प्ररवाह सम्वाददाता । पोखरामा शनिबार चार ठाउँमा पाँचओटा बम विस्फोट भएको छ ।
उपनिर्वाचनअन्तर्गत् मतदान भइरहँदा मतदान स्थलनजिक विस्फोट भएको हो ।
कास्की निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचनलाई लक्षित गरी विस्फोट गराइएको हो ।
पोखरा महानगरपालिका–९, नयाँबजारस्थित नवप्रभात मावि, पोखरा–१६, अर्मलास्थित शान्ति मावि, पोखरा–१६ कै बाटुलेचौरस्थित चन्डिका आधारभूत प्रावि र पोखरा–३३, भरतपोखरीस्थित सरस्वती टीका मावि मतदान केन्द्रनजिक बम विस्फोट भएको हो ।
शान्ति मावि मतदान केन्द्रनजिक शनिबार दिउँसो फरक समयमा दुईओटा बम विस्फोट भएको थियो ।
विस्फोटबाट नवप्रभात माविको पर्खालमा क्षति पुगेको छ । यहाँ शनिबार बिहान मतदान सुरु भएलगत्तै मतदानस्थल परिसरमै विस्फोट भएको थियो । विस्फोटपछि करिब २० मिनेट मतदान रोकिएको थियो ।
अरु मतदान केन्द्रमा विस्फोटबाट असर पुगेको छैन । विस्फोटबाट अरु मानवीय र भौतिक कुनै क्षति नभएको जनाइएको छ ।
त्यसबाहेक अन्यत्र अवस्था सामान्य रहेको र शान्तिपूर्णरुपमा मतदान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बम कसले विस्फोट गराएको भन्ने खुलेको छैन ।