कृष्णा शाह
आज मार्च ८ । महिलाहरुले समानता र न्यायका लागि राँको बालेको दिन । विश्व महिला मुक्तिको विद्रोहको दिन । संयुक्त राष्ट्र संघले यस वर्षको ८ मार्च अर्थात् अन्तराष्ट्रिय महिला दिवसको नारा ‘म समानता पुस्ताः महिलाअधिकार स्थापनाकालागि अग्रसर’ तय गरेको छ । यस नाराको सार पक्षमा पनि बहस गर्न सकिन्छ, तैपनि सर्सर्ती हेर्दा समानता र अधिकारलाई यसमा मुख्य जोड दिइएको छ ।
अब हामीले प्रश्न गर्नुपर्ने भएको छ, महिलाहरु कसको कारण असमान भएका हौं, छौं ? हामीलाई किन असमान बनाइएको हो ? हामी समान हुन के के गर्नु पर्दछ ? महिला अधिकार कहाँबाट स्थापना गर्नु पर्ने हो ? हाम्रो अधिकार खोस्ने को हो ? आदि प्रश्नहरुको जवाफ खोज्न विषयको गहिराईमा गएर मात्र संभव छ । सतहबाटै अमूर्त समानता र अधिकारको कुरा गर्नुको खासै अर्थ छैन । नयाँ नयाँ सन्दर्भमा प्रत्येक वर्ष नारा फेरिरहनुभन्दा हामी उत्पीडनबाट मुक्त नभएसम्म लगाउने रणनीतिक नारा र कार्यक्रम हामीले तय गर्नुपर्दछ । त्यो नारा के हुन सक्ला हामी सबैले सोच्नै पर्दछ ।
हामी सबैलाई थाहा भएकै कुरा हो कि आदिम कालमा मान्छेहरु जंगलमा बस्थे । स्थायी प्रकृतिको बसोबास थिएन । खानेकुराहरु अस्थायी प्रकृतिकै थिए । आजको आजै भोलिको भोलि नै । पचासौं हजार वर्षसम्म मान्छेले यस्तो अवस्थाबाट गुज्रिएको मानिन्छ । मान्छे विस्तारै ओढार, गुफाबाट गोठ घर बनाएर बस्न थाल्यो । खेतिपाती र पशुपालन गर्न थाल्यो । घुमन्ते जिन्दगी स्थायी प्रकृतिको बासस्थानले बदल्यो । नीजि सम्पति जोड्न थाल्यो । नीजि सम्पतिको जगेर्ना गर्ने विश्वासिलो मान्छे चाहियो । आफ्नै छोराछोरी बनाउनु पर्ने भयो । सामूहिक बाबुबाट छोराछोरी नचिनिने हुनाले नीजि स्वास्नीको व्यवस्था भयो । पुरुष भने स्वतन्त्र नै रह्यो । हिजो कि गण नायिका अब विस्तारै घरेलु दासीमा रुपान्तरण भई । दास दास हुनुभन्दा पहिले दासताको स्वाद चाख्ने पहिलो मानव जीव महिला थिई । यो करिब दशहजार वर्ष अगाडीको कुरा होला । हामी महिलाहरु भर्खरै उत्पीडनमा परेका होइनौं यसका जराहरु दशहजार वर्ष पुराना छन् । मुक्तिको संघर्ष पनि दीर्घ कालिन र कष्ट साध्य बाटो हिँडेर मात्र संभव हुनेछ ।
अब मुख्य गरि दुईवटा कुरा नीजिभए सम्पति र स्वास्नी । तर महिलाले कसरी र किन हामी दासी भयौं भनेर प्रश्न गरेनन् । चुप चाप दशहजार वर्षसम्मदा सताको नुनिला आँशुहरु पिएर रहे ।भर्खर मात्र एक डेढसय वर्ष अघिदेखि महिलाहरु आफ्नो अवस्थाबारे प्रश्नगर्न थाले । त्यही प्रश्नको उत्तर उत्तर अमेरिकाकामहिलाहरुले समाजवादी पार्टीको साथमा रहेर गर्न थाले सन् १९०८ मा । सन् १९१० मा डेनमार्कको राजधानी कोपन हेगनमा सत्र देशका श्रमिक महिलाहरु जम्माभएर छलफल गरे । यस अघि नै कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले मान्छेले मान्छेमाथि गर्ने उत्पीडनको वैज्ञानिक कारण पत्तालगाइ सकेका थिए । माक्र्सवादको आलोकमा क्लारा जेट्किनहरुले एउटा घोषणपत्र तयार पारेका थिए । संघर्ष र सफलताको प्रतिकको रुपमा आठ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने । आज सम्मपनि यसैलाई नै अविच्छिन्न रुपमा मनाउदै आएका छौं । सन् १९७५ देखि संयुक्त राष्ट्र संघले पनि अन्तराष्ट्रिय महिला दिवस ( श्रमिक शव्द हटाएर ) मनाउने गरेको छ ।
आठ मार्चको माग र नारा साधारण थियो पहिलाहरुलाई पनि पुरुष सरह मतको अधिकार । जब महिलाहरु बुभ्mदै जानथाले, संघर्षमा सहभागी हुन थाले, प्रत्येक पाइलामा उत्पीडन रहेछ भन्ने बुझे । विचार, राजनीति, संगठन, संस्कृति सबैतिर उत्पीडन नै उत्पीडन देखिनथाल्यो । पितृसत्ता वाददशहजार वर्षदेखि जरा गाडेर बसेको छ, यसले आफूलाई सजिलो पार्ने राज्यसत्ता खडा गरेको छ, यसको जरा पनिउस्तै लामो छ । राज्यसत्ता र पितृसत्ता मिलेर महिलालाई, अन्य श्रमिकलाई उत्पीडन गरिरहेका छन् ।
मत त हामी महिलाको प्रयोग भयो तर चुनिने पुरुष भयो । उसले कानून बनायो पितृसत्ता जोगाउने गरी । संघर्ष गरेर कानून त समान अधिकारको बन्यो तर लागु गर्ने बेला फेरी पितृसत्ताले झेल गर्न थाल्यो । कागजमा समान तर जीवनमा फेरी पनि असमान । समान्तवाद तथा पूँजीवाद महिला उत्पीडनका साधन हुन् हामी मुक्त हुन कम्युनिष्ट हुनु पर्दछ भन्यौं । नेपाली आधुनिक राजनीतिको पछिल्लो कडि जनयुद्धमा असाधारण गर्जन दिने सहासिक मोर्चा सम्हाल्ने महिलाहरु नै थिए, जहाँ कही पनि कायरता प्रदर्शन गरेरनन् । संसारमा सबैभन्दा समानताको आवाज बुलन्द पार्ने पनि कम्युनिष्ट नै हुन् तर हाम्रो पार्टीमा हामीले नै लेखेको संविधानको व्यवस्था अनुरुपको महिलालाई अधिकार दिन पनि कञ्जुस्याई किन ? स्थानीय तहमा मुख्य दुई पदमध्ये एकमा अनिवार्य एक महिला हुनु पर्ने प्रावधान त त्यसको सहायक भूमिकामा मात्र महिलालाई निर्वा्चित गरियो देशै भरी ।
प्रदेश र संघीय संसदमा पनि उही अवस्था रह्यो । औंलामा गन्ने बाहेक प्रत्यक्षतर्फको सिटमा पुरुषहरु मात्र किन ? राज्यले व्यवस्था गरेको त्यो पनि वाध्यकारी अवस्थामा ३३ प्रतिशतको कार्यन्वन गर्न राजनीतिक दलहरुलाई किन सकस ? किनकी पार्टी व्यवस्थापन गर्न पुरुषलाई व्यवस्था गर्नु पर्ने भयो । किनकी महिलाले चुनाव जित्न सक्दैनन् । महिलासँग चुनावमा खर्च गर्ने पैसा छैन । महिला स्थापित छैनन् उनलाई भोट प्राप्त हँुदैन भनियो । बजेट विनियोजन हुन्छ प्रत्यक्षतर्फ धेरै वा प्राथामितामा राखेर । सम्पूर्ण गडबडी र भ्रष्टाचारको मुहान पनि पितृसत्ता । दशहजार वर्षदेखि समाजमा वर्चश्व जमाएको वर्गले आफू अनूकुल हुने गरी नियम कानून बनायो । रितीतिथि बसाल्यो । साहित्य सृजना गर्यो । सात वर्षको बालिकालाई सत्तरी वर्षको बृद्धसँग विवाह गराइएको स्वस्थानी (खासमा अस्वस्थानी) को केही महिला नेतृहरुबाट विरोध के भएको थियो चिहानबाट उठेर केही सल्बलाउन थाली हाले । “संस्कृति र सभ्यता जोगाउन” । राज्यसत्ता र पितृसत्ताको बुई चढेर धर्मको घोढा सवार हुन थाल्छ । महिला पिडक धर्म । सामाजिक सत्ता पनि त्यसरी नै तय गरिएको छ । विद्याल यव्यवस्थापन समिति, वन समिति, उपभोक्ता समिति सर्वत्र महिलाको उपस्थिति नाम मात्रैको हुने गर्दछ ।
एक सय दश वर्ष अघि क्लारा जेट्किनहरु जे नारा लगाउँदै थिए, आज पनि हामी उही नारा लगाउन अभिसप्त छौं । समानता र अधिकारको । हामीले एक्लै लगाएको होइन संयुक्त राष्ट्र संघ पनि हाम्रो बोलीमा लोलि मिलाउन बाध्य छ । नांगिने डरले । हामी कहीले मुक्त हुने हो थाहा छैन । तर विश्वास छ एक दिन त्यो दिन आउने छ । पँुजीवाद रहेसम्म हामी मुक्त हुने छैनौं । पितृसत्ताको विरोध गर्ने बेलासम्म त सबै महिलाहरु एकै कित्तामा हुने छौं । जब पितृसत्ताको जगेर्ना गर्ने पूँजीवादी राज्य सत्ताको पनि चिहान खन्नु पर्ने हुन्छ तब एकथरी महिलाहरु खासगरी सभ्रान्त वर्गका त्यो काम त अहिले होइन भन्दै पन्छिन थाल्ने छन् । उनको र हाम्रो बाटो फरक पर्नेछ । त्यतिबेला मूल नाराबाट श्रमिक महिला झिक्ने संयुक्त राष्ट्र संघको पनि औचित्यमाथि प्रश्न उठ्नेछ ।
पुँजीवादको दासताबाट मुक्त हुन हामीले अरु श्रमिकहरु, उत्पीडित जाति र समुदायको पनि साथ चाहिनेछ । त्यो वैकल्पीक व्यवस्था भनेको समाजवाद नै हो । अहिलेको हाम्रो व्यानरमा लिंगीय उत्पीडन र वर्गीय उत्पीडनबाट मुक्ति नै हुनेछ । समाजवादको यात्रामा हिड्ने सबैसँग सहकार्य हुनेछ । जहाँबाट अगाडि बढेपछि फेरी पनि हामीले समानता र स्वतन्त्रता एवं अधिकारको नारा लगाइरहनु पर्ने छैन । जुन व्यानरमा, कानूनमा, दस्ताबेजमा मात्रै होइन जीवनमै वास्तविक समानताको अभ्यास हुनेछ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसले एकता, संघर्ष र विजयको लागि निरन्तर लागिरहने प्रेरणा हामी सबैलाई दिनेछ । विगत इतिहासको अध्ययन र स्मरणले हाम्रा प्रतिबद्धताहरुलाई पुनरताजगि बनाउने छ ।
(कृष्णा शाह कर्णाली प्रदेश सभा सदस्य तथा अखिल नेपाल महिला संघ, केन्द्रीय सदस्य हुन्)