राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा कोरोना परीक्षणका लागी किट अभाव भएको छ । द्रुत परीक्षण (रयापिड डाइग्नोष्टिक टेष्ट) बाट कोरोना भाइरस भए नभएको पत्ता लगाउन आवश्यक पर्ने किटको अभाव भएको हो । किट अभाव हुँदा संकास्पदको परीक्षण गर्न समस्या भएको छ ।
लकडाउनको अवधी र त्यस भन्दा केही समय अघि भारत र अन्य मुलुक गरी करीब पाँच सय मानिस भित्रिएका छन् । देशकै विभिन्न जिल्लाबाट लकडाउनको अवधीमा करीब पाँच हजार मानिस जिल्ला भित्रिएका छन् । तर प्रदेश सरकारले जाजरकोटको लागी तीन सय किट मात्र पठाएको छ । एउटा किटले एक जनाको मात्र परीक्षण गर्न सकिन्छ ।
हाल सम्म तीन ओटा टोली बनाएर जाजरकोटमा गरिएको कोरोनाको द्रुत परीक्षणबाट दुई सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पाँच वटा पालिकामा कोरोनाको द्रुत परीक्षण (¥यापिड डाइग्नोस्टिक टेष्ट) गर्दा सवैको रिर्पोट नेगेटिभ आएको हो । भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५, नलगाड नगरपालिकामा ४३ र छेडागाड नगरपालिकामा २४ जनाको द्रुत परिक्षण (¥यापिड डाइग्नोस्टिक टेष्ट) गर्दा सवैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । एक महिना यता भारत र अन्य मुलक बाट आएकाहरुको परीक्षण गरिएको हो । अन्यको भने किट अभावमा हुन सकेको छैन । सरकारले जाजरकोट जिल्लाको लागी तीन सय आरडिटी किट मात्र पठाएको हो । पाँच सय जति विदेशबाट मात्र आएका छन् । विदेशबाट आएका र संकास्पदको समेत परीक्षण गर्न सकिएको छैन ।
लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए । अहिले सम्म परीक्षण गरिएका सवैमा नेटेटिभ रिर्पोट आएको छ । बाँकी चार पालिकामा पनि दुई दिन भित्र परीक्षण गर्ने गरी टोली खटाएका छौ उनले भने ‘थप परीक्षणको दायरा बढाउन कम्तिमा तत्काल पाँच सय आरडिटी किट माग गरेका हौ तर स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा समेत किट नभएपछि समस्या देखिएको छ ।’
करीव दुई लाख जनसंख्या भएको जाजरकोटमा थोरै किट पठाएर सरकारले झारा टार्न मात्र खोजेको पुर्व साँसद राजिव विक्रम शाहले आरोप लगाए । उनले परीक्षणको दायरा बढाउन माग गरेका छन् ।
कर्णाली प्रदेशमै किटको अभाव भएपछि परीक्षणको दायरा बढाउन नसकिएको स्वास्थ्यकर्मीको भनाई छ । ‘प्रमुख जिल्ला अधिकारी मार्फत किटका लागी बन तथा वातावरण मन्त्रीलाई पहल गरिदिन आग्रह गरेका छौ’ स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल ब्यक्ति कृष्णबहादुर खत्रीले भने प्रयाप्त किट आएको भए संकास्पद सवैको परीक्षण गर्दा जिल्लामा कोरोना भए नभएको यकिन हुन्थ्यो ।’