राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिकाको विधायन सभाले दुई वटा ऐन, तिन वटा नीति र चार वटा कार्यविधि पास गरेको छ भने नौ वटा कानुन संसोधन गरेको छ । भेरी नगरपालिकाको शुक्रवार देखि संचालन भएको छैटौं नगर सभाले ति ऐन, निती र कार्यविधि पारित गरेको हो ।
प्रस्तावित ऐन, नीति तथा कार्यविधिका मस्यौदाहरुमा दफावार छलफल गरि विधान सभाको दोस्रो दिन सभाले पास गरेको हो । भेरी नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक–२०७६ र आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक–२०७६ सभाबाट पारित भएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । पारित विधेयक राजपत्रमा प्रकाशित भएपछि कानुनको रुपमा लागु हुनेछन् ।
सुशासन नीति–२०७६, पशु तथा मत्स्यपालन नीति–२०७६ र भेरी नगरपालिकाको स्वास्थ्य नीति–२०७६ पनि नगरसभाले पारित गरेको छ । त्यसैगरि विधान सभामा फोहर सरसफाई कार्यविधी–२०७६, एफ.एम. रेडियो संचालन तथा व्यवस्थापन कार्यविधी–२०७६, विपन्न नागरिक सहयोग विशेष कोष स्थापना तथा संचालन व्यवस्थापन कार्यविधी–२०७६, एम्वुलेन्स संचालन कार्यविधी–२०७६ समेत सर्वसहमतिले पारित गरिएको नगरप्रमुख घर्तीले बताए । न्यायिक समिति सम्बन्धि कार्यविधी ऐन–२०७५, स्थानीय स्वास्थ्य सरसफाई ऐन–२०७४, जल उपभोक्ता समितिको नविकरणका लागि जलस्रोत नियमावली–२०७५, उपभोक्ता समितिमा रहने व्यक्तिहरु भु.पु. कर्मचारी तथा पदाधिकारीका विषयमा उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन निर्देशिका–२०७५, एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि–२०७५, युवा उद्यम संचालन कार्यविधि–२०७५, भेरी नगरपालिकाको कृषि कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि–२०७५ र पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धि निर्दे्शिका–२०७५ संसोधन गरेको छ ।
विधान सभाले जाजरकोट ठकुरी समाजको कुलदेवताको मन्दिर सार्ने विषय स्थानको खोजी गरि आवश्यक राय पेश गर्न वडाध्यक्ष खम्बजंग शाहको अध्यक्षतामा वडाध्यक्ष लिलाबहादुर शाह र अर्का वडाध्यक्ष गोपाल बटाला सदस्य रहेको एक समिति निर्माण गरिएको छ । त्यस्तै नगरप्रहरीको स्थापना गर्ने, सदरमुकामका घरहरुको अभिलेखिकरणको म्याद थप गर्ने लगाएतका सार्बजनिक महत्वका बिषयहरुमा महत्वपूर्ण निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए ।