राजेन्द्र कार्की । जाजरकोट
जिल्लाको कुशे गाँउपालिका ९ पैकका केशवप्रसाद शर्मा मजदुरी गर्नका लागी नौ महिना अघि भारत गएका थिए । दशैं मान्नकै लागी फर्केर जिल्ला सदरमुकाम खलंगा सम्म आईपुगेका छन् । तर उनको गाँउ सम्म पुग्न गाडी नपाउँदा उनी सदरमुकामै अलपत्र परेका छन् । गाडी पाउनै मुस्किल छ कसरी घर जाने उनले चिन्ता प्रकट गदै भने ।
विहिवार सदरमुकाम आईपुगेका उनी शुक्रवार दिउसो सम्म पनि गाडी नपाएर अलपत्र अवस्थामा थिए । खलंगा–पाँचकाटिया मोटरबाटो हुँदै उनको घर पुग्न केही दुरी पैदल सहित एक दिन लाग्छ । तर पुरै बाटो पैदलै हिडे दुई दिन लाग्छ । उक्त बाटोमा चार वटा साना जीप मात्र चल्छन् । चार जना मानिस बस्न मिल्ने गाडीले २० किलोमिटरको दुरीमा आठ हजार रुपैया भाडा लिन्छ । हुनेले जीप रिजर्भ गरेर जान्छन् । हिड्न सक्नेहरु पैदलै पनि हिड्छन् तर महँगो भाडा तिर्न नसक्ने र अशक्तहरुलाई साह्रै समस्या भएको स्थानियको भनाई छ ।
गाडी नपाएर सदरमुकाम खलंगामा अलपत्र परेका यात्रुहरु तस्वीर राजेन्द्र कार्की
सोही ठाँउका रमेश खड्का पनि गाडीको खोजीमै सदरमुकाम स्थित गैरीखालीमा भेटिए । उनी पनि कालापार ( भारत ) बाट दशै मान्न घर फर्कदै छन् । बरु सदरमुकाम सम्म आउन समस्या भएन । गाँउ जाने गाडी पाईदैनन् कसरी जाने उनले चिन्ता प्रकट गदै भने गाँउमा मोटर पुगेर के गर्नु चाहिएको बेला चढ्न पाईदैन । मोटर बाटो उनीहरुकै गाँउ पैक सम्म पुगेको छ तर बर्षातले भत्काएको बाटो मर्मत नहुँदा आधा दुरी पाँचकाटिया सम्म मात्र जीप चल्ने गर्दछन् । बाटो एकदमै साँघुरो र जोखिमपुर्ण छ । सवै गाडी चढ्न सक्दैनन् । त्यही भएर गाँडीको समस्या भएको यातायात ब्यवसायी प्रमोद शाहले बताए ।
सवारीसाधन सीमित हुँदा यात्रुलाई घर आउन भने निकै सास्ती हुने गरेको छ । दशै नजिकिए सँगै जाजरकोट जिल्ला प्रहरी कार्यायलका डीएसपी श्यामबहादुर खत्रीले सदरमुकाम खलंगादेखि जिल्लाका बिभिन्न ठाउँमा जाने यात्रुको संख्या पनि ह्वात्तै बढेको बताए ।
सदरमुकामको शान्तिचौतारा, गैरखाली र थाप्लेचौरमा गाडी पर्खने यात्रुको भीड देखिन्छ । यात्रुहरू छिटो घर फर्कनको लागि महँगो भाडा तिर्नसमेत बाध्य छन् । कशुे ६ का खम्बप्रसाद सिंहले रिजर्भ गर्न खोज्दासमेत गाडी नपाइने गरेको बताए । २० किलोमिटर दुरीको सडकमा ५ सय भाडा तिर्दासमेत गाडी नभेटिएको उनले गुनासो पोखे । 
सदरमुकाम खलंगा देखि ढिमे, पैक, अर्छानी, टालेगाँउ, रामीडाँडा, रोकायगाँउ, नायकवाडा लगायतका गाउँसम्म पुग्न २÷३ दिन पैदल हिँड्नुपर्छ । दसैंका लागि चाहिने चामल, चिनी, तेललगायत सामाग्री लैजान पनि समस्या हुने गरेको छ ।
ग्रामीण सडक व्यवस्थित गर्न नसक्दा बर्षे्नि वर्षातपछि स्थानीय बासिन्दाले आवतजावतमा निकै सास्ती व्यहोर्नुपरेको स्थानियको गुनासो छ । जाजरकोट आउने यात्रुवाहक बस कम हुँदा नेपालगन्ज, सुर्खेत, काठमाडौंलगायत ठाउँबाट फर्किनेलाई उत्तिकै सास्ती छ । बसको टिकट नपाउँदा भनेको बेला फर्किन सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ ।


