हराएको सात बर्ष पछि भेटिईन युवती

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

घरबाटै हराएकी जिल्लाको बारेकोट गाउँपालिका–५ करुकाकी एक युवती सात बर्ष पछि भेटिएकी छन् । हराएका महिलाहरुको संरक्षण घर नामक एक सामाजिक संस्थाको पहलमा भारतको नयाँ दिल्लीबाट २७ बर्षिय कल्पना थापाको उद्धार गरेर जाजरकोट पुर्याएको हो ।
तमाना शिष्टर अफ च्यारेटी (हराएका महिलाहरुको संरक्षण घर) मा कार्यरत मन्जुसाको टीमले कल्पनालाई भारतको नयाँ दिल्लीबाट जाजरकोट सदरमुकाम खलंगा पुरयाएर मंगलवार कल्पनाका दाई महेन्द्र थापालाई बुझाएको हो । बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमाकुमारी शाही, स्थानिय प्रशासन, पत्रकार र अधिकारकर्मीको रोहवरमा उनलाई आफन्तको जिम्मा लगाईएको होे ।

तीन बर्ष पहिला (सन् २०१७ मे १५ तारिखमा) नयाँ दिल्लीको गुरागाउँ स्थित एक अस्पतालमा भारतको प्रहरीले कल्पनालाई फेला पारेको मन्जुसाले बताईन् । भारतिय प्रहरीले कल्पनालाई ताउड देविल बृद्धाश्रमलाई बुझाएको जानकारी दिदै मन्जुसाले कल्पना फेला परेको एक बर्षपछि आफु कार्यरत हराएका महिलाहरुको संरक्षण घरमा कानुनी हिसाबले आई पुगेको बताईन् । मानसिक समस्या देखिएपछि कल्पनालाई आफुहरुले एक बर्ष भन्दा बढि समयसम्म उपचार गराएको र अहिले उनी सामान्य अवस्थामा रहेक मन्जुसाको भनाई छ । उनले भनिन्–‘कल्पनाले घरमा रहेकी आमालाई स्मरण गरेर नेपाल फर्किने ईच्छा व्यक्त गरेपछि उनलाई नेपाल फर्काउन कारितास नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका व्यवस्थापक जनक शर्मा मार्फत यहाँ सम्म आईपुगेका हौ ।’

सात बर्ष पहिला कल्पना घरबाट हराएको तर जताततै खोजी गर्दा पनि फेला नपारेको दाई महेन्द्रले बताए । पहिले पनि मानसिक रुपमा स्वस्थ नभएकी कल्पनालाई कसैको लहलहैमा लागेर भारत पुरयाएको हुन सक्ने उनको भनाई छ ।
कल्पनाको थप उपचारका लागि चाहिने रकमको व्यवस्था गाउँपालिकाले गर्ने उपाध्यक्ष शाहीले बताईन् । सात बर्ष देखि हराएकी कल्पनालाई आफ्नै गाउँघरमा पुर्नस्थापना गर्न सहयोग गर्ने सवैलाई उपाध्यक्ष शाहीले, नेकपाका जिल्ला अध्यक्ष ढकविर राना, रेडक्रसका उपसभापति खम्बजंग शाह लगायतले धन्यवाद दिएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad