राजेन्द्र कार्की । जाजरकोट
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य निरज आचार्य र कर्णाली प्रदेस समितिका सदस्य डम्वरवहादुर सिंहले आफुहरु माथि नेकपा विप्लब समुह द्धारा गरिएको साँघातिक हमलाको घोर भत्र्सना एवं निन्दा गरेका छन् । विहिवार प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले उक्त घटनाको भत्र्सना गरेका हुन् । नेकपा विप्लबका कार्यकर्ताले गत बुधवार पार्टीको कामको सिलसिलामा बारेकोट जाने क्रममा सोही गाउँपालिका वडा नम्वर ८ लैखम नजिकैको भीरमा विप्लवका कार्याकर्ताले नेता द्धयलाई कुटपिट गरेका थिए ।
केन्द्रिय सदस्य आचार्यले आफुहरु माथि गरिएको आक्रमणको निन्दा एवं भत्र्सना गरे । गौडा कुरेर आक्रमण गर्ने कुरा कुनै पनि पार्टीका लागी सह्य हुने कुरा होईन । आईन्दा यस्ता घटना नदोहरयाउन आग्रह गदै नेता आचार्यले भने –‘यो घटना अन्तिम होस । यसै पत्रकार सम्मलेलन मार्फत अपील गर्दछु । यस्तै गतिविधि कायमै रहे प्रतिवाद पनि हुन्छ मुकाविला पनि हुन्छ । विप्लब नेकपा पार्टीलाई प्रतिवन्ध लगाएको नभई उनीहरुका अराजक र अपराधिक गतिविधि माथि प्रतिवन्ध लगाईएको हो । हामी अहिले पनि संवाद मार्फत कुनै पनि कुराको समाधान खोजौ भन्ने पक्षमा छौ ।’ उनले आफुहरु माथि आक्रमण गर्ने माथि ब्यक्तिगत रुपमा मुद्धा नलगाउने बताउँदै कारवाहीको जिम्मा राज्यको भएको बताए । आक्रमण एकदमै गैरराजनैतिक र अमानवीय भएको भन्दै नेता आचार्यले सदरमुकाम फर्केपछि मात्र विप्लव नेतृत्वको नेकपाले जिम्मा लिएको थाह पाउँदा आश्चार्य लागेको बताए ।
त्यस्तै प्रदेश कमिटी सदस्य सिंहले कतै काम नलागेका कतै ठाँउ नपाएका राजनैतिक संस्कार नभएकाहरुलाई पार्टीमा जिम्मा दिएर नेत्रविक्रम चन्द विप्लवले ठुलो गल्ती गरिरहेको बताए । उनले आक्रमणको भत्र्सना गदै आफुहरुको स्वास्थ्य बारे चासो र चिन्ता ब्यक्त गर्ने, स्वास्थ्य लाभको कामना गर्ने पार्टी कमिटी, आम कार्यकर्ता र शुभचिन्तकलाई धन्यवाद दिए । नेता द्धयलाई विप्लव कार्यकर्ताले लठ्ठीले कुटेका थिए ।
पत्रकार सम्मेलनमा उपस्थित अन्य महानुभावले पनि घटनाको निन्दा गरेका छन् । कर्णाली प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहले घटनाको जति भत्र्सना एवं निन्दा गरेपनि कमै हुने बताए । ‘सुरक्षाको जिम्मा राज्यको हो । स्थानिय प्रशासन, प्रदेश सरकार र केन्द्र सरकारलाई सुरक्षाको भरपर्दो ब्यवस्था गर्न माग गर्दछु’उनले भने । पत्रकार महाँसंघका जिल्ला अध्यक्ष भीमबहादुर सिंहले घटनाको भत्र्सना एवं निन्दा गदै घाईते नेता द्धयको सिघ्र स्वास्थ्य लाभको कामना गरे । उनले अराजक गतिविधी क्षम्य नहुने बताउँदै यस्ता गतिविधि रोक्न प्रहरी प्रशासनलाई आग्रह गरे ।
आक्रमणको विरोधमा नेकपाको जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रिय कमिटीले छुट्टाछुट्टै विज्ञप्ती निकालेर घटनाको निन्दा एवं भत्र्सना गरेका छन् । विप्लव नेतृत्वको नेकपा जाजरकोटका ईन्चार्ज प्रेमप्रकाश वली धमिलले आफ्नो पार्टीलाई प्रतिवन्ध लगाएको र दाङ्गमा हालै २१ जना कार्यकर्ता गिरफ्तारीको विरोधमा सत्तारुद्ध दललाई गाँउ जान रोक लगाईएको बताउँदै गाँउ जान नदिन उक्त घटना भएको स्वीकार गरेका छन् ।