राजेन्द्र कार्की । जाजरकोट
प्रहरीले जाजरकोटको जुनीचाँदे गाउँपालिका–४ लुहादहमा १७ वटा छाउगोठ भत्काएको छ । ईलाका प्रहरी कार्यालय, गर्खाकोटका प्रहरी नायव निरिक्षक तुलबहादुर थापाको नेतृत्वमा गएको प्रहरी टोलीले छाउगोठ भत्काएको हो ।
प्रहरीले स्थानीय नागरिक, राजनैतिक दलका प्रतिनीधि, नागरिक समाज, आमा समुह, बुद्धिजीवि र समाजसेवीको सहयोगमा छाउगोठ भत्काईएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा रहेको छाउपडी प्रथा उन्मुलन संघले यस अघि नै छाउपडी प्रथालाई निरन्तरता दिनेहरुको पहिचान गरि त्यस्ता कृयाकलापमा संलग्ने हुनेलाई सरकारबाट प्रवाह गरिने सेवा सुबिधा (बृद्धाभत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियत कर्ता) तत्काल रोक्का गर्ने निर्णय गरेको थियो ।
छाउपडी प्रथाका साथै भेदभाव तथा अपमाजन व्यवहार विरुद्ध प्रभावित क्षेत्रका समुदायमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत प्रहरीले छाउगोठ हटाउन शुरु गरेको छ । साथै प्रहरीले सरोकारवालालाई छाउपडी प्रथा विरुद्ध हस्ताक्षर अभियान चलाएको छ सम्बन्धित समुदाय र स्थानीयहरुको सहकार्यमा छाउगोठलाई नष्ट गर्ने, महिनावारी भएका महिलाहरुलाई छाउगोठमा जान बाध्य पार्ने व्यक्तिलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरी मार्फत चेतावनी दिईएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए । उनले जिल्लाको अन्य ठाँउमा छाउपडी प्रथा नरहेको बताउँदै लुहादहमा मात्र रहेको र त्यहाँ भएका सवै छाउगोठ भत्काउँदै जाने बताए ।