धान र मुद्धा चलाए चलखेल हुन सक्ने उनको आशंका छ । जाजरकोट प्रहरीले नै घटना बारे अनुसन्धान गर्नु पर्ने र मुद्धा पनि जाजरकोटबाटै चलाईनु पर्ने उनीहरुले माग गरेका थिए । पिडितले माग सम्बोधन नहुँदा सम्म सव नबुझ्ने अडान लिएका थिए तर जुन जिल्लामा घटना घटेको हो सोही जिल्लामा मुद्धा चल्ने कानुनी प्रावधान र स्थानिय प्रशासनको घटनाको सत्यतथ्य छानवीन गर्ने आश्वासन पछि मंगलवार सव बुझ्न राजी भएका हुन् ।
पिडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जना विरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर कुमार श्रेष्ठले बताए । दलित अधिकारकर्मी र पिडित परिवारले घटनाबारे निश्पक्ष छानवीन हुनु पर्ने, पिडित परिवारलाई राज्यले क्षतिपुर्ती दिनु पर्ने, घाईतेको निशुल्क उपचारको ब्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पिडितका माग सम्बोधन गर्ने र माग पुरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पिडित परिवार लास बुझ्न सहमत भएका हुन् । चौरजहारीका टीकाराम सुनारको सव पोष्र्टमार्टम गरिएको छ भने अन्य दुई जनाको बुधवार पोष्र्टमार्टम गरिने प्रजिअ पन्तले बताए । हराएका तीन जनाको खोजी कार्य भैरहेको उनले बताए । खोजी कार्यमा स्थानिय बासिन्दा, नेपाली सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न रहेका छन् । गोताखोर लगायतका प्राविधिक स्रोत साधान नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले बताए ।
भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भैरहेको डिएस्पी श्रेष्ठले बताए । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यस अघि नै फेला परिसकेको छ ।
नवराजकी प्रेमिका पस्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाइ वेहुलीको रुपमा भित्र्याउन शनिवार १९ जना युवा सहित गाउँ पुगेका वेला वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेटी लखेटी आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केटाहरुलाई घेराबन्दीमा पारेर गाँउ नै उर्लेर आएर आक्रमण गरेको घटनाबाट बाँचेर आएका केटाहरुले बताएका छन् । उनीहरुले नवराज लगायतका केहीलाई कब्जामा लिएर हत्या गरि भेरीमा फालिदिएको र अन्यलाई भेरीमा पौडी खेल्ने क्रममै ढुङ्गा हानेर हत्या गरेको बताएका छन् । भेटिएका तीन सव मध्य तीनै जनाको टाउकोमा गहिरो चोट लागेको र एक जनाको हातमा घरेलु हतियारको चोट रहेको भेरी नगरपालिका ४ का मौसम विकले बताए । उनले सवको प्रकृति हेर्दा मारेरै फालेको पुष्टि हुन्छ । भेरीमा डुवेर मरेको मानिसले पानी खाएको हुनु पर्ने तर पेटमा पानी नै देखिदैन उनले भने ।
घटनाको अनुसन्धानका लागी रुकुम प्रहरीले प्रहरी निरीक्षक कवी रोकालाई खटाएको छ । वडाध्यक्ष सहित १२ जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भैरहेको उनले बताए । हत्या हो या भागदौडमा मृत्यु भएको हो अहिले नै भन्न सकिन्न अनुसन्धान पछि यथार्थ विस्तारै खुल्छ उनले भने ‘पोष्टमार्टम रिपोर्टले पनि अनुसन्धानमा सहयोग पुग्ला ।’