निर्धारित समय भन्दा पाँच महिना अगाबै काम सम्पन्न
राजेन्द्र कार्की । जाजरकोट
कामको जिम्मा लिने तर समयमा नसकेर अलपत्र पार्ने गर्न थालेपछि धेरैजसो निर्माण ब्यवसायीको देशभर आलोचना हुन थालेको छ । ठेकेदारलाई ‘ठकदार’ को उपमा दिन थालिएको छ । समयमा काम सम्पन्न नगर्ने निर्माण ब्यवसायीका तस्वीर सार्वजनिक ठाँउमा टाँसिन थालिएको छ ।
यस्तो आलोचना भैरहेका बेला जाजरकोटमा एक जना यस्ता निर्माण ब्यवसायी पनि छन जसले काम सक्ने निर्धारित समय भन्दा पाँच महिना अगाबै काम सम्पन्न गरिदिएका छन् । भौगोलिक विकटताका बावजुत पनि बारेकोट गाँउपालिकाको भब्य प्रशासनिक भवन निर्धारित समय अगावै सकेपछि निर्माण ब्यवसायी लोकबहादुर सिंहको प्रसंसा गर्न थालिएको छ ।
बारेकोट गाँउपालिका वडा नम्बर २ लिम्सामा सुविधा सम्पन्न सभा हल सहितको १५ कोठे भवन हालै निर्माण सम्पन्न भएको हो । निशान निर्माण सेवा एण्ड सप्लायर्स बारेकोट ५ का प्रोपराईटर सिहले उक्त भवन निर्माणको जिम्मा २०७५ असोज २५ मा लिएका थिए । गत बर्ष मंसिर १६ गते काम शुरु गरेका उनले एक बर्ष भित्रै सो भवन निर्माण सम्पन्न गरेका हुन् ।
एक करोड ४५ लाख २६ हजार नौ सय ७५ रुपैयाको ( भ्याट बाहेक ) लागतमा भवन बनेको हो । आगामी चैत्र २५ मा सम्पन्न गर्ने गरि सम्झौता गरिएपनि उक्त भवन पाँच महिना अघि नै सम्पन्न गरेर निर्माण ब्यवसायी सिंहले उदाहरणीय काम गरेको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । ‘यातायात सेवा पुग्न नसकेको बारेकोटमा समयमै भवन बन्दैन कि भनेर हामी चिन्तित थियौ तर निर्माण ब्यवसायीको इच्छाशक्ति भयो भने सवै कुरा सम्भव हुँदो रहेछ’ अध्यक्ष शाहले भने–‘भवन गुणस्तरीय पनि छ र समयमै बन्यो हामी निकै खुसी छौ । भवन नमुना बनेको छ । केही समय भित्र यही भवनबाटै गाँउपालिकाको प्रशासनिक कार्य प्रारम्भ गछौ ।’
आफ्नै गाँउपालिकाको काम समयमै गर्नु पर्छ भन्ने सोचका साथ योजना बनाएर काम गरे । यातायात सेवा नपुगेपनि घोडा खच्चडमै भएपनि निर्माण सामग्री ढुवानी गरेर ल्याएर काम गरेको निर्माण ब्यवसायी सिहले बताए । ‘निर्धारित समय अगाबै काम गरेको भन्दै सवैले प्रशंसा गर्दा र धन्यवाद दिदा निकै खुसी लाग्छ’ उनले भने ‘मेरो कमाई भनेकै मेरो काम देखेर सवैबाट पाएको माया र विश्वास हो । यसमा मलाई गर्व छ । ’ यातायातका साधन भेटाउन निर्माण स्थलबाट एक दिन पैदल हिड्नु पर्छ ।
समय अगाबै काम सम्पन्न गरे १० प्रतिशत सम्म बोनस दिन सकिने भन्ने सार्वजनिक खरीद ऐनमा उल्लेख गरिएको छ । बोनस रकम दिने बारे कुनै प्रतिक्रिया दिन नचाहेका गाँउपालिका अध्यक्ष शाहले निर्माण ब्यवसायी सिंहको कामको उच्च मुल्यांकन गरिएको बताउँदै आगामी गाँउ सभामा सम्मान गर्ने बताए ।