प्रवाह संवाददाता । जाजरकोट
११० औं अन्तर्राािष्ट्रय श्रमिक महिला दिवसको अवसरमा अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले जाजरकोटका १७ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेकी छिन् । दैलेख जन्मेर हाल संयुक्त राज्य अमेरीकामा रहेकी जयन्तीले विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाइ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा २५ हजार वरावरको शैक्षिक सामाग्रीहरु सहयोग गरेकी हुन् ।
कुशेमालिका अनलाइनको समन्वयमा जयन्तीले उपलव्ध गराएको शैक्षिक सामाग्रीहरु आइतवार त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा आयोजित विशेष कार्यक्रमका विच भेरी नगरपालिकाकी उपमेयर भावना भन्डारीले विद्यार्थीहरुलाइ हस्तान्तरण गरिन् । उक्त विद्यालयको कक्षा १२मा पढ्ने ९ जना र कक्षा ११ मा पढ्ने ८ जना विपन्न विद्यार्थीहरुलाइ प्रति विद्यार्थी १५ सय वरावरका सम्वन्धित विषयका किताव, कलम, कापी लगाएतका अन्य शैक्षिक सामाग्रीहरु उपमेयर भन्डारीले उनीहरुलाइ हस्तान्तरण गरिन् ।
पढाइ सामाग्री हस्तान्तरण गर्दै भेरी नगरपालिकाका उपमेयर भावना भन्डारीले सात समुद्रपारी रहेर पनि नेपाली जनताको सुख र दुखमा सहयोगी हात अगाढि वढाउने उनको कार्यको सम्मान गर्नु पर्ने वताइन् । जयन्तीले यस अघि पनि गत वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १२ जना विद्यार्थीहरुलाइ पढाइ सहयोग सामाग्रीहरु सहयोग गरेकी थिइन् । आफनै व्यक्तिगत खर्चमा जाजरकोट, सुर्खेत, दैलेख र रुकुमका दुइ दर्जन वढी सहाराविहिन वालवालिकाहरुलाइ पढाइरहेकी जयन्तीले विभिन्न प्राकृतिक तथा मानवीय विपत्तीमा परेकाहरुलाइ स्वस्फुर्त रुपमा विभिन्न खाले सहयोग गर्दै आएकी छिन् ।