राहत नपाउँदा विपन्न परिवार समस्यामा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिका ४ कि चन्द्रकला नेपालीको घरमा आगो बल्न छोडेको छ । खानेकुरा केही नहुँदा उनी धेरै दिन देखि भोकभोकै छन् । ‘दैनिक ज्यालामजदुरी गरेर आफु र परिवारको पेट पाल्दै आएकी थिए । लामो लकडाउनले निकै समस्या भयो’ उनले भनिन ‘छोराछोरी भोक लाग्यो भन्छन् । के खुवाउँ ? रोगले भन्दा भोकले मरिएला जस्तो भो ।’ उनी जस्तै सोही ठाँउका दिलसरा शाही र रत्नबहादुर खड्काको अवस्था पनि उस्तैै छ । उनीहरुको चुह्रो बल्न छोडेको छ । विहान बेलुका हातमुख जोर्न समस्या भएपनि राहत कसैले नदिएको र आफुहरुको पिडा कसैले नबुझेको उनीहरुको गुनासो छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी भन्दै सरकारले लडकडाउन गरेको तीन साता विति सकेको छ । यस अवधीमा दैनिक ज्यालामजदुरी गरि गुजरा चलाउँदै आएका परिवार काममा निस्कन पाएका छैनन् । जसका कारण उनीहरुको चुल्हो समेत बल्न छोडेको छ तर खाद्यन्न ब्यवस्थापनको जिम्मेवारी पाएको स्थानिय सरकारले समयमा राहत नबाँड्दा विपन्न तथा ज्याला मजदुरी गर्ने परिवार निकै समस्यामा परेका छन् ।

लकडाउनका कारण आफु निकै समस्यामा परेको भेरी नगरपालिका ४ कि सीता भारतीले बताईन । उनी एकल महिला हुन । छोराछोरी सहित तीन जनाको परिवारलाई छाक टार्न निकै समस्या परिरहेको उनको भनाई छ । घरमा न खाने अन्न छ । न किनेर खानलाई पैसा छ । दैनिक ज्याला मजदुरी गरेर पेट पाल्दै आएको उनको परिवार भोकभोकै बस्नु पर्ने अवस्थामा पुगेको छ । काम गर्न नपाएको तीन साता भयो । पैचो मागेर पेट पालिरहेका छौ । कसरी बाँच्ने हो । रोगले भन्दा भोकले मरियला जस्तो भो उनले भनिन ।

नगर सरकारले राहत नबाँड्दा वडा नम्बर ३ मा जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले ८३ विपन्न परिवारलाई एक महिना पुग्ने खाद्यन्न निजी खर्चमा वितरण गरे । वडा नम्बर १ मा स्थानिय युवाहरुले चन्दा संकलन गरेर ६० परिवारलाई नुन तेल, दाल, चामल लगायतका खाद्य सामग्री विपन्न परिवारलाई वितरण गरे तर अन्य वडामा रहेका विपन्न र मजदुरलाई भने गुजरा चलाउन निकै समस्या परिरहेको छ । ‘नगरसरकारले राहत दिने भनेको सुनेका थियौ तर अहिले सम्म पाएका छैनौ के खाएर बाँच्ने हो हामी त साह्रै समस्यामा पर्यौ’ भेरी नगरपालिका ४ का सर्वजीत सार्कीले पिडा सुनाउँदै भने ‘आधा पेट खाएर जेनतेन गुजरा चलाईरहेका थियौ त्यही पनि सकियो अव के खाएर बाँच्ने हो । रोगको भन्दा भोगको चिन्ता छ ।’

भेरी नगरपालिकाका १३ वटा वडा मध्य ११ वडाका विपन्न तथा ज्यालामजदुर गर्ने परिवारले कुनै पनि ठाँउबाट राहत पाएका छैनन् । उनीहरुले आफुहरु भोकभोकै परिरहेको गुनासो गरिरहेका छन् । चुनावको बेला यस्तो गछौ र उस्तो गछौ भनेर नेताहरु भोट माग्दै आउँछन् । हामीलाई समस्या परेको बेला कसैले फर्केर हेदैनन् भेरी नगरपालिका २ का गणेश विकले गुनासो पोख्दै भने–‘सरकारले घर भित्रै बस हामी मर्न दिन्नौ । खानेकुराको ब्यवस्था गछौ भनेर भनेको सुनेका छौ तर खै अहिले सम्म कसैले के समस्या छ भनेर सोधेनन् । खै काँहा छ सरकार ?’ भेरीमा मात्र होइन अन्य पालिकाको अवस्था पनि उस्तै छ । शिवालय र नलगाडका केही वडामा खाद्य वितरण गरिएको भएपनि अन्य पालिकामा तथ्यांक संकलनमै स्थानिय तह अलमलमा परेका छन् । माछा मार्ने तथा ज्याला मजदुरी गरेर गुजरा चलाउँदै आएका बादी परिवार समेत समस्यामा परेका छन् । नलगाड ७ कालिमाटीमा बस्दै आएका १२ बादी परिवार खाद्य नपाउँदा भोकभोकै बस्नु पर्ने अवस्था आएको स्थानिय प्रजित बादीले बताए । उनले लकडाउनका कारण घरबाहिर निस्कन नपाएपछि आफुहरु साह्रै समस्यामा परेको बताए । लकडाउनकै कारण विपन्न बर्ग सुत्केरी, बालबालिका र बृद्धहरु पोषणयुक्त खान नपाउँदा यतिवेला समस्यामा छन् । पेटभरी खान त पाईदैन के को पोषिलो पाउनु ? स्थानिय विजा बादीले भनिन ‘रोगको भन्दा भोकको पिर छ ।’

गाँउका सवै परिवारको अवस्था उस्तै छ कसलाई दिने कसलाई नदिने कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले गाँउपालिकामा तीन हजार सात सय घरधुरी मध्य तीन हजारलाई राहत दिनु पर्ने अवस्था भएकोले केही ढिलाई भएको बताए । तथ्यांक संकलन गरिरहेका छौ केही दिनमै राहत प्याकेजको ब्यवस्था गदैछौ उनले भने ‘राहत वितरण आवश्यकताका आधारमा गर्ने गरी कर्मचारीलाई लगत संकलन गर्न निर्देशन दिएका छौ ।’

जिल्लाका जुनीचाँदे, बारेकोट, दशेरा, पजारु लगायतका स्थानमा रहेका खाद्य डिपोमा चामल नहुँदा पनि स्थानिय खाद्य संकटको चपेटामा परेका छन् । ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमा ढुवानी नगर्दा ति डिपोमा चामल अभाव भएको हो । डिपोमा पनि चामल नभएको र गाँउमा पनि किनेर खाने खाद्यान्न पसल नहुँदा स्थानिय समस्यामा परेको जुनीचाँदे ५ का हिमाली शाहीले बताईन ।
बारेकोटले स्थानिय स्तरमै खाद्यन्न खरीद गरेर विपन्नलाई राहत दिन वडा समितिलाई अख्तियारी दिएको छ । भने भेरी नगरपालिकाले तथ्यांक संकलन भैसकेको र कसरी राहत वितरण गर्ने भनेर विहिवार बैठक बसेर निर्णय गरिने प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad