प्रवाह संवाददाता, कोहलपुर : बालिकालाई ट्रकले किचेपछि बाँकेको कोहलपुरमा उत्पन्न तनाव अझै साम्य भएको छैन। भीड नियन्त्रण गर्न प्रहरीले चलाएको ‘रबर बुलेट’ लागेर १२ भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले सयौं राउन्ड रबर बुलेट, हवाई फायर र अश्रुग्यासको सेल प्रहार गरेको छ।
२५ जना घाइते उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गएका थिए। आइतबार साँझसम्म घाइतेमध्ये ६ जनालाई ललितपुरको बीएन्डबी अस्पतालमा रिफर गरिएको छ।
कोहलपुरको त्रिभुवन माविमा कक्षा ७ मा पढ्ने १२ वर्षीया प्रकृति चन्द बुवासँग स्कुटरमा आइन्। स्कुलनजिक झरेर हिँड्नासाथ ट्रकले उनलाई किच्यो। लछारेर अलि परसम्म पुर्याइएकी उनका दुवै खुट्टा वीभत्स ढंगले किचिएका छन्।
स्कुल आउने विद्यार्थीको घुइँचो बढ्दै थियो। त्यो घटना देखेर उनका सहपाठी र साथीहरू आक्रोशित भए। तिनले प्रकृतिलाई किच्ने ना.२ख ९४५९ नम्बरको ट्रकमा तत्कालै आगो लगाए।
विद्यार्थी प्रदर्शन अनियन्त्रित हुँदै गयो। त्यही क्रममा प्रहरी त्रिभुवन माविमा छिर्यो र एक शिक्षक र विद्यार्थीलाई पक्रिएर निस्कियो। त्यसबाट विद्यार्थी झन् आक्रोशित बने। प्रहरीमाथि ढुंगामुढा सुरु गरे। प्रतिवादमा प्रहरीले अ श्रुग्यास र रबरका गोली प्रहार गर्यो।
गम्भीर घाइते चन्दलाई दिउँसो सवा ३ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको बीएन्डबी अस्पतालमा पठाइएको थियो। ‘गाडीले कुल्चिएकी चन्दका दुवै खुट्टामा क्षति पुगेको छ। उनको शरीरमा २ प्वाइन्ट हेमोग्लोबिन मात्र थियो’, नेपालगन्जमा उपचारमा संलग्न डा. देवेन्द्र आचार्यले भने, ‘गम्भीर अवस्थामा रहेका कारण उनलाई बीएन्डबीमा रिफर गरेका हौं।’
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सञ्जीव पन्तका अनुसार प्रहरीको रबर बुलेट लागेर १४ जना घाइते भएका छन्। तीमध्ये नारायण खत्री, श्रीकान्त भुसाल, महेश आचार्य, माधव पुलासी र ललिता बडुवाललाई साँझ सेनाको हेलिकप्टरबाट राजधानी पठाइएको छ।
भुसाल र खत्रीको अवस्था गम्भीर रहेको डा. आचार्यले बताए। ‘प्रहरीको रबर बुलेट लागेर नारायण खत्रीको अण्डकोष फुटेको छ। श्रीकान्त भुसालको कम्मरमुनि दुई ठाउँमा गोली लागेको छ’, उनले भने, ‘उनीहरू दुवैलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।’
झडपमा घाइते इलाका प्रहरी कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित १० जना प्रहरी शिक्षण अस्पतालमा उपचार गर्न गएको अस्पताल प्रशासनले जनाएको छ। बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीले भने ४० जनाभन्दा बढी प्रहरी घाइते भएको दाबी गरे।
प्रदर्शनका क्रममा विद्यार्थीले दर्जनौं निजी, भाडाका सवारी साधन तोडफोड गरे। उनीहरूले नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स पनि तोडफोड गरे। घरमा लागेको आगो निभाउन गइरहेको कोहलपुर नगरपालिकाको दमकललाई पनि प्रदर्शनकारीले केही बेर रोकेका थिए। आन्दोलनकारीले इलाका प्रहरी कोहलपुरको क्यान्टिनमा आगजनी गरे। त्यस क्रममा क्यान्टिनमा रहेका दुई वर्षीय बालक घाइते भएका छन्।
कफ्र्युले पनि रोकेन प्रदर्शन
भीड अनियन्त्रित भएपछि दिउँसो कोहलपुरमा बसेको जिल्ला सुरक्षा समिति बैठकले ३ बजेदेखि कफ्र्यु लगाउने निर्णय गरेको थियो। दक्षिणमा पिपरी चोक, उत्तरमा कोहलपुर चौराहाबाट ५ सय मिटरमा नौबस्ता जाने बाटो, पूर्वमा चप्परगौडी र पश्चिममा किरण नालासम्मको चार किल्लामा कफ्र्यु आदेश जारी गरिएको हो। प्रहरीले २ बजेर ५२ मिनेट जाँदा कोहलपुर क्षेत्रमा कफ्र्यु आदेशको माइकिङ गरेको थियो। तर, प्रदर्शनकारी पछि हटेनन्।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन कफ्र्यु लगाउनुपरेको जानकारी दिए। प्रहरीले इलाका प्रहरी कार्यालय अगाडि ३ बजेदेखि कफ्र्यु लागेको माइकिङ गरेको थियो। कफ्र्यु लगाएर भीड नियन्त्रण नभएपछि भने सुरक्षा निकायले निषेधित क्षेत्र घोषणा गरेको बताएका छन्। अबेरसम्म कोहलपुरमै सर्वदलीय बैठक बसिरहेको थियो। ‘आवश्यक पर्यो भने गोली हान्ने आदेश प्रहरीलाई दिने गरी हामी कफ्र्यु लगाउन सक्छौं’, बाँके प्रहरी प्रमुख ओलीले भने।
कोहलपुरमा ट्रकले किचेर घाइते भएकी १२ वर्षीया प्रकृति चन्दलाई उपचारका लागि काठमाडौं लगिँदै। उनी त्रिभुवन माविको कक्षा ७ मा पढ्छिन्।