भित्रिए १० हजार परीक्षण पाँच सयकोे मात्र !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
सरकारले गरेको लकडाउनकै अवधीमा करीव १० हजार मानिस जाजरकोटमा भित्रिएका छन् । तर हाल सम्म पाँच सय जनाको मात्र द्रुत परीक्षण ( आरडिटी ) गरिएको छ । किट अभावमा अन्यको परीक्षण हुन नसकेको हो ।
प्रदेश सरकारले पठाएका पाँच सय आरडिटी किट परिक्षण गर्दा सवैको रिर्पोर्ट नेगेटिभ आएको छ तर धेरै संकास्पदको परीक्षण नहुँदा त्रास बढेको छ । बाँकेमा संक्रमितको संख्या बढ्दै गएपछि जाजरकोटमा समेत त्रास बढेको हो । बाँकेको नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको हाता भित्र रहेको क्वारेन्टाइनबाट ११ जना भागेर जाजरकोटमा आएका थिए । जिल्लाको भेरी नगरपालिका वडा नम्बर ११ का उनीहरु मजदुरीका लागी केही समय अघि कालापार(भारत) गएका थिए ।
बाँकेमा संक्रमित भएका एक जना सोही क्वारेन्टाइनबाट भागेको भन्ने समाचारले जाजरकोटवासीलाई थप त्रसित बनाएको छ । लकडाउनकैै अवधीमा बाँकेबाट धेरै मानिसहरु जाजरकोट भित्रिएकाले जिल्लाबासी त्रसित भएको भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहले बताए । अलपत्र नागरिकलाई नेताहरु, साँसदहरु र मन्त्रीहरुले हुलका हुल गाडीमा ओसारेका मानिसहरु विना परिक्षण परिवार र समाजको सम्पर्कमा गएकाले जोखिम बढ्न सक्ने उनले बताए । लकडाउन खुकुलो हुँदै गएको , लकडाउनकै अवधीमा धेरै मानिस जिल्ला भित्रिएकाले परिक्षणको दायरा बढाउनु पर्ने स्थानियको भनाई छ । संक्रमितहरु लुकेर बसेका हुन सक्ने भएकोले परीक्षणको दायरा बढाउनु पर्ने कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए । सवै पालिकाबाट कोरोनाको परीक्षणका लागी किट माग गरिएको छ तर जिल्लामै किट नआउँदा समस्या भएको उनले बताए । कर्णाली प्रदेशमै किट नआएकाले पठाउन नसकिएको प्रदेश सरकारले जनाएको छ । बारेकोट गाँउपालिकामा हालै मात्र दुई हजार चार मानिस जिल्ला बाहिरबाट भित्रिएका थिए ।
त्यसमध्य एक सय ६७ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । विद्यालयमा बनाईएका नाम मात्रका क्वारेन्टाइनमा उनीहरुलाई ब्यवस्थापनमा समस्या भएपछि गाँउपालिकाले १४ दिन नपुगेरै घर पठाईदिएको छ । सवैको आरडिटी गरेर घरकै एकान्तबासमा बस्न पठाउँने योजना थियो तर किट नहुँदा नमुनाको रुपमा केहीलाई मात्र परिक्षण गरेर सात दिनमै घर पठाईएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । एक सय ६७ जना क्वारेन्टाइनमा भएपनि ६० जनाको मात्र आरटिडी गर्दा सवैको नेगेटिभ देखिएपछि घर पठाईएको अध्यक्ष शाहले बताए ।
जिल्लामा विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइनमा हाल सम्म दुई सय ३९ जना मात्र बसेका थिए । नलगाड नगरपालिका स्थित त्रिभुवन माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका दुई जना बाहेक अरु सवै घर फर्किसकेका छन् ।
बाँकेमा एकै पटक धेरै संक्रमित फेलापरेपछि स्थानिय सरकारले थप रणनिति बनाउन थालेका छन् । विस्तारै लकडाउन खुकुलो हुँदै जान थालेको जाजरकोटमा सरकारी निकायले पनि लकडाउन कडाई नगर्ने रणनिति लिएको थियो । पछिल्लो घटनाक्रमले लकडाउन कडाई गर्ने , सरकारी कार्यालय पुर्णरुपमा बन्द गर्ने र जिल्ला भित्रने नाका थप कडाई गर्ने निर्णय गरेका छन् । भेरी नगरपालिका र बारेकोट गाँउपालिकाले सोमवार देखि नाका पुर्णरुपमा सिल गर्ने निर्णय गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad