राजेन्द्र कार्की । जाजरकोट
भारत र खाडी मुलुकबाट हालै जिल्ला भित्रिएकाहरुलाई उनीहरुकै घरमा गएर द्रुत खोज परीक्षण (र्यापिड डाईग्नोष्टिक टेष्ट) गर्न थालिएको छ । कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सात वटै स्थानिय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले र्यापिड टेष्ट किड मार्फत कोरोनाको संक्रमण भए नभएको पत्ता लगाउने छ । र्यापिड टेष्टमा कोरोना पोजिटिभ देखिए थप परिक्षणका लागी सुर्खेत स्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परिक्षण गरिने छ ।
एक साता भित्र जिल्लामा विदेशबाट आएका र संकास्पदको परीक्षण गर्ने गरी कार्यतालिका बनाएर मंगलवारबाट र्यापिड टेष्टको काम थालिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीले बताए । भेरीको पुन्मा, भुर र जगतिपुरमा मंगलवार परीक्षण हुँदैछ । विदेशबाट आएका र संकास्पदको घरमै स्वास्थ्यकर्मी पुगेर परीक्षण गर्नेछन् । तीन ओटा टोली बनाएर कार्य थालिएको छ । टोलीमा एक जना चिकित्सक, एक जना ल्याब प्राविधिक र एक जना स्थानिय तहको स्वास्थ्यकर्मी रहने गरी टोली बनाएका छौ प्रमुख जैसीले भने उनीहरुले मंगलवार तथा बुधवार भेरी, विहिवार जुनिचाँदे तथा बारेकोट गाँउपालिका , शुक्रवार छेडागाड तथा नलगाड नगरपालिका र शनिवार शिवालय तथा कुशे गाउँपालिका बारेकोट गाउँपालिका परीक्षण गरिनेछ ।
भेरी नगरपालिकामा यस अघि १४ जनाको जाँच गर्दा सवैमा नेगेटिभ देखिएको थियो । पहिलो चरणमा जिल्लाका दुई सय ६० जनाको जाँच गरिने छ । थप अन्य शंका लागेमा पनि जाँच हुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । परीक्षणका लागि प्रदेश सरकारले तीन सय र्यापिड टेष्ट किड पठाएको छ ।
लकडाउनको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गर्ने छन् ।
आरडिटी किट आइपुगेपछि जाजरकोटमा स्वास्थ्य परीक्षणमा सहज भएको र परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइनमा गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरडिटी गर्दा र्यापिड टेस्ट नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमै राखेर थप परीक्षण गरिनेछ ।