राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिका ७ पुन्मा स्थित सरस्वती माध्यमिक विद्यालयको २५ विद्यार्थी एक पटक विरामी परेका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको प्रधानाध्यापक धिरेन्द्र शाहले बताए । विद्यालयमा अहिले बार्षिक परीक्षा चलिरहेको छ ।
त्यसमध्य ७ जनामा सिकिस्त विरामी छन् । उनीहरुमा ज्वरो समेत देखिएको छ । अन्यलाई सामान्य खालको रुघाखोकी छ । बार्षिक परीक्षा दिने क्रममा सोमवार ति विद्यार्थी विरामी परेका हुन् । कतिपय विद्यार्थी शनिवार देखि नै विरामी भएपनि बार्षिक परीक्षा छुट्ने डरले परीक्षामा सहभागी भैरहेको स्थानिय दीपबहादुर शाहीले बताए । उनले केही दिन अघि परेको बर्षातका कारण गाँउमा रुघाखोकीका विरामी बढेको बताए ।
केही विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाले एक स्वास्थ्यकर्मीको टोली औषधी सहित विद्यालयमा पठाएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । त्यहाँको अवस्था बुझ्न र उपचार गर्नको लागी स्वास्थ्यकर्मीको टोली पठाएका छौ उनले भने ‘अवस्था हेरेर आवश्यक उपचारको ब्यवस्था मिलाउँछौ ।’ विद्यालय सदरमुकाम खलंगाबाट सो विद्यालय पुग्न तीन घण्टाको समय लाग्छ ।
जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा.अमिन शाहले पुन्मामा मौसमी रुघाखोकी देखिएको बताए ।