March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

जाजरकोटमा दिर्घरोगीले खाने औषधी अभाव

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिका ४ का मोहनजंग खत्री ब्लड प्रेसरको औषधी लिन सदरमुकाम स्थित एक मेडिकलमा गए । त्यहाँ औषधी नपाएपछि आधा दर्जन मेडिकल चाहारे तर कुनै मेडिकलमा पनि औषधी पाएनन् । साता दिन देखि औषधी खान नपाएको उनको गुनासो छ ।
त्यस्तै सुगरको औषधी सेवन गरिरहेका धनबहादुर अधिकारीले पनि जाजरकोटमा औषधी पाउन छोडेपछि आफु समस्यामा परेको बताए । उनीहरु जस्तै धेरै दिर्घरोगीहरु औषधी नपाउँदा समस्यामा परेका छन् ।

दम, मुटुरोग, ब्लडप्रेसर, सुगर लगायतका दिर्घरोग भएकाहरुले नियमित सेवन गर्ने औषधी निजी मेडिकलहरु सँग सकिएपछि उनीहरु समस्यामा परेका हुन् । लकडाउनका कारण औषधी ढुवानी गर्न नसक्दा अभाव भएको सदरमुकाममा मेडिकल गदै आएका विरप्रकाश रोकायले बताए । उनले भने–‘दिर्घरोगीले खाने अत्यावश्यक औषधीका साथै अन्य औषधी पनि सकिएको छ । जताजतै बन्दाबन्दी छ । गाडी चल्दैनन् । यस्तो बेला कसरी औषधी ल्याउने ? ।’

सदमुकाममा मात्र होइन जिल्लाका ग्रामिण भेगमा समेत दिर्घरोगीले सेवन गर्ने र अन्य औषधीको अभाव देखिएको छ । जिल्लाका धेरै मेडिकल कोरोना सर्ने डरले बन्द छन् । सिमित मात्रामा खुलेका मेडिकलमा पनि औषधीको स्टक सकिदै गएको छ । औषधी सकिदै गएपछि विरामी मर्कामा परेका छन् । छेडागाडको थलहमा रहेको डेभिड मेडिकलका संचालक अर्जुन अधिकारीले दिर्घरोगीले खाने औषधीका साथै अन्य औषधी पनि सकिएको बताए । उनका अनुसार एल्पाइन, सिरप वेटा–२, भ्यान्टिफिलाइन फोर्ट टेबलेट, सेनिटाइजर, मास्क, सिटामोल, ब्रोफलम, जीवनजल लगायतका औषधी सकिएको बताए । सवैभन्दा बढी मर्कामा दिर्घरोगीहरु परेका छन् । सरकारी स्वास्थ्य संस्थामा पनि औषधी सकिदै गएको छ । सरकारी स्वास्थ्य संस्थामा दिर्घरोगीले सेवन गर्ने औषधी निशुल्क पाईदैन । जिल्ला अस्पतालमा रहेको फार्मेसीमा समेत दिर्घरोगीले प्रयोग गर्ने औषधी नभएपछि आफुहरु समस्यामा परेको विरामीको गुनासो छ ।

तर जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले औषधी ढुवानीका लागी पासको ब्यवस्था गर्न सकिने बताए । हाल सम्म औषधी ढुवानीका लागी पास माग्न कोही आउनु भएको छैन । आएपछि पास उपलब्ध हुन्छ उनले भने । जाजरकोटमा करीव पाँच सयको हाराहारीमा निजी मेडिकल भएपनि हाल कोरोनको डर मुस्किलले २५, ३० ओटा मात्र खुलेका छन् । अन्य सवै मेडिकल कोरोना भाइरसको संक्रमण हुने डरले बन्द गरिएका छन

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad