प्रतिभा अर्पण ̸ जाजरकोट
महिला सशक्तिकरण सम्बन्धि तालिम चलिरहेको थियो । सहजीकरणको लागि बर्दिया सदरमुकामबाट दुईजना महिला अधिकारकर्मी दिदीहरु आउनु भएको थियो । खाजा खाँदै हामी केहि व्यक्तिगत कुरामा गफियौँ । हामी चारैजना विबाहिता । आ—आफ्ना घरायसी उल्झन र त्यसबाट अगाडि बढ्न गरिएका सँघर्ष नै हाम्रा कुराकानिका मुख्य विषयबस्तु थिए ।
कुराकानीका बिषयमा व्यक्तिगत अभिरुचिका अपुरा कुरा पनि जोडिएर आउँथे । सँगसँगै लगाउने पहिरन र श्रृंगारका प्रसंग पनि यदाकदा घुसिहाल्थे । यसै मेसोमा एकजना साथीले भनिन् “मलाई त अचेल सिन्दुर लगाउनै मन लाग्दैन,लगाए पछि आफैलाई नर्तकी जस्तो लाग्छ मैले त लगाउनै छोडे।” त्यसैमा अर्को दिदीले हो मा हो थपिन् । हुन पनि अचेल प्रायःजसो दिदीबहिनीले बिहेपछि सिन्दुर लाएको कमै देखिन्छ । समयसँगै मान्छेका चाहना र लवाई खवाईमा परिवर्तन आएको छ । अहिलेका महिलाहरु सिउँदोमा लामो सिन्दुरको धर्को र हातभरी छमछम चुरा लगाएर हिँडेको प्राय देखीदैन । यदाकदा कुनै पर्वहरुमा बाहेक । यो सिन्दुर लगाउने कुरासँग भने मेरा केहि आफ्नै अनुभुतिहरु छन् । विहे गर्नु अघि म र एकजना छिमेकी फुपु दाईभाउजु घरमा नभएको मौका छोपी उहाँहरुको कोठामा पस्थ्यौँ । र रातो लिपिस्टिकको सिन्दुर बनाएर सिउँदोमा लगाउथ्यौँ । ऐना हेर्दै आफु राम्री देखिएको भन्दै मख्ख पर्दै हाँस्थ्यौँ ।
एक दिन हाम्रो तल्लो गाउँको घरमा कोहि थिएनन् । आमा बाबा र अन्य परिवार बेसिको घरमा जानुभएको थियो । दाई र भाउजु सदरमुकाम खलंगा जानुभएको थियो । त्यहि मौकामा भद्रि फुपु र म कोठामा पसेर आधा रातसम्म भाउजुको रातो लिपिस्टिकको सिन्दुर र चुरा लगाएर क्यासेटमा गीत रेकर्ड गर्दै बस्यौँ । रातिको करिब दुई बजेको थियो । बाहिर आँगनमा कोहि बोलेको आवाज आयो । हामीले हत्पत् लिपिस्टिक पुछ्यौँ । कपाल रुमालले ढाक्यौँ र बार्दलीमा आयौँ । त्यहाँ भैँसी ल्याएर बेच्न हिँडेका तीन–चार जना मान्छेहरुले बास मागिरहेका थिए । त्यतिबेला जाजरकोटको माथिल्लो भाग र जुम्लासम्मका मानिसहरुले घोडा,खच्चड,भेडा र च्याङ्ग्रा हाम्रो गाउँको बाटो भएर सुर्खेत र नेपालगन्जको बजारसम्म पु¥याउँथे अनि तिनै चौपायालाई नुन चामल लगायतका सामान बोकाएर फर्कन्थे ।बाटो सिधै नजाने र सडक मार्गको विकास नभैसकेकाले ती पशुचौपायाहरु उकालो ओरालो गर्दै आफ्नो गन्तव्य पुरा गर्दथे । यात्रा गर्ने क्रममा थकाई मार्न र हिमाली जडिबुटि बेच्न केहि दिन उनिहरु हाम्रो गाउँमा बास समेत बस्ने गर्दथे । यसै मेसोमा मेरो गाउँलेहरु मध्य कसैले मितेरी गाँस्दथे भने कोही उनिहरुसँगै भागेर विबाह पनि गर्दथे । हाम्रै गाउँको बाटो भएर गाई भैँसी पनि हिडिहाल्थ्यो । भैँसीहरु बेच्न तलतिर लगिन्थ्यो भने गाईहरु माथितिर । साँच्ची ती गाईहरु कहाँ लगिन्थ्यो होला? मैले सुनेअनुसार, ति गाईहरु तराईबाट सस्तो भाउमा ल्याएर जुम्ला, डोल्पा र हुम्लातिर लगेर बेचिन्थ्यो । त्यतातिर गाईको दुध चढाउने र गाई गोरुको पुजा गरिन्छ । अनि केही गाई चिनको सिमानातिर लगेर बेचिन्छ । त्यो बेलामा गाउँतिर प्रशस्तै बस्तुभाउ पालिन्थ्यो र धेरै पशुचौपाया भएका परिवारलाई नै खान्दानी मानिन्थ्यो ।
प्रसँग फेरि भैँसी ल्याउने मान्छेको । भैँसी खरिद गरेर सुर्खेत र नेपालगञ्ज सम्मै पु¥याएर जिउँदै या बध गरेर बेचिन्थ्यो । उनीहरु त्यहिमध्येका थिए । उनीहरुलाई हामीले भन्यौ “घरमा कोही छैन र हाम्रो तल्लो घर खाली भएकोले त्यहीँ आफै पकाएर खानुस् ।” अनि क्यासेटमा रेकर्ड गरेको आफ्नै गीत सुन्दै बस्यौँ । मेरो गाउँको विद्यालयमा त्यतिबेला पाँच कक्षासम्म मात्र पढाई हुन्थ्यो । र त्यो भन्दा माथिल्लो कक्षामा पढ्न अर्को गाउँ जानुपथ्र्यो । त्यहाँ पुग्न हामीलाई चार घन्ंटा पैदल हिड्नु पथ्र्यो । हामी पढ्नको लागि उतै डेरा गरेर बस्थ्यौँ । त्यो बेला सम्मपनि मेरो गाउँबाट पढ्न भनेर छोरीलाई अर्को गाऊँमा कमै पठाईथ्यो । घरमा काम गर्ने कोहि छैन भन्ने बहानामा । यही कारण म भन्दा माथिल्लो कक्षामा पढ्ने एक जना र मसँगै पढ्ने अर्को दिदीले पनि एक–एक गरेर स्कुल जान छोडे । त्यसपछि हाम्रो गाउँबाट त्यो गाउँमा पढ्न जाने केटी मान्छे म मात्रै एक्लै भए । केटाहरु चाहि १०⁄१२ जना जति थिए । दुई–तीन जना बहिनीहरु पछिल्ला वर्षहरुमा थपिए ।
संसारको रित यहि हो कि हुर्कँदो उमेरसँगै मायाप्रेम पनि अंकुराउँदै जान्छ । म पढ्न गएको ठाउँको किशोरकिशोरीको मनमा पनि प्रीतिको फूल फुल्न थाले । सात–आठ कक्षामा पुग्नु अगाबै साथीहरु प्रेमपत्र साटासाटमा ब्यस्त हुन्थे । अनि खासखुस हल्ला चल्थ्यो फलानो र फलानीको त लब परेको छ रे बाई ! कागजको पानामा भावना लेखेर साटासाटा गर्ने अवधि धेरै हुदैन थियो । नौ, १० कक्षा पुग्दासम्म उनीहरु विवाह बन्धनमा बाधिन्थे । कतिका त बच्चाबच्ची नै जन्मिसकेका हुन्थे । अहिलेको जस्तो बाल विबाह सम्बन्धिका सचेतनामुलक कार्यक्रम त्यतिबेला हुन्थेनन् । बरु तत्कालिन जनयुद्धमा हाम्रो विद्यालयबाट केहि साथीहरु सामेल भएका थिए । उनीहरु हामीलाई राजतन्त्र ठिक छैन, त्यसैले गणतन्त्र ल्याउँनुपर्छ भनेर बताउँथे । एकचोटि उनीहरुले विद्यालयमा मतदान पनि गराए, राजतन्त्र र गणतन्त्रको पक्ष बिपक्षमा । मैले त राजतन्त्र लेखेर बाल्टिनमा छिराईदिएँ । गणतन्त्रबारे बुझेकै थिईन । मनमनै सोचेँ “गणतन्त्र ल्याउनलाई त यसरी घर छोडेर हिँडनुपर्ने । सबैको गाली खानुपर्ने । अरुलाई मार्ने र आफु पनि मर्नु पर्ने ।” मैले त्यतिबेलाको कुरा संविधान सभाको पहिलो चुनावताका मात्र अलि राम्ररी बुझे । त्यतिबेला विद्यार्थीहरुले गणतन्त्रको जति विरोध गरे पनि भोट परिणाम भने गणतन्त्रकै पक्षमा धेरै आएको थियो । परिणाम सुनेर मेरी एउटी साथी खुशीले मुस्कुराई । उसले गणतन्त्रमा भोट गरेकी रहिछे । कारण बुझ्दा उसको दाई जनमुक्ति सेनामा रहेछ । त्यतिवेला उनिहरु (माओवादी) ले एक चरण दोस्रो विवाह गर्नेहरु र बालविवाह गर्नेहरुलाई केही दिनसम्म आफुहरुसँगै हिँडाए, श्रम गराए र सचेत गराए । त्यसमा हाम्रा कक्षाका साथीहरु पनि परेका थिए । एउटा त यस्तो जोडि थियो,केटी कक्षा ९ मा पढ्थिन र केटाचाहि मसंगै कक्षा ८ मा पढ्थ्यो । उनीहरुको घरमा आमाबुवाले विवाह गरी दिने कुरा चलाएका थिए रे । तैपनि उनीहरुले भागेर विवाह गरेका थिए । यसरी विवाह गर्ने धेरै थिए । परिणामः त विद्यालयका एकतिहाई केटीहरु स्कुल ड्रेससँगै सिउँदोमा सिन्दुर लगाएर पढ्न आउथे । उनीहरुको हातमा चुरा र गलामा पोते वा तिलहरी झुन्डिएको हुन्थ्यो । म उनीहरुलाई चिटिक्क परेका देख्थे । अत्यन्तै सुन्दर देखिने भर्खरै किशोर वयमा हिडेका कलिला अनुहारहरु । पल्लो गाउँकीमसँगै पढ्ने साथीले कक्षा आठमा पढ्दा पढ्दै मेरो डेरा नजिकैको घरको केटासंग विवाह गरिन् । उनले कक्षा ९ को परीक्षा दिए लगत्तै छोरा जन्माइन् । उमेरमा उनी म सँगैकी थिईन । उनि एकमात्र थिईन् । जो बच्चा जन्मिसके पछि पनि स्कुलमा पढ्न जान पाउथिन् । कारण उनका श्रीमान उनलाई पढ्न आग्रह गरिरहन्थे । उनका ससुरा पसलमा बस्ने भएकोले नाति हेरेर पसल कुर्थे । उनि दिउसो एकचोटि बच्चालाई दुध खुवाउँन घर जान्थिन् । उनका श्रीमान भने एस.एल.सी पास भएर नेपालगञ्ज पढ्न गएका थिए । बच्चा जन्माए पनि उनि उस्तै चन्चले थिईन् । उनको रहर र चाहना उस्तै छल्किन्थ्यो अनुहारमा ।
त्यतिबेला अहिलेको जस्तो मोबाईल फोनको सुविधा नभएकोले उनी आफ्नो बुढालाई दुई पृष्ठ जोडी लामो कपीको पन्नामा चिठी लेखेर पठाउँथिन् । उताबाट पनि उनका श्रीमानले घर आउने मान्छेको हातमा चिठीसंगै चुरा र टिका पठाईदिएका हुन्थे । मलाई उनका बुढाले पठाईदिएका राता र त्यसमा बुट्टा भएका चुरा औधि मन पर्थे । अनि म मनमनै कल्पना गर्थे । मेरो विहे पछि मेरो बुढाले पनि यस्तै राम्रा चुरा र सिन्दुर किनेर ल्याई दिन्छन् होला ! नभन्दै मेरो विहे पनि त्यस लगत्तै भयो । १० कक्षामा पढ्दा पढ्दै । विवाह पछि मैले पनि धोको फेरेर सिन्दुर र चुरा लगाएँ । प्रशस्तै पोते पनि किने । अनि लगाएर पढ्न गएँ । म हरिया,राता र पहेँला रंगका पोतेहरु किनेर फेरी फेरी लगाउँथे । किनभने विद्यालयमा वातावण नै त्यस्तै थियो । एकदिन अर्थशास्त्र पढाउने सर कक्षामा आउनुभयो । म बाहिरबाट भित्र कोठामा जाँदै थिएँ । मैले सिन्दुर पोते लगाएको देखेर होला एकछिन ट्वा पर्दै अचम्म मानेर मलाई हेर्नुभयो । उहाँ धेरै दिनपछि विद्यालयमा आएकोले मैले विहे गरेको थाहा पाउनु भएको थिएन सायद । विवाहपछि मेरो साथीको श्रीमानले जस्तै मेरो श्रीमानले पनि सिन्दुर,चुरा र पोते नल्याए पनि म आफै किनेर लगाउँथे । मेरो श्रीमानलाई लाग्दो रैछ आफुले ल्याईदिएको समान मलाई मन पर्दैन होला । भन्नुहुन्थ्यो ः “मैले ल्याएको तिमिलाई मन पर्दैन होला । आफ्नो रोजाईमा किन्नु ।” म आफै किनेर ल्याउँथे । विवाह गरिसके पछि चुरा सिन्दुर नलाएमा खासखुस कुरा काटिन्थ्यो । “विहे गरेर पनि केटी बनेर हिन्छे । यिनीहरुको सम्बन्ध राम्रो छैन कि क्या हो आदि आदि ।”
पुषको महिनामा टेष्ट परिक्षाको फाराम खुल्यो । फोटो चाहियो । मसँग फोटो थिएन । नजिकै फोटो स्टुडियो थिएन । सदरमुकाम खलंगा जानुपथ्र्यो । या त सुर्खेतको जामुने बजार पुग्नुपथ्र्यो । हामी ३⁄४ जना साथीहरु मिलेर खलंगा जाने सल्लाह ग¥र्यौँ । बिहानै हिँडेर बेलुका पुगिन्थ्यो । त्यतिबेला खलंगामा रमाईलो मेला लागिरहेको थियो । जाजरकोटको सदरमुकाम खलंगामा हरेक वर्ष पुष महिनाको १३ देखि १५ गतेसम्म रमाईलो मेला लाग्ने गर्दछ । खासमा हामीलाई त्यो मेला पनि हेर्न पाईने रहर थियो । अनि म चाँहि मेरो श्रीमान खलंगा गएकोले गोजीमा पैसो नभए पनि उहाँसंग त होला नि भनेर स्कुलबाटै(डेराबाटै) गएँ । मसंग १० रुपैयाँ मात्र थियो । खलंगा पुग्नु अघि मछाईना लेकभन्दा तल बाटोमा खाजा खायौँ चाउमिन रु.१०⁄१० को । पैसा दिने बेलामा गोजी छामछाम छुमछुम गरेँ १० रुपैया हात लागेन । मैले लगाएको जकेटको गोजिको प्वालबाट १० रुपियाँ भागीसकेछ । साथी कालिका खत्रीले खाजाको पैसा तिरिदिईन् । उनि हालका वन तथा वाताबरणमन्त्री शक्ति ब.बस्नेतका स्वकिय सचिव यज्ञबहादुर खत्रीकी छोरी हुन् । पुष महिनाका चिसा र छोटा दिन । हामी खलंगा पुग्दा सुर्य अस्ताई सकेको थियो । सबैजना साथीहरु आ—आफ्ना आफन्त खोज्दै बास स्थानतिर लागे । म पनि दुर्गा दिदीकोमा गएँ । मेरो श्रीमान् र दाई के.सि.होटेलमा बस्नुभएको थियो । त्यतै भेट भयो र दिदीकोमा खाना खाएर हामी बुढाबुढी होटेलतिर लाग्यौँ । भोलिपल्ट रमाईलो मेला जाने कुरा थियो । तर मैले साथमा सिन्दुर र टिका लिन भुलेकी रैछु । किन्नलाई साथमा पैसा पनि थिएन । मलाई त्यो रातभरी निन्द्रा नै लागेन । अमृतसँग (श्रीमान) भन्न पनि सकिन । म त्यो बेलामा धेरै कुरा उहाँलाई भन्न संकोच मान्थे । कुरा मनमै गुम्साएर प्रायःचुपचाप बस्थे । आफै मेरो मनको कुरो बुझिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । तर नभनेर त कसरी थाहा हुनु र अर्काको मनको कुरा । रात ढल्किदै थियो । मनमा भोलि मेलामा लगाउने सिन्दुर कसरी किन्ने भन्ने चिन्ता थियो । एक मनले सोच्थे अमृत मस्त निदाएको बेला उहाँको पर्सबाट १० रुपियाँ तान्छु र भोलि बिहान सिन्दुर किन्छु । फेरी अर्को मनले सोच्थ्यो यदि मैले पैसा तान्दै गरेको देखेपछि के सोच्नुहोला । हे भगवान ! माग्न पनि सक्दिन । आफै निकाल्नपनि सक्दिन । अब म के गरुँ ! आफुसँग एक रुपियाँ नि छैन । भोलि मेला जाँदा जसरी नि सिन्दुर त लगाउनै पर्छ । म सोच्दा सोच्दै थकित र बेचैन बनेँ । तर निन्द्रा आएन । फेरि अब त जसरी हुन्छ १० रुपैयाँ तान्छु तान्छु भनेर मनमनै अड्डि लिन्थे । र विस्तारै अर्को कोल्टे फर्किन्थे उठ्नलाई । मैले चलमल गर्दा अमृतले पनि हल्का हात खुट्टा चलाउनुहुन्थ्यो । मलाई लाग्थ्यो वहाँ पनि निदाउनु भएको छैन । त्यो रात त्यसरी नै बित्यो र छर्लैङ्र्ग उज्यालो भयो । उहाँ उठेर बाहिर जानुभयो । मलाई भने रुन मन लाग्यो । कोठामा एक्लै रोएँ । म रोएको पनि उहाँलाई धेरैजसो थाहा हुँदैनथ्यो । तर त्यतिबेला म खुब रुन्थे । आफ्ना अपुर्ण रहर र सपना सम्झेर । मैले त्यति बेला मेरा साथीहरुका श्रीमानले ल्याईदिएका श्रृ¨ार सामग्री र आफुले मनमनै गरेको कल्पना सम्झे । अहँ त्यो कल्पनाले मेरो जीवनमा मेल खाएकै थिएन । मेलामा जाने रहर त छँदै थियो । मलाई बिषेश गरी मेलामा हुने साँस्कृतिक कार्यक्रम हेर्न असाध्यै मन पथ्र्याे । गाउँमा त्यस्तो कार्यक्रम दशैँ तिहारमा मात्रै हेर्न पाईन्थ्यो । खाना खाने बेलामा होटेलमा दाईपनि आउनु भयो । दाईले मलाई भारतिय एक सय रुपैँया दिनु भयो । र त्यसैमा अमृतले पनि थपिदिनुभयो । अनि वहाँहरु सँगै मेलातिर जानु भयो । म पहिले एउटा श्रृगार पसलमा गएर सिन्दुर, टिका र गाजल किने अनि लगाइ वरि मेला हेर्न गएँ ।
मान्छेको रहर र चाहना पनि समय र परिस्थति अनुसार बदलिँदै जाँदारहेछन् । आफैभन्दा पनि ठुलो लाग्ने सिन्दुर, पोते लगाउने त्यो रहर अहिले सामान्य लाग्छ । सायद अहिले महत्व नदिईएका कुरा कुनैबेला उपयोगी हुन सक्लान् । आज सम्झन्छु किमान्छेले सपना प्राप्तिको लागि गर्ने मिहीनेतले नै त हो रहेछ सफलताको खुड्किलो चढाउने । तसर्थ वास्तवमै सपना त्यो होईन जो सुतेको बेलादेखिन्छ, सपना त्यो चाहिरहेछ जसले सुत्न दिदैन । अनि रहर र चाहना अनुरुपको मिहीनेतले मान्छेलाई सँधै उन्नतिको मार्गमा डो¥याई रहेको हुन्छ ।