March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

‘सिंहदरबार’ कहिले पुग्ला गाँउ ?

घुस सहित गाँउपालिका अध्यक्ष अख्तियारको फन्दामा परेपछि कामकाज ठप्प
सम्पर्क कार्यालय सुनसान
राजेन्द्र कार्की । जाजरकोट
स्थानिय तहको चुनाव सँगै गाँउ गाँउमा सिंहदरबार पुग्ने अपेक्षा गरेका जिल्लाको जुनीचाँदे गाँउपालिका ४ का हरिबहादुर खड्का चुनाव भएको तीन बर्ष पुग्न लाग्दा पनि सिंहदरबार गाँउमा नपुगेपछि अहिले निराश छन् । केन्द्र विवादका कारण सिंहदरबार त सदरमुकाममा अड्किएको छ । गाँउपालिकालाई समृद्ध बनाउलान भनेर गाँउपालिका अध्यक्षमा जिताएर पठाएका कृष्णबहादुर केसी घुस काण्डमा अख्तियारले पक्राउ गरेपछि स्थानिय निकै निराश छन् र जनप्रतिनिधि प्रति आक्रोशित पनि ।
गाँउपालिका भित्रको लामातरा—गर्खाकोट सडक निर्माण गर्ने क्रममा निर्माणको जिम्मा लिएको डोजर मालिकबाट ८ लाख घुस रकम लिदाँलिदै अख्तियारले गाँउपालिका अध्यक्ष केसीलाई सुर्खेतबाट गत माघ १० गते पक्राउ गरेको थियो । उनी सहित उपाध्यक्ष शिवा आचार्यका पति चन्द्रबहादुर बस्नेतलाई अख्तियारले रंगेहात पक्राउ गरेपछि उनीहरु अहिले पुर्पक्षका लागी थुनामा छन् । ९० लाखको उक्त योजनामा जुनीचाँदे गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीले समेत घुस लिएको भन्दै उनलाई पनि अख्तियारले पक्राउ गरेर थुनामा राखि अनुसन्धान गरिरहेको छ । अख्तियारले अध्यक्ष केसीलाई ३३ लाख ५० हजार विगो सहित विशेष अदालतमा मुद्धा चलाएको छ । त्यस्तै वडाध्यक्ष शाहीलाई २५ लाख ५० हजार घुस लिएको विगो सहित र उपाध्यक्षका पति बस्नेत ८ लाख विगो सहित विशेष अदालतमा हदै सम्मको कारवाहीको माग गदै अख्तियारले मुद्धा दायर गरेको हो । स्थानिय सरकारको नेतृत्वकर्ता गाँउपालिका अध्यक्ष घुस काण्डमा अख्तियारको फन्दामा परेपछि गाँउपालिकाको नितिगत निर्णयहरु, कानुन निर्माण, विकास निर्माण लगायतका कार्य ठप्प भएका छन् ।
गाँउपालिकाको केन्द्र सानाखोला गर्ने कि लुहादह राख्ने विवाद सर्वोच्च अदालत पुगेको छ । केन्द्र विवादले लामो समय देखि सदरमुकाममबाटै गाँउपालिकाको प्रशासनिक कार्य हुँदै आएको छ । केन्द्रविवादले सदरमुकाममै अड्किएको सिंहदरबार गाँउपालिका अध्यक्षको घुस काण्डले थप अन्योल र अस्तब्यस्त भएको स्थानिय सर्पराज खत्रीले बताए । उनले भने—‘विकास गर्ने, जनताको जीवनस्तर उकास्ने, सेवा सुविधा गाँउमै पुरयाउने र समृद्ध गाउँपालिका बनाउने अपेक्षाका साथ जिताएका जनप्रतिनिधी नै कमाउ धन्दामा लागेपछि कसलाई विश्वास गर्ने ? कसरी हाम्रो जीवन स्तर उस्केला ? । गलत नियत भएका जनप्रतिनिधी छान्दाको परिणाम हो यो ।’
अख्तियारले उक्त सडक आयोजनाको फायल समेत कब्जामा लिएको छ । छानवीन गर्न अझै कति समय लाग्ने हो एकीन छैन । सरकार प्रमुख जेलमा छन् , कर्मचारी सदरमुकाममै छन्, विकास निर्माण लथालिङ्ग छ स्थानिय प्रेमबहादुर खत्रीले भने ‘हामीले गाँउको सिंहदरबारबारे जे सोचेका थियौ । विकास निर्माणले गति लेला । सेवा सुविधा गाँउमै आउलान तर त्यसको ठीक उल्टो भयो । जनप्रतिनिधी नै कमाउ धन्दामा लागे । हाम्रा दुःख ज्युँका त्यँउ । ’
प्रमुख प्रशासकिय अधिकृत सर्वदल शाही अध्यक्षको गिरफ्तारीले गाँउपालिकाको नियमित कामकाजमा कुनै असर नपरेको बताए । तर केन्द्र विवादको समस्याले गाँउमा गएर काम गर्न नसक्दा स्थानिय बासिन्दा दुई दिन पैदल हिडेर सदरमुकाम आउन बाध्य छन् । सरकार प्रमुख अर्थात घरमुली नै नभएपछि कतिपय नितिगत निर्णय लगायतका कुरामा भने केही अन्यौलता छाएको पक्कै हो तर उपाध्यक्षको नेतृत्वमा गाँउ कार्यपालिकाको कामकाज अघि बढाईरहेका छौ र बढ्दै जान्छ उनले भने । गाँउपालिकाले यस आर्थिक बर्षमा विकास निर्माणको २५ प्रतिशत मात्र खर्च गरेको छ । कतिपयले गाँउपालिकाका उपाध्यक्षका श्रीमान समेत घुस काण्डमा संलग्न भएकोले उनलाई समेत काम गर्न नैतिक संकट देखिएको बताउँछन् । अख्तियारले पक्राउ गरे सँगै गाँउपालिका अध्यक्ष केसी निलम्बनमा परेका छन् । सधै जसो भीडभाड भैरहने सदरमुकाम स्थित गाँउपालिकाको सम्पर्क कार्यालय अचेल सुनसान छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad