कोरोना महामारी फैलिन नदिन भेरीमा ५६ प्रतिकार कार्यदल, ३२७ जनशक्ति परिचालन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागी भेरी नगरपालिकाले नगरभित्रका ५६ टोलमा टोल स्तरीय छरितो प्रतिकार कार्यदल गठन गरेको छ । भारत लगायतका देशबाट मानिसहरु जिल्लामा भित्रिरहेको र उनीहरुबाट कोरोना भाइरसको जोखिम बढ्ने भन्दै सचेतनाका लागी टोल टोलमा प्रतिकार कार्यदल गठन गरिएको हो ।

आइतवार बसेको नगर कार्यपालिकाको बैठकले ५६ ओटा टोल स्तरीय छरितो प्रतिकार कार्यदल, १३ ओटा वडा स्तरीय सिघ्र ब्यवस्थापन समुह र एउटा नगरस्तरीय तत्काल ब्यवस्थापनन समिति गठन गर्ने निर्णय गरेको हो । प्रत्येक टोलमा वडा सदस्यको नेतृत्वमा ५ सदस्यीय छरितो प्रतिकार कार्यदल गठन गरिएको छ । कार्यदलले प्रत्येक दिन गाँउ,टोलमा स्वदेश तथा विदेशबाट आएकाहरुलाई निगरानी गर्ने, होम क्वारेन्टाइनमा बस्न लगाउने र तथ्यांक संकलन गरि प्रहरी, स्थानिय प्रशासन र नगरपालिकामा पठाउने छ । कार्यदलमा शिक्षक, बुद्धिजीवी, टोलसुधार समिति र स्वास्थ्यकर्मीलाई समेटिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । ५६ वटा कोरोना प्रतिकार कार्यदलमा दुई सय ८० जनालाई समेटिएको छ ।

त्यस्तै वडाध्यक्षको संयोजकत्वमा रहने सिघ्र ब्यवस्थापन समुहमा वडा सचिव र कार्यालय सहयोगी सदस्यको रुपमा राखिएको छ । १३ ओटा वडामा गरी ३९ जना जनशक्ति परिचालित भएका छन् । त्यस्तै नगरप्रमुख चन्द्रप्रकाश घर्तीको संयोजकत्वको नगर स्तरीय तत्काल ब्यवस्थापन समितिमा नगर प्रवक्ता पार्वती विक., डा.भुपेन्द्रप्रकाश मल्ल, स्वास्थ्य शाखा प्रमुख निशा थापा, प्रहरी निरीक्षक महेशकुमार आचार्य, नगरपालिकाको सुचना प्रविधि अधिकृतलाई सदस्यको रुपमा र प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्ती सदस्य सचिव रहने गरी सात सदस्यीय समिति गठन गरिएको छ । एमआइएस अपरेटर शरोज वलीलाई तथ्यांक संकलनको फोकल ब्यक्तिको रुपमा तोकिएको छ । नगरपालिकाले सवै गरी एकै पटक तीन सय २७ जना ब्यक्ति परिचालित गरिएको छ ।

सवै जनप्रतिनिधी र अन्य सहयोगी महानुभावहरुको ध्यान कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन परिचालित भएको नगरप्रमुख घर्तीले बताए । उनले भने वडामा नागरिकलाई केही समस्या परेका वडाध्यक्ष नेतृत्वको समुहले दैनिक उपभोग्य बस्तु लगायतको आपुर्तीमा सहजता ल्याउने छ । नगरप्रमुख नेतृत्वको ब्यवस्थापन समितिले समग्र नगर भित्रको ब्यवस्थापनलाई ध्यान दिने छ । नगरप्रमुख घर्तीले महामारी भित्रन नदिन सवै सचेत हुनु पर्ने र सरकारले दिएका निर्देशन पालन गरेर लकडाउन अनुसार घरमै बस्न नगरवासीलाई आग्रह गरे । भेरीमा भारत र अन्य मुलुकबाट हालै आएका ६० जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad