राजेन्द्र कार्की । जाजरकोट
आगामी जेठ भित्र जाजरकोटका सवै पालिकालाई पुर्णखोपको सुनिश्चितता गरि पूर्णखोप युक्त पालिका घोषणा गरिने भएको छ । जिल्ला पूर्णखोप समन्वय समितिको विहिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लाका सवै वडाहरु पुर्ण खोपयुक्त घोषणा भैसकेका छन् । जेठ मसान्त भित्र नगर तथा गाँउपालिकालाई पुर्णखोप युक्त घोषणा गरेर असार भित्र जाजरकोटलाई पुर्णखोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय भएको खोप समन्वय समितिका अध्यक्ष जिल्ला समन्यव समितिका संयोजक मनबहादुर रावलले बताए । हाल सम्म ५६ जिल्ला पुर्णखोपयुक्त घोषणा भैसकेका छन् । रोगको दरमा कमी ल्याउने, अपाङ्गता हटाउने र बालमृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ सरकारले निशुल्क खोप दिने ब्यवस्था मिलाएको हो ।
१५ महिना मुनीका बालबालिका र गर्भवति महिलालाई विभिन्न ११ प्रकारका सरुवा रोग विरुद्ध खोप लगाउने गरिएको छ । जाजरकोटका २ सय ३० खोप केन्द्रबाट खोप लगाउने ब्यवस्था मिलाईएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए । पूर्णखोप युक्त पालिका घोषणा गर्न १५ महिना मुनीका सवै बालबालिकाले खोप लगाएको हुनु पर्ने र कोही छुटेको भए २३ महिना भित्र खोप लगाएर पुर्णखोपको सुनिश्चितता भएपछि मात्र पूर्णखोपयुक्त पालिका, जिल्ला घोषणा गर्न मिल्ने प्राबधान रहेको निमित्त प्रमुख जैसीले बताए ।
कार्यालयका अनुसार जाजरकोटमा एक बर्ष मुनीका चार हजार ६६ बालबालिका र चार हजार सात सय ९५ गर्भबति महिला रहेका छन् । सवैको साथ र सहयोग रहे निर्धारित समयमा नै पुर्णखोपयुक्त पालिका घोषणा गरि जिल्लालाई नै पुर्णखोपयुक्त घोषणा गर्न सकिने जिल्ला समन्वय प्रमुख रावलको भनाई छ ।
राष्ट्रिय जनसंख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार २८ दिन भित्र प्रति हजारमा बालमृत्युदर २८, एक बर्ष भित्र प्रतिहजार ३२ र ५ बर्ष भित्र बालमृत्युदर ३९ प्रतिहजार रहेको छ । जाजरकोट जिल्लाको तथ्यांक नभएपनि राष्ट्रिय तथ्यांकको दोब्बर हुन सक्ने अनुमान गरिएको छ । नेपालमा ७८ प्रतिशत बालबालिकाले सवै खोप लगाएको, २१ प्रतिशतले पुर्णखोपबाट बञ्चित रहेको र एक प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको तथ्यांक छ । भौगोलिक विकटता, जनचेतनाको कमी, स्वास्थ्यकर्मीको अभाव लगायतका समस्या पुर्णखोप सुनिश्चितताका चुनौतिको रुपमा रहेको निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु सहनीले बताए । उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा हेलचक्रयाई गर्न नहुने बताए । उनले खोप लगाउने बेला महिला स्वयमसेविकाहरु मार्फत सवैलाई खवर गर्नु पर्ने धारणा राखे ।