राजेन्द्र कार्की । जाजरकोट
चार बर्ष अघि १५ शैयाको जिल्ला अस्पतालको स्तरोन्नती गरेर ५० शैया बनाईएको जाजरकोट अस्पतालमा हाल सम्म विशेषज्ञ सेवा शुरु हुन सकेको छैन । ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा हाल १९ जना मात्र कार्यरत छन् । ४६ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएपछि अस्पतालको सेवा अस्तब्यवस्त भएको छ । अस्पताल स्वास्थ्यकर्मी विहिन हुँदै गएको छ । अस्पतालको स्तरोन्नती भई सात वटा विशेषज्ञ दरबन्दीको ब्यवस्था गरिएकै चार बर्ष विते पनि जिल्लावासीले विशेषज्ञ सेवा पाउन सकिरहेका छैनन् ।
हाल करारका केही छात्रबृत्ति कोटाका चिकित्सकको भरमा संचालन भैरहेको जाजरकोट अस्पतालको अनुगमण गर्न आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री नवराज रावतलाई जिल्लावासीले आक्रोश पोखेका छन् । नेकपाका जिल्ला अध्यक्ष ढकवीर रानाले जाजरकोट अस्पतालको अवस्था निकै नाजुक रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए । सामान्य उपचारका लागी पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता छ । ‘मन्त्री ज्यु हामीले कहिले सम्म पाउँछौ विशेषज्ञ सेवा ?’ उनले भने —‘अस्पताललमा पुर्वाधार छैन, उपकरण र स्वास्थ्यकर्मी छैनन् । ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा १९ जना मात्र कार्यरत छन् । यस्तो अवस्थामा सेवा प्रवाह कसरी भैरहेको होला आफै विचार गर्नुहोस त ?’
अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जति पहल गरेपनि अस्पतालको अवस्थामा सुधार गर्न नसकिएको बताईन । उनले हामीले पुर्वाधार र जनशक्ति ब्यवस्थापनका लागी सम्बन्धित निकायमा पहल गरेपनि सुनुवाई नभएको गुनासो गरिन । ‘भएका स्वास्थ्यकर्मी सरुवा भएर जाने तर नपठाउँदा अस्पतालको अवस्था झन्झन् नाजुक बनिरहेको छ । सेवा प्रवाहको अवस्था खस्किरहेको छ , यस तर्फ मन्त्री ज्युको ध्यानाकर्षण गराउँछ’ु,उनले भनिन ‘अस्पतालको पुर्वाधार विकास र जनशक्तिको आपुर्तीको लागी बारम्बार पहल गरेपनि सुनुवाई हुन सकेको छैन ।’ उनले राज्यमन्त्री रावतलाई अस्पतालका समस्या र सुझाव बारे लिखित रुपमा ध्यानाकर्षण गराएकी थिईन ।
अस्पतालमा कार्यरत अति न्युन संख्याका स्वास्थ्यकर्मीहरु पनि उपकरण पुर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य चेकजाँच गरेर औषधी दिने र रेफर गर्ने बाहेक अन्य सेवा प्रवाह हुन नसकेको स्थानियको गुनासो छ ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अतिरिक्त काम गरेको पारिश्रमिक दुई बर्ष देखि पाउन नसकेको, ठुलो संख्यामा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेको, आवश्यक उपकरण र पूर्वाधारको अभाव रहेको बताउँदै समस्या समाधानका लागी राज्यमन्त्री सँग अनुरोध गरे ।
सुरुमा संघीय सरकार र अहिले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा आएको यो अस्पतालमा सवै प्रमुख पदहरु, जरुरी प्राविधिक पदहरु खाली नै रहेको कार्यालय प्रमुख जैसीले बताए । हाल जाजरकोट अस्पतालमा स्वास्थ्य सेवा ब्यवस्थापक, बालरोग, स्त्रीरोग, वेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात जना विशेषज्ञ, तीन जना मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ । त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त रहेका छन् । स्टाफ नर्स ८ मध्य ७ रिक्त छन् । पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याव असिष्टेन्ट, र अहेव तीन जनाको दरबन्दीमा तीनै जना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीले बताए । उनले दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक, स्वास्थ्कर्मी, औषधी, उपकरण र पुर्वाधार अभावमा सेवा प्रवाहमा समस्या भएकोले समाधानका लागी राज्यमन्त्री रावतलाई आग्रह गरेका छन् ।
राज्यमन्त्री रावतले देशभरका धेरै अस्पतालको अनुगण गर्दा जाजरकोटको जस्तो नाजुक अवस्था कँही नदेखेको बताए । उनले अस्पतालका सत प्रतिशत समस्या समाधान गर्न नसकेपनि जनशक्ति, उपकरण र पूर्वाधार विकासमा छिटै केही काम हुने आश्वासन दिए । उनले स्वास्थ्य मन्त्रालय नै रोगी रहेको बताउँदै आफुहरुले मन्त्रालयलाई स्वस्थ बनाउन लागी परेको दावी गरे । समस्या पहिचान गरि निति र विधिका आधारमा स्वास्थ्य क्षेत्रका समस्या समाधान गरिने उनको भनाई छ । उनले सवै स्थानिय तहमा डाक्टरको दरबन्दी सहितको अस्पताल बनाउने तयारी भैरहेको बताए । जिल्ला अस्पतालको पुर्वाधारको अवस्था, जनशक्तिको अवस्था र उपकरणको वारेमा उनले अनुगमण गरेका छन् ।
स्वास्थ्य राज्यमन्त्रीलाई जाजरकोटवासीको प्रश्न ः मन्त्री ज्यु हामीले कहिले पाउँछौ विशेषज्ञ सेवा ?
