१३ बर्षमा विहे २१ बर्षमै पाँचौ गर्भ !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिका–११ कट्टी गाउँकी पार्वती सुनारको १३ बर्षकै उमेरमा स्थानिय एक युवक सँग बिबाह भयो । विवाह भनेको के हो थाह नै नपाउने उमेरमा ६ कक्षामा पढ्दा पढ्दै घरपरिवारले उनलाई विवाह गरिदिए । विवाह सँगै उनको पढाई पनि छुट्यो । विवाह भएको एक बर्ष पछि नै पहिलो गर्भ रहेपनि त्यो गर्भमै तुहियो । दुई बर्ष पछि दोस्रो गर्भबाट बच्चा जन्मिाए पनि उनले बचाउन सकिनन् ।

त्यसपछि जन्मिएका दुई छोरी भने सकुसल छन् । हाल उनको उमेर २१ बर्षको भयो । उनी गर्भवति छन् । छोरा पाउने आशमा उनले पाँचौ गर्भ बोकिरहेकी छन् । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले गाँउमै भिडियो एक्सरे सेवा दिन आयोजना गरेको शिविरमा जगतिपुर स्वास्थ्य चौकीमा पुगेकी उनले विगत सुनाएकी हुन् । ‘के गर्ने सर सानैमा विहे गरियो । दुवै जना बेरोजगारी । श्रीमान ज्याला मजदुरी गर्नु हुन्छ । कहिले काँही कालापार(भारत) पनि जानुहुन्छ तर पनि छाक टार्न समेत मुस्किल छ ।’ कुराकानीकै क्रममा उनले भनिन ‘अहिले न हातमा सीप छ कमाई गर्ने न अन्य उपाय नै, कसरी केटाकेटी र मेरो पेट भरुँ ?’ सानैमा विहे गरेकोमा उनलाई अहिले पछुतो लागीरहेको छ । विवाह गर्ने उमेरमा पाँचौं गर्भ बोक्न बाध्य उनलाई पाठेघर ( आङ)खस्ने समस्या समेत थपिएको छ । पढेर सक्षम भएको भए अहिले यस्तो दुःख किन भोग्ने पथ्र्यो होला उनले पिडा सुनाउँदै भनिन् ।

सोही गाँउकी २२ बर्षिय गौरी कामीले पनि १३ बर्षकै उमेरमा विवाह गरेकी थिईन । सात कक्षामा पढ्दा पढ्दै गाँउको एक जना युवक सँग माया प्रेम बस्यो । उनीहरुले भागेर विवाह गरे । श्रीमानले जेनतेन एसईई पास गरे तर गौरीको पढाई त्यही विराम लाग्यो । १४ बर्षको उमेरमा पहिलो सन्तान जन्माएकी उनले १८ बर्षको उम्मेरमा दोस्रो सन्तान छोरा जन्माईन । २२ बर्षिया गैरीको पेटमा तेस्रो गर्भ छ । परिवार नियोजनका साधन बारे जानकारी नहुँदा इच्छा नभएपनि गर्भ बोक्न बाध्य भएको बताईन ।

सात कक्षामा पढ्दा पढ्दै १४ बर्षको उमेरमा बिबाह गरेकी सोही ठाँउकी भगवती विकले १६ बर्षको उमेरमा पहिलो सन्तान जन्माईन । उनी अहिले २१ बर्षकी भईन दोस्रो गर्भ पेटमा छ । गर्भजाँच गराउन स्वास्थ्य चौकी पुगेकी उनी पनि अन्जानमै विवाह गरेको बताउँछिन् । उमेर नपुग्दै विवाह गर्नु राम्रो नहुने उनको भोगाई छ । आफु सानै उमेरमा विवाह गर्दा पढ्न नपाएकोमा पछुतो लागेको बताउने उनले पढेर आफु सक्षम भएपछि मात्र विवाह गर्न अन्य किशोर किशोरीलाई आग्रह गरिन

यी प्रतिनिधी पात्र हुन् । जगतिपुर स्वास्थ्य चौकीबाट निशुल्क भिडियो एक्सरे सेवाबाट गर्भजाँच गराउने ४१ जना गर्भवती आमाहरुमध्ये अधिकांशले १३ देखि १८ बर्षको उम्मेरमै बिबाह गरेको पाईएको छ । ति मध्य धेरै जसोले १४ देखि १९ बर्षको उमेरमा पहिलो सन्तान जन्माएका थिए । ति मध्य सानैमा विवाह गर्ने र उमेर नपुग्दै आमा बन्ने शिशोरीहरु अधिकांश दलित समुदायका रहेको डा. मल्लले बताए । जहाँ अझै पनि अशिक्षा छ । अज्ञानता छ । त्यस्तो समुदायका किशोरीहरु बालविवाह गर्न बाध्य छन् । उमेर नपुग्दै विवाह गर्ने र गर्भवति हुँदा आमा र शिशुको स्वास्थ्यमा गंभिर असर देखिने डा.भुपेन्द्रप्रकाश मल्लको भनाई छ । आमाको उमेर नपुग्दै जन्मिएका शिशु कम तौलका जन्मिने, उचाई कम हुने, कुपोषणको समस्या लगायतका समस्या देखिन्छन् ।

नेपालको कानुन अनुसार २० बर्ष नपुग्दै गरिने विवाहलाई दण्डणीय मानेको छ । तर जाजरकोटमा १९ बर्ष नपुग्दै ७४ प्रतिशतले विवाह गर्ने गरेको जिल्ला बाल कल्याण समितिले प्रकाशित गरेको जाजरकोटका बालबालिकाको स्थिति प्रतिवेदन २०७४ मा उल्लेख गरिएको छ । बालविवाह न्युनिकरणका लागी सरकारी तथा गैरसरकारी निकायले बर्षेनी लाखौ रकम खर्चे पनि बालविवाह गर्ने कार्य रोकिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad