राजेन्द्र कार्की । जाजरकोट
बस्तीलाई जोखिममा पारेर जाजरकोटको स्याउलीमा अवैध रुपमा क्र्रसर उद्योग सञ्चालन गरिएको छ । जिल्लाको भेरी नगरपालिका ७ स्याउलीमा ठेकेदारले आफुखुसी क्रसर उद्योग सञ्चालन गरेको पाइएको हो ।
भेरी नगरपालिका भित्र बिभिन्न आयोजनाको काम गर्ने नाममा स्थानीय तह प्रशासनलाई जानकारी बिना उद्योग सञ्चालन गरिएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्ग नजिकै क्रसर उद्योग खोलिएको छ ।
जगतिपुरदेखि कार्कीगाउँसम्म १८ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको शर्मा सिंह एण्ड ब्रोदर जेवी काठमाडौँले आफुखुसी क्रसर उद्योग सञ्चालन गर्दै आएको स्थानीयको आरोप छ । वर्षेनी स्याउली खोलाको चपेटामा परेका स्थानीय क्रसर उद्योगले बस्ती नै जोखिममा पर्ने अवस्था आएको स्थानिय विर्खबहादुर वलीले बताए । खोलामा क्रसर उद्योग संचालन गर्दा बाढीपहिरोको जोखिम बढ्ने उनको चिन्ता छ । उनले भने ‘हामी वर्षेनी बाढी पहिरोको चपेटामा परिरहेका छौं । ठेकेदारले आफुखुसी काम सुरु गरी जथाभावी उद्योग सञ्चालन गरेको छ ।’
स्याउली बजारदेखि ३ सय मिटरभित्र भयार सामुदायिक वन क्षेत्रको छेउमा आफुखुसी गिटि उत्खनन् गरिरहेको सामुदायिक वनका अध्यक्ष कृति बहादुर चन्दले जानकारी दिए । उनले कम्पनीले सामुदायिक वन क्षेत्रमा अनुमति नै नलिएर आफुखुसी क्रसर उद्योग सञ्चालन गरिएको बताए ।
जथाभावी उत्खनन गर्नाले बस्ती वन जंगल जोखिममा परेको स्थानीयको आरोप छ । मानब बस्ती र वन क्षेत्रभन्दा करीब २÷३ किलोमिटर टाढा सञ्चालन गर्नुपर्छ । तर त्यसको ठीक विपरित क्रसर उद्योग बस्तीको छेउमा सञ्चालनमा छ । ठाडो खोला त्यसैमा पनि आफुखुसी गिट्टी बालुवा संकलनले सिंगो स्याउली बजार बाढिपहिरोको जोखिममा रहेको स्थानीयहरुको गुनासो छ । तर राष्टिय गौरबको आयोजना मध्यपहाडी राजमार्गको कामको लागि उद्योग सञ्चालन गर्दै आएको निर्माण ब्यवसायी विश्वास उप्रेतीले बताए ।
‘वर्षाँैदेखि खोलाले जग्गा कटान गर्दै आएको रहेछ ।’ उनले भने, ‘ केही स्थानीयले क्रसर उद्योग सञ्चालन गर्दा जग्गा कटान रोकिने भनेपछी उद्योग सञ्चालन गरेको दावी गरे ।’ उनले पानीको बाँध मिलाउन सके बस्ती बच्ने आँकलनले क्रसर सञ्चालन गरेको जानकारी दिए । उनले स्थानिय जनप्रतिनिधिको अनुमति लिएर उद्योग शुरु गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्योग सञ्चालन गर्दा आप्mनो मापदण्ड बिपरित काम गरेको भए अनुगमन गरेर कारवाही प्रक्रिया अगाडि बढाउने बताए । उद्योग सञ्चालनसम्बन्धी कुनै जानकारी नआएको भन्दै प्रजिअ पन्तले तत्काल अनुगमन गरी कारवाही गर्ने जनाए । उनले भने ‘पहिलो कुरा सञ्चालन गर्न पाउने अनुमति छ÷छैन म पनि बुझदै छु । मापदण्ड बिपरित भए तत्काल कारवाहीको दायरामा ल्याउँछु ।’
भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले नगरपालिकासँग निर्माण कम्पनीले कुनै समन्वय नगरेको बताएका छन । स्याउलीमा सञ्चालनमा रहेको क्रसर उद्योग बारेमा अहिलेसम्म नगरपालिकामा कुनै जानकारी नआएको उनले जानकारी दिए । सञ्चालनमा रहेको उद्योग कानुनभन्दा बाहिर रहेर काम गरिरहेकोले त्यसको लागि नगरपालिकाले कारवाही प्रकृया अगाडि बढाउने घर्तीले बताए । उनले भने, ‘नगरपालिकाभित्र सञ्चालनमा रहेका यस्ता क्रसर उद्योगबाट प्राकृतिक सम्पती लोप हँुदै गएको छ ।’ अनुमती बिना स्थानीय सरकारलार्ई कर छली, जग्गा अतिक्रमण गरी सञ्चालन गरेको उद्योग बन्द गरिने नगरप्रमुख घर्तीको भनाई छ । जिल्लामा हाल प्रभावकारी अनुगमन नहँुदा यहाँको स्रोत साधन जिल्ला बाहिर चोरी निकासीसमेत हुने गरेको स्थानीयको गुनासो छ ।