April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

कोरोना परीक्षणमा साधन स्रोतको अभाव कहिले सम्म ?

राजेन्द्र कार्की । जाजरकोट
केही दिन अघि लकडाउनकै अवधीमा जिल्ला बाहिरबाट आएका एक सय ६७ जनालाई जाजरकोटको बारेकोट गाँउपालिकाले क्वारेन्टाइनमा राख्यो । तर उनीहरु मध्य आधा भन्दा बढी नागरिकलाई एक हप्ता मात्र क्वारेन्टाइन राखेर परीक्षण विनै घर पठाइएको छ । किट नहुँदा गाँउपालिकाले परीक्षण विनै घर पठाएको हो ।
क्वारेन्टाइनमा राखिएका सवैको परीक्षणका लागी आरडिटी किट माग गरेका थियौ तर स्वास्थ्य सेवा कार्यालयले किट सकिएको भन्दै ७० ओटा मात्र पठाएपछि आधा भन्दा बढी परीक्षण नगरेरै घर पठाएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए ।
गाँउपालिकामा लकडाउनको अवधीमा दुई हजार चार सय भित्रिएका थिए । त्यस मध्य एक सय दुई पटक गरेर एक सय २५ जनाको मात्र आरडिटी परीक्षण गरिएको छ । बाँकीको परीक्षण हुन सकेको छैन । धेरै जसो क्वारेन्टाइनमा पनि बसेनन् । परीक्षण पनि गराएनन् । कतिपय भारतबाट पनि आएका छन् । परीक्षण नहुँदा अन्यौल बढेको छ गाँउपालिका अध्यक्ष महेन्द्र शाहले भने ‘किट नहुँदा सवैको परीक्षण गर्न सकिएको छैन । सम्बन्धित निकायमा किट माग गरेको गर्यै छौ तर सुनुवाई हुन सकेको छैन ।’
बारेकोटमा मात्र होइन किट अभावमा जिल्लाका सात ओटै पालिकामा जिल्ला वाहिरबाट आएकाहरु परीक्षण हुन सकेको छैन । जिल्ला बाहिरबाट आएका र घरमा रहेका सवै घुलमिल भैसकेका छन् । एक जना मात्र संक्रमित भित्रिएको भए सवै समुदाय जोखिममा पर्ने निश्चित छ । न परीक्षण छ न समुदाय सचेत छन् । रुघाखोकी र ज्वरो आएका विरामी पनि सिधै मेडिकल गएर औषधी किनेर खाने गरेका छन् । जसले गर्दा पनि संकास्पद पहिचान गर्न समस्या परिरहेको स्वास्थ्यकर्मीको भनाई छ ।
छेडागाड नगरपालिका थलह बजारमा रहेको डेभिड मेडिकलका संचालक अर्जुन अधिकारी ज्वरो र रुघाखोकीका विरामीले प्रयोग गर्ने सिटामोल, एमोक्सिलिन एन्टिवायोटिक लगायतका औषधीको विक्रि बढीरहेको बताए । उनले आफ्नो मेडिकलमा दैनिक ५÷१० जना विरामी ज्वरो र रुघाखोकीका आउने गरेको बताए । ज्वरो आएकाहरु सरकारी स्वास्थ्य संस्थामा जाँदा कोरोनाको आशंकामा क्वारेन्टाइनमा बस्नु पर्ने झन्झटका कारण पनि मानिसहरु सिधै मेडिकलबाट औषधी लिएर खाने गरेको स्थानियको भनाई छ । स्वास्थ्य संस्थामा पनि थर्मलगन बाहेक अन्य कुनै साधन नहुँदा स्वास्थ्यकर्मी आफै यसबारे अनभिज्ञ रहेका छन् ।
द्रुत परीक्षण (रयापिड डाइग्नोष्टिक टेष्ट) बाट कोरोना भाइरस भए नभएको पत्ता लगाउन आवश्यक पर्ने किटको अभाव हुँदा संकास्पदको परीक्षण गर्न समस्या भएको छ ।
लकडाउन र केही समय अघि करीव १० हजार मानिस जिल्लामा भित्रिएका भएपनि हाल सम्म पाँच सयको मात्र आरडिटी परीक्षण भएको छ । संक्रमण फैलिएका बाँके, पर्सा लगायतका शहरबाट लकडाउनकै समयमा आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए ।
प्रदेश सरकार अन्र्तगतको सामाजिक विकास मन्त्रालय सँग किट माग गरिएको भएपनि कर्णालीमै किट नहुँदा समस्या भएको उनले बताए । हाल सम्म कर्णालीमा कोरोनाको संक्रमण नदेखिएको भन्दै ढुक्क हुने अवस्था नरहेको पुर्वसाँसद राजिव विक्रम शाहको भनाई छ । उनले भने–‘लकडाउनकै अवधीमा कर्णालीमा भारतबाट हजारौको संख्यामा मानिसहरु भित्रिएका छन् । कर्णालीका दुर्गम गाँउमा परीक्षणको अभाव छ । आरडिटी किट समेत पठाउन नसकेको सरकारले पिसिआरबाट परीक्षण गर्ने कुरा झन कठिन कुरा छ । जसले गर्दा कर्णालीमा भुसको आगो झै कोरोना फैलिन सक्छ । अहिले सम्म देखिएको छैन भनेर ढुक्क भएर नबसौ । परीक्षणको दायरा बढाऔ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad