राजेन्द्र कार्की । जाजरकोट
बर्षेनी खाद्य संकट भैरहने जाजरकोटको बारेकाटका करीव २० हजार बासिन्दाका लागी भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिवेला रित्तै छ । बारेकोटमा खाद्य संकट दिनहुँ चुलिदै गएको छ तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ । बारेकोटको खाद्य संकट टार्न सरकारले नेपाल खाद्य संस्थानलाई चालु आर्थिक बर्ष दुई हजार पाँच सय क्वीन्टल चामलको कोटा निर्धारण गरेको छ ।
उक्त चामल ढुवानीका लागी सरकारले अनुदान दिदै आएको छ । तर आर्थिक बर्ष सुरु भएको ६ महिना विति सक्दा पनि चामल ढुवानीको जिम्मा लिएका एन वि विल्डर्सका प्रतिनिधी मानबहादुर खड्काले खाद्य संस्थानबाट पाँच सय क्वीन्टल चामल बुझेर लगेका छन् । त्यस मध्य तीन सय २९ क्वीन्टल चामल मात्र डिपोमा पुरयाएका छन् । डिपोमा पुगेको सवै चामल विक्रि भैसकेको छ । केही चामल बाटोमै थन्किएको छ । ‘गाँउमा खाद्यन्नको अभाव छ । ठेकेदारले चामल ढुवानी गदैनन् । गाँउमा उत्पादन भएको अन्न सकियो । पसल छैनन् । डिपो रित्तै छ, के किनेर खाने ?’बारेकोट गाँउपालिका २ का नरिवान कामीले भने—‘ सरकार हाम्रो समस्या पनि सुनिदेउ । हामी त साह्रै समस्यामा पर्यौ’ । केही हुनेखाने बाहेक यतिवेला बारेकोटका सवै घरमा खाद्य संकट छ । लेकाली र भिरालो जमिन भएकाले अन्न उत्पादन पनि खासै हुँदैन । त्यहाका बासिन्दा सधै खाद्य संस्थानकै चामलमा निर्भर छन् ।
तर खाद्य संस्थानको बारेकोट गाँउपालिकाको नायकवाडा स्थित घाट डिपोमा चामल नहुँदा बारेकोटमा खाद्य संकट देखिएको हो । गाँउमा उत्पादिन अन्न सकिएपछि समस्यामा परेको स्थानिय द्धारीका बुढाले बताए । गाँउमा उत्पादित अन्न सकिएको र खाद्य डिपोमा चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमा ढुवानी नगरेपछि बारेकोटवासी खाद्य संकटको चपेटामा परेको उनले बताए ।
गाँउपालिकामा रहेको नेपाल खाद्य सस्थानको एक मात्र खाद्य डिपो यतिवेला रित्तै छ । साविकको कर्णालीका जुम्ला र डोल्पा सँग सिमाना जोडिएको अत्यान्त दुर्गम गाँउपालिकाको रुपमा रहेको यो गाँउपालिकामा बर्षेनी खाद्य संकट हुने गर्दछ । नेपाल खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मराज बस्नेतले बारेकोटको घाट स्थित खाद्य डिपोमा चामल सकिएको र माग दिनुहँ आईरहेको बताए । उनले ठेकेदारलाई चामल पुरयाउन बारम्बार आग्रह गर्दा पनि नटेरेपछि प्रशासन गुहारेको बताए । प्रशासनको चेतावनी पछि शुक्रवार मात्र ठेकेदारले ५० क्वीन्टल चामल बुझेर लगेका छन् उनले भने ‘तर अझै डिपोमा चामल पुगेको छैन । यस अघि लिएको समेत गरेर एक सय क्वीन्टल चामल बाटोमै छ ।’
फागुन १५ भित्र चामल ढुवानी गर्ने लिखित कागज
चामल ढुवानीको जिम्मा लिएका एन वि विल्डर्सका प्रतिनिधी मानबहादुर खड्कालाई स्थानिय प्रशासनले आगामी फागुन १५ भित्र दुई हजार क्वीन्टल चामल ढुवानी गर्ने लिखित कागज गराएको छ । केही दिन अघि प्रवाह डटकममा बारेकोटमा खाद्यन्न अभाव भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि स्थानिय प्रशासनले ठेकेदारलाई तत्काल चामल ढुवानी नगरे कारवाही गर्ने चेतावनी दिएको थियो । प्रशासनको चेतावनी सप्लायर्सका प्रतिनिधी खड्काले अन्तिम मौका दिन भन्दै कारवाही गर्न अनुरोध गरेपछि लिखित कागज गराईएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । चामल तत्काल ढुवानी गर्ने कि थुनिदिउँ भनेपछि ठेकेदार चामल बोक्न राजी भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।
ठेकेदारले चामल ढुवानी आलटाल गर्नको कारण यस्तो छ ः
सदरमुकाम खलंगाबाट बारेकोट पुग्न दुई दिन लाग्छ । एक दिन गाडीमा र एक दिन पैदल हिडेर त्यहाँ पुगिन्छ । गाडी पुग्ने स्थल फुलचाउली र कालीमाटी सम्म ट्याक्टरमा र त्यसपछि घोडा खच्चड वा मानिसलाई बोकाएर ढुवानी गर्नुपर्छ । यसो गर्दा ठेकेदारलाई धेरै फाईदा हुँदैन । बारेकोट गाँउपालिकामा आगामी बैशाख सम्म गाडी पुग्दैछ । गाडी पुगेपछि ट्याक्टरबाट चामल ढुवानी गर्दा धेरै फाइदा लिने मनसायले ठेकेदारले आलटाल गरेको देखिन्छ प्रमुख जिल्ला अधिकारी पन्तले भने तत्काल ढुवानी नगरे ठेकेदारलाई कारवाही गरेर नयाँ प्रक्रियाबाट भएपनि बारेकोटमा चामल पुरयाउँछौ । जनताले समस्या परेको बेला खाद्यन्न नपाउँने ठेकेदारको अनुकुल गर्न कुनै हालतमा दिईदैन । ठेकेदार कम्पनीले भने आगामी असार भित्र सवै चामल ढुवानी गर्ने सम्झौता भएको दावी गदै आएका छन् । ठेकेदार कम्पनीका प्रतिनिधी खड्काले आफुले असार सम्म ढुवानी गरिसक्नु पर्ने भएपछि डिपोमा चामल सकिएकाले चामल ढुवानी गर्न शुरु गरिरकेको बताए ।
क्याप्सन ः चामल नभएको बारेकोटको घाट स्थित खाद्य डिपो तस्वीर राजेन्द्र कार्की