राजेन्द्र कार्की । जाजरकोट
जिल्लाको शिवालय गाँउपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागी बोलाइयो तर किट सकिएको भन्दै केहीलाई परीक्षण विनै फिर्ता पठाईएको छ ।
जिल्लाको शिवालय गाँउपालिकामा विदेशबाट आएका संकास्पद १७ जना किट अभावमा परीक्षण विनै फर्कन बाध्य भएका हुन् । गाँउपालिकाले भारत र अन्य मुलुकबाट हालै आएकाहरुको कोरोनाको द्रुत खोज परीक्षण गर्नको लागी सम्पर्कमा आउन सार्वजनिक सुचना जारी गरेको थियो । परीक्षणका लागी शनिवार विदेशबाट आएका ४१ जना उपस्थित भएपनि २४ जनाको मात्र परिक्षण गरिएको थियो । किट अभावमा अन्य १७ जना परीक्षण फर्कन बाध्य भएको शिवालय गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाले बताए ।
कोरोना परीक्षणका लागी शनिवार किट सहित जिल्ला अस्पतालका डाक्टर औसर सिंह राठौर सहितको टोली शिवालय पुगेको थियो । जिल्लामै किट नहुँदा थोरै लिएर आएको तर परीक्षण गर्नेको संख्या धेरै हुँदा फर्काउनु परेको डा.राठौरले बताए । परीक्षण गरिएका २४ जना सवैको कोरोना रिर्पोट नेगेटिभ आएको डा. राठौरले बताए । परीक्षण गर्न बाँकीको पुनः किटको ब्यवस्था गरेर परीक्षण गरिने गाँउपालिका अध्यक्ष नरेन्द्र शाहीले बताए । कर्मचारी र अन्य सर्वसाधारणले पनि परीक्षण गर्नु पर्ने भएकोले कम्तिमा शिवालय गाँउपालिकामा मात्र एक हजार किटको आवश्यकता पर्ने शाहीको भनाई छ । किट अभावमा नलगाडमा समेत शुक्रवार केही संकास्पद परीक्षण विनै फिर्ता भएका थिए ।
जाजरकोटमा हाल सम्म गरिएको कोरोनाको द्रुत परीक्षणबाट दुई सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ६ वटा पालिकामा कोरोनाको द्रुत परीक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको हो । शिवालयमा २४, भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५, नलगाड नगरपालिकामा ४३ र छेडागाड नगरपालिकामा २४ जनाको द्रुत परिक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
सरकारले जाजरकोट जिल्लाको लागी तीन सय आरडिटी किट मात्र पठाएको थियो । पाँच सय जति विदेशबाट मात्र आएका छन् । विदेशबाट आएका र संकास्पदको समेत परीक्षण गर्न सकिएको छैन । लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको पनि किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए । अहिले सम्म परीक्षण गरिएका सवैमा नेगेटिभरिर्पोट आएको छ । उनले भने ‘थप परीक्षणको दायरा बढाउन केही आरडिटी किट माग गरेका हौ तर स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा समेत किट नभएपछि समस्या देखिएको छ ।’