बारेकोटमा एक किलो नुनको मुल्य ६० रुपैया !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । बारेकोट

जाजरकोटको बारेकोटमा एक किलो नुनको मुल्य ६० रुपैया पर्ने गरेको छ । सदरमुकाममा एक केजीको ९ रुपैयामा पाइने आयोडिनयुक्त आयो नुन बारेकोटमा ६० रुपैयामा किनबेच भैरहेको छ । जिल्लाको सवैभन्दा विकट बारेकोट गाँउपालिकामा नुन विक्री डिपो नहुँदा स्थानिय चर्को मुल्य तिर्न बाध्य भएका हुन् ।

जाजरकोटमा आयोडिनयुक्त नुन सहुलियत दरमा वितरण गर्न सरकारले ढुवानी अनुदान दिदै आएको छ । ढुवानी अनुदान दिएको नुन सदरमुकाम र डिपोमा प्रतिकेजी नौ रुपैयामा पाईन्छ । ब्यापारीले अनुदानकै ननु मिलेमतोमा खरीद गरेर दुर्गममा चर्को मुल्यमा विक्रि गर्ने गरेका छन् । लकडाउनका कारण गाडी चल्दैनन् । प्रहरीका आँखा छल्दै आधाबाटो सम्म ट्याक्टरमा र त्यसपछि घोडाखच्चडमा लगेको नुन ब्यापारीले मनोमानी रुपमा विक्री गर्दा पनि स्थानिय प्रशासन मुक दर्शक बनिरहेको छ । दुर्गममा प्रशासनले कहिल्यै अनुगमण नगर्दा ब्यापारीले मनोमानी गर्ने गरेको स्थानियको गुनासो छ ।
बारेकोटमा ब्यापारीले निजी लगानीमा खरीद गरेर लगेको ढुवानी अनुदानको नुन बारेकोटको तल्लो भेगमा ५० रुपैया र माथिल्लो भेग तिर ६० रुपैयामा विक्री गर्ने गरिएको स्थानियको भनाई छ । सदरमुकाममा ९ रुपैया पोका पाईने नुन बारेकोटमा ६÷७ गुणा बढी मुल्यमा किन्नु पर्ने बाध्यता रहेको बारेकोट २ ध्यारगाँउका मनवीर परियारले बताए । ६० रुपैया हाल्दा पनि नुन पाउन मुस्किल हुन्छ । उनले भने–‘त्यही पनि हारालुछ हुन्छ । नुन खानै पर्यो । खाने नुन नहुँदा ब्यापारीले भने अनुसारको भाउमा किन्न बाध्य छौ ।’ मानिसका साथै पशुचौपायालाई खुवाउनु पर्ने भएकोले पनि गाँउघरमा बढी नुन खपत हुने गर्दछ ।

बारेकोटमा भएको नुनको संकट टार्न गाँउपालिकाले ढुवानी अनुदानको तीन हजार किलो नुन किनेर लगेको छ । पहिलो चरणमा प्रत्येक घरमा एक केजी ( एक पोका ) नुन वितरण गछौ गाँउपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले भने–‘निजी क्षेत्रबाट ढुवानी ठप्प छ । स्थानियको आवतजावत बन्द छ । केही ब्यापारीले लिएको नुनको मुल्य निकै महँगो हुँदा स्थानिय मर्कामा परेका छन् । त्यही भएर गाँउपालिकाले अग्रसरता लिएर नुन वितरण थालेको हो ।’ नुनको समस्या बर्षेनी हुने बारेकोटमा गत बर्ष सरकार सँग डिपो स्थापनाका लागी गाँउपरिषदबाट निर्णय गरेर माग गर्दा पनि सुनुवाई नभएको अध्यक्ष शाहले बताए ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले साल्ट टे«डिङ्ग कम्पनी लिमिटेडको सदरमुकाम स्थित गोदाम र नलगाड डिपोमा नुनको अभाव नभएको बताए । तर बारेकोट लगायतका दुर्गम गाँउपालिकामा नुनको केही समस्या देखिएको छ । त्यसरी चर्को मुल्यमा विक्री गर्ने गरेको पाईए आफुलाई उजुरी गर्न आग्रह गरे । संकटको बेला कालोबजारी गर्नेलाई कारवाही हुन्छ उनले भने ‘९ रुपैया मा पाईने एक किलो नुनको ६० रुपैया काँहा लिन पाईन्छ ?’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad