राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई कुटपिट गरेको अभियोगमा राष्ट्रिय युवा संघ जाजरकोटका जिल्ला संयोजक दिपेन्द्र शाहीलाई निलम्बन गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपालले मंगलवार एक विज्ञप्ती प्रकाशित गरि शाहीलाई संयोजकको जिम्मेवारीबाट निलम्बन गरेको हो । केन्द्रिय संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेल द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गत बैशाख १३ गते नेपाल कम्युनिष्ट पार्टी प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती माथि जिल्ला संयोजक शाही नेतृत्वको समुहले आक्रमण गरि सख्त घाइते बनाएको भन्दै संघको अन्तरिम विधान २०७६ अनुसार सवै जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख छ ।
नेकपा जिल्ला कमिटी, प्रदेश कमिटी र युवा संघका जाजरकोट स्थित केन्द्रिय सदस्यहरुले निकालेकोे विज्ञप्तीलाई आधार मानेर निलम्बन गरिएको जनाईएको छ । साथै घटनाको सत्यततथ्य छानवीनका लागी पाँच सदस्यीय छानवीन समिति समेत गठन गरिएको छ । छानवीन समितिमा केन्द्रिय सदस्यहरु मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र भीम जिसी रहेका छन् । संगठनको कार्यवाहक संयोजकको जिम्मेवारी सहसंयोजक भिम जिसीलाई प्रदान गरिएको छ । तर जिल्ला संयोजक शाहीले नगरप्रमुखलाई स्थानिय जनताले कुटपिट गरेको र आफ्नो संलग्नता नरहेको जिकिर गदै आएका छन् ।


