राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट देखि जुम्ला जोड्ने तीन महत्वपुर्ण सडक निर्माण कार्य अलपत्र परेका छन् । निर्माण थालिएको १२ बर्ष विति सक्दा पनि सडकको ट्रयाक खोल्ने कार्य आधा पनि पुरा हुन सकेको छैन । सरकारको वेवास्ताका कारण पर्याप्त बजेट विनियोजन हुन नसक्दा कामले गति लिन नसकेको हो ।
जाजरकोट खलंगा–पाँचकाटिया–पैक–ब्याउलीढुंगा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष वित्यो । ८० किलोमिटरको जाजरकोट–जुम्ला जोड्ने यो रणनीतिक सडक ४० किलोमिटर पनि ट्रयाक खुल्न सकेको छैन । यो सडकमा हाल सम्म ६० करोड बढी खर्च भैसकेको छ । ९० किलोमिटर लामो जाजरकोट छेडा–चाँदे–जुम्ला सडकको ३५ किमि मात्र निर्माण भएको छ । १२ वर्षअघि काम सुरु भएको उक्त सडकमा ३० करोड रुपैयाँ खर्च भइसकेको छ । यो सडकको कामको गति पनि सुस्त छ । त्यस्तै, एक सय ४० किमि लम्बाइको जाजरकोट–बारेकोट–चाखुरे–जुम्ला सडकको काम ३० किलोमिटर मात्र ट्रयाक खुलेको छ । २० करोड रुपैयाँ खर्च भइसकेको सो सडकको निर्माण ठप्प छ ।
जाजरकोट–जुम्ला जोड्ने यी तीनवटा रणनीतिक सडकको निर्माण सुस्त छ । उक्त मार्गको पूरा ट्रयाक खोल्न सम्बन्धित निकायले बेवास्ता गर्दै आएका छन् । बजेट अभाव र सम्बन्धित निकायको लापरबाहीले निर्माण ढिलो भएको हो । यी सडक बन्ने वित्तिकै जाजरकोट जुम्लाको ब्यापारिक सम्बन्ध त बढ्ने छ नै । नेपालगञ्ज पुग्न सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) भन्दा यी सडक छोटो दुरीका हुनेछन् । यी सडक ५० देखी सय किलोमिटर बाटो छोटो हुनेछ ।
जुम्ला जोड्ने रणनीतिक मार्गहरू प्रदेश सरकार मातहतमा आएकाले निर्माणमा अन्योल देखिएको सडक डिभिजन चौरजहारीका इन्जिनियर कुशल भुषालले बताए । संघिय सरकारले निर्माण गरिरहेका यी सडकको बाँकी कार्य प्रदेश सरकार मातहतका कार्यालयले हेर्ने निर्णय भएको उनको भनाइ छ ।
चालु आवमा रणनीतिक सडकको बजेट हाल सम्म प्राप्त नभएको उनले जानकारी दिए । डिभिजन कार्यालयलाई तीन सम्भावित रणनीतिक मार्ग र २८ क्षेत्रीय तथा सहरी सडक निर्माणको जिम्मा थियो । संघीय संरचनासँगै केही सडक प्रदेश र केही स्थानीय तहअन्तर्गत सारिएको छ, जसले निर्माण सुस्त भएको हो । कुनै सडकमा मनोमानीे सर्भे तथा रेखांकन, कुनैमा कडा चट्टान कटिङ नगर्दा र कुनैमा नाली, तारजाली–वाल, ढल निकास र ग्राभेल लगायत स्तरोन्नति नहुँदा अलपत्र परेका हुन । कर्णाली प्रदेश सरकारले पनि उक्त सडक निर्माणका लागि हालसम्म पहल गरेको छैन ।
रणनीतिक मार्ग चौडा बनाउने, नाली, तारजाली–वाल, ढल निकास र ग्राभेल लगायत स्तरोन्नति गर्ने कार्य शुरु नै गरिएको छैन । ट्रयाक खोल्ने कार्य नै अलपत्र हुँदा बषौ देखि मोटरबाटो चढ्ने सपना बुनेका स्थानिय चिन्तित भएको कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनले स्थानिय सरकारले अन्तरजिल्ला जोड्ने सडक बनाउन नसक्ने तर प्रदेश र संघिय सरकारले वेवास्ता गर्दा रणनैतिक सडक अलपत्र परेको बताए ।
जुम्ला जोड्ने तीनवटै रणनीतिक सडकको ग्रेडिङ तथा घुम्तीको ‘स्पेस’ नमिलेको र विभिन्न खोलामा पुल हाल्न ढिलाइ भएको जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानी प्रसाद शर्माले बताए । ट्रयाक खोल्नै करोडौं खर्च भएका यी सडकमा यातायातका साधन नगुड्दा लगानी खेर गएको उनको भनाइ छ । ‘बस त परको कुरा, ट्रयाक्टर र जीपसमेत गुड्न सक्दैनन,’ शर्माले भने । पाँचकाटीया–जुम्ला सडकको साँघुरो चौडाइ, नाली तथा ग्याबिङ अभाव, अफ्ठयारो रेखांकन र छोटा घुम्तीलगायत कारणले यातायात सञ्चालन हुन सकेको छैन । यस सडक खण्डको गारराङ्सीदेखि नाउलीसम्मको रेखांकन गाडी चढ्नै नसक्ने गरी भएको शर्माको भनाइ छ । तीन किलोमिटरको उक्त खण्डमा १२ घुम्ती भएको उनी बताउँछन् । ‘ती घुम्तीमा मोटरसाइकलकै मोड पुग्दैन,’ उनले भने, ‘खलंगा पाँचकाटीया सडकको राङ्सी खण्डमा रेखाकंन परिवर्तन गर्ने निर्णय भएको ९ वर्ष बितिसक्यो । तर, सम्बन्धित निकायले टेरपुच्छर लगाएका छैनन् ।
उनका अनुसार करोडौं लगानी गरेको सडकको उक्त खण्डमा रेखाकंन परिवर्तन नगरे यातायात सञ्चालनको सम्भावना छैन । उचित रेखांकन विनै करोडौं बजेट खन्याएर सडक निर्माण अलपत्र पार्ने प्रवृत्ति देखिएको शर्मा बताउँछन् ।