कोरोना कहर ः मान्छे ओसार्ने कार्य बन्द गर्न आग्रह

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राजन थापाले काठ्मान्डौमा अलपत्र परेका ५२ जना मजदुर तथा विद्यार्थीलाई आफ्नो पहलमा उद्धार गरि जाजरकोट पठाईएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरे ।

उनले राम्रो काम गरेको भन्ने र लकडाउनको समयमा मान्छे ओसार्ने काम गलत भएको भन्ने प्रतिक्रिया सामजिक सञ्जालमै पोखिए । उनी जस्तै अन्य नेताहरुले राजनैतिक लाभ लिनकै लागी अलपत्र परेको भन्दै शहरबाट जिल्ला पठाउने अभियान नरोकिएपछि स्थानिय चिन्तित बनेका छन् । उनीहरुले जिल्ला बाहिरबाट आउनेले कोरोनाको संक्रमण फैलाउन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् ।

पत्रकार  जनक केसीले लकडाउन भनेको सवै आ आफ्नो घर भित्र सुरक्षित तरीकाले बस घर बाहिर ननिस्क भनेको हो । यहाँ नेताहरुले विभिन्न शहरमा अलपत्र परेकालाई जिल्ला पठाएकोमा बहादुरी ठानेका छन् । ‘तपाईहरुकै कारण कोरोना भित्रन सक्छ’ उनले भने‘ख्याल ठट्टा नसम्झिनुहोस । यसमा राजनिति नगर्नुहोस । सक्नुहुन्छ भने बरु जहाँ छन् त्यही दाल चामल दिनुस । अलपत्र को नाममा लकडाउनमा पनि मान्छे ओसार्न बन्द गर्नुस ।’

लकडाउनको समयमा जिल्ला बाहिरवाट मानिस आवतजावतमा पुर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्ने नेपाल वार एशोसिएसनका जिल्ला अध्यक्ष भीमबहादुर सिंहले बताए । उनले भने ‘लकडाउनको समयमा मान्छे ओसार्दा पनि प्रहरी प्रशासन मुक दर्शक भएका छन् । नेताहरुले मान्छे ओसार्ने कामलाई बहादुरी सम्झेका छन् । जिल्ला बाहिरबाटै आएका मानिसबाट संक्रमण फैलने खतरा छ । आवतजावत नरोकिए के को लकडाउन ?’ लकडाउनको अवधीमा पास लिएर गाडी रिजर्भ गरेर पाँच सय मानिस जिल्ला भित्रिसकेका छन् । अझै आउने क्रम जारी छ । भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहले लकडाउनको अवधीमा मान्छे ओसार्ने कार्य बन्द गर्न आग्रह गरे । जिल्लामा बाहिरबाट मानिस भित्रिन नदिनका लागी नाकामा कडाई गर्न स्थानिय प्रशासनलाई आग्रह गरे ।

शहरी क्षेत्रबाट मात्र होइन विदेशबाट समेत मानिसहरु भित्रिरहेका छन् । जिल्ला प्रहरी कार्यालयले लकडाउनको अवधीमा भारत र अन्य मुलुकबाट जिल्ला भित्रनेको संख्या दुई सय पाँच जना रहेको जनाएको छ । देश भित्रकै विभिन्न सहरबाट जिल्ला भित्रनेको तथ्यांक प्रहरीले राखेको छैन । त्यसरी जिल्ला भित्रिएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । तर उनीहरुले होम क्वारेन्टाइनमा बस्ने नियम पालना गरेका छैनन् । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्वारेन्टाइनमा राखेको भए प्रभावकारी हुन्थ्यो यस्तो तरीकाले जतिबेला पनि संक्रमण फैलिन सक्छ भेरी नगरपालिका ४ का अमर शाहले चिन्ता प्रकट गदै भने जाजरकोटमा लकडाउन निकै फितलो भयो । अली कडाई गर्नु पर्छ । नत्र नाममात्रको लकडाउनले कारोना विरुद्धको लडाई जित्न सक्दैनौ ।’

त्यस्तै थुप्रै मजदुरहरु देशका विभिन्न शहरमा अलपत्र परेको बताउँदै नेकपाका केन्द्रिय सदस्य निरज आचार्यले यस्तो बेला घर आउने भन्दा जो जहाँ रहनु भएको छ त्यही सुरक्षित साथ बस्न आग्रह गरेका छन् । उनले भने—‘ मजदुर साथीहरुलाई मेरो अनुरोध छ, अब केहीदिन घर फर्कने कुरामा जोड नगरौँ । आफ्नो स्वास्थ सावधानीलाई विशेष ख्याल गर्नुहोस् । लकडाउनसम्मको अवधिसम्मको लागि तपाईंहरुलाई रासनको व्यवस्स्थापनका लागि स्थानीय सरकारका प्रतिनिधि र पार्टीका कमरेडहरुको सम्पर्क खोज्दै कुराकानी भइरहेको छ, व्यवस्था हुन्छ । तपाईंहरु निरन्तर सम्पर्कमा रहिरहनु होला र दुःख अफ्ठ्यारोको शेयरिङ भइरहोस । घरमा बसिरहेका आफन्तहरुले पनि उहाँहरुलाई जसरी पनि घर आईजाउ भनेर प्रेसर नगरिदिनुहोस्, बरु सुरक्षित र सावधानीपूर्वक जहाँ हुनुहुन्छ त्यहिँ बस्न र परिस्थिति अलि सहज भएपछि मात्र घर फर्कनु भनेर सल्लाह दिनुहुन परिवारजनमा हार्दिक अनुरोध गर्दछु । परिस्थिति अलि सहज भएपछि उहाँहरुलाई घर फर्कने कुरामा हामी अवश्य सहयोग गर्नेछौँ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गदै अगाडी भनेका छन् ‘यो संकटको घडी हो, भनेजस्तै सबै ठाउँमा नहु नसक्ला अवश्य हामी सबैले संयमता अपनाउने नै छौँ । तर, सरकारका संयन्त्रहरुले सरकारले बनाएका नीतिहरुको आधारभूत कार्यन्वयनमा ध्यान देओस, सहजतामा आकाशका तारा झार्ने गफ दिने जब समस्या सामन्यमा आउँछ उसले उसलाई उसले उसलाई देखाउँदै पन्छिने होडमा नलाग्न मेरो अनुरोध छ । मिडिया खपतका लागि गफ नगर्न र जहाँ जति सकिने हो मन, वचन र कर्मले सहयोग गर्न सम्बन्धित पक्षलाई विनम्र अनुरोध छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad