राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिकाले आफ्नै लगानीमा चिकित्सक भर्ना गरेको छ । नगरपालिकामा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समय देखि डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या भएपछि नगरपालिकाले आफ्नै खर्चमा करारमा एमडी गरेका डाक्टर नियुक्ती गरेको हो । कोभिड १९ महामारी विरुद्ध लडिरहेको नगरपालिका भित्र एक जना पनि चिकित्सक नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्न समस्या भएपछि नगरपालिकाले केही दिन अघि मात्र डा. आरके मण्डललाई नियुक्ती गरेको हो ।
डाक्टर नियुक्ती सँग्र प्राथमिक स्वास्थ्य केन्द्र दल्लीबाट सामान्य शल्यक्रिया, भिडियो एक्सरे, आईसकम्प्रेसर, भ्याक्सोटोमी लगाएतका विभिन्न स्वास्थ्य सेवा संचालनमा आएको छ । महिलाहरुको पाठेघर खस्ने (आङ्गखस्ने), सेतोपानी बग्ने लगाएतका सेवा समेत संचालनमा आएको डा. मण्डलको भनाई छ ।
स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच पुरयाउन डाक्टर नियुक्ती गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । उनले कोरोना महामारी विरुद्ध लड्नको लागी पुर्व तयारी स्वरुप नगरकार्यपालिकाले डाक्टर भर्ना गर्ने निर्णय गरे अनुरुप डा. मण्डललाई नियुक्ती गरिएको बताए । प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा कार्यरत दरबन्दीका डाक्टर सञ्जय यादव एक बर्ष देखि अध्ययन विदामा छन् । उनी अध्ययन विदामा एमडी अध्ययनका लागी गएपछि स्वास्थ्य केन्द्र डाक्टर विहिन छ । नगरप्रमुख रावलले भने–‘जिल्ला अस्पतालमा कार्यरत छात्रबृत्तिका डाक्टरलाई ल्याउने धेरै कोशिस गरयौ । अन्य डाक्टर पठाईदिन मन्त्रालय सम्म हारगुहार गर्यौ । केही जोड नचलेपछि मासिक एक लाख २० हजार तलबभत्ता दिने गरि डाक्टर नियुक्त गरेका हौ ।’
डाक्टर नियुक्ती सँगै विरामीको चाप बढ्न थालेको नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले बताए । कोरोना भाइरस (कोभिड–१९) विश्वमहामारीको सन्त्रास फैलिएको वेला डाक्टर नियुक्तीले नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत एचए, सिएमए, अनमी लगाएतका स्वास्थ्यकर्मीहरुको मनोबल बढेको उनको भनाई छ ।