जातिय छुवाछुत अन्त्यको अभियानमा धामीझाँक्री र पुरोहित

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

जातिय छुवाछुत अन्त्यको अभियानमा धामी, झाँक्री, पण्डीत, पुरोहित र ज्योतिषहरुले अग्रसर हुने भएका छन् । भेरी नगरपालिकाले आगामी जेठ २१ गते जातिय छुवाछुत तथा विभेदमुक्त नगरपालिका घोषणा गर्ने गरि अभियान थालेको छ । उक्त अभियानलाई सफल बनाउन उनीहरु अग्रसरता देखाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नगरपालिकाले संचालन गरेकोे अन्तरक्रिया कार्यक्रममा नगरपालिका भित्रका करीव सय भन्दा बढि धामी, झाँक्री, पण्डीत, पुरोहित र ज्योतिषहरुले हामीले सबैखाले भेदभावको अन्त्य गर्ने र नगरपालिकाले संचालन गरेको जातिय छुवाछुत तथा भेदभाव मुक्त नगरपालिका घोषणा अभियानलाई पूर्ण रुपमा साथ दिनेछौं सपथग्रहण गराईएको छ । केहि बर्ष देखि रुखका पात, हातका चक्र र चामलका अक्षता हेरर ग्रहदशा हदै आएका भेरी नगरपालिका–४ रानागाउँका दलबीर विकले दशाग्रह हेराउन दैनिक आफुसंग आउने दुई सय मान्छेहरुलाई जातिय छुवाछुत तथा विभेद भनेको केही पनि हैन भनेर बिश्वास दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन ।


लामो समय देखि ज्योतिषीको काम गर्दै आएका भेरी नगरपालिका–१३ कुदुका भद्रीलाल आचार्यले आफ्नो जातिषी विद्यालाई जातिय छुवाछुत तथा विभेद बिरुद्ध लगाउने बताएका छन् । जातिय छुवाछुत तथा विभेद बिरुद्धको अभियानमा निरन्तर रुपमा लागिपर्ने उनको भनाइ छ । नगर सरकारले संचालन गरेको अभियानलाई साथ दिन आफ्ना जजमानहरुलाई बिश्वास दिलाउन घरदैलो अभियान संचालन गर्ने भेरी नगरपालिका–१ कालेगाउँका रामप्रसाद शर्माले बताएका छन् ।

जातिय छुवाछुत अन्त्य गर्न नगरपालिकालाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका धामी, झाँक्री, पण्डीत, पुरोहित र ज्योतिषहरुलाई कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथा अन्त्यको अभियानमा समेत लाग्न भेरी नगरपालिका–३ कि गम्बा कुमारी शाहले आग्रह गरिन । छुवाछुत जातिय छुवाछुत मात्र नभएर महिलाहरुको महिनावारी पनि छुवाछुत मान्ने गरेको बताउदै भेरी नगरपालिका–११ का भद्र बहादुर नेपालीले महिनावारीको छुवाछुतलाई पनि अन्त्य गर्नुपर्ने बताए ।

नगरपालिकाले संचालन गरेको जातिय छुवाछुत तथा भेदभाव मुक्त नगरपालिका घोषणा अभियानका हरेक कार्यक्रममा जातिय छुवाछुत तथा भेदभाव बिरुद्ध नगरबासीहरुलाई बिश्वास दिलाउन नगर प्रमुख चन्द्र प्रकास घर्तीले धामी झाँक्री, पण्डीत, पुरोहित र ज्योतिषहरुलाई अनुरोध गरेका छन् । मानव समुदायको पूर्खाले कामको आधारमा जातको विभाजन गरेको बताउदै प्रमुख घर्तीले आज जातिय छुवाछुत र विभेदमा पुगेकाले समृद्ध नगर निर्माणका लागी यसको अन्त्यको आवश्यकता रहेको उनको भनाई छ ।

आफ्नो कर्मबाट समुदायको बिश्वासलाई जित्न सफल भएकोमा गर्व गर्नुको साथै उच्च सम्मान गर्नुपर्ने बताउदै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले धामी, झाँक्री, पण्डीत, पुरोहित र ज्योतिषहरुललाई आगामी दिनमा त्यो कामलाई समाज रुपान्तरणमा लगाउन अनुरोध गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad