प्रवाह संवाददाता । जाजरकोट
जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुले हिन्दुहरुको महान चाडले समृद्ध नेपाल– सुखी नेपाली बन्न प्रेरणा देओस भन्ने कामना गरेका छन् । भेरी नगरपालिकाले हिन्दु नेपालीहरुको महान् चाड विजयादशमी, शुभ–दिपावली, छट् तथा लोसार र नेपाल सम्बत् को अबसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेताहरुले नागरिकको समृद्धिको कामना गरे ।
सरकारले “समृद्ध नेपाल–सुखी नेपाली” को नारालाई राष्ट्रिय अभियानका रुपमा संचालन गरेको बताउदै राष्ट्रिय सभा सदस्य भैरब सुन्दर श्रेष्ठले हामी नेपालीहरुका विभिन्न चाडपर्वहरुले समृद्ध नेपाल र सुखी नेपाली बन्न बनाउन सवैमा प्रेरणा प्रदान गरोस भन्ने शुभकामना व्यक्त गरेका छन् । अहिलेको कम्युनिष्ट सरकारले जनहितमा काम गरिरहेको बताउदै राष्ट्रिय सभा सदस्य श्रेष्ठले सरकारले अगाडी सारेका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्न सबैले साथ दिनुपर्ने धारणा राखेका छन् ।
“समृद्ध नेपाल–सुखी नेपाली” राष्ट्रिय अभियानलाई पुरा गर्न नेपाल सरकारले व्यक्तिगत घटना दर्ता, नेपाल भ्रमण बर्ष–२०२० लगाएतका थुप्रै राष्ट्रिय अभियानहरु संचालन गरिरहेको कर्णाली प्रदेश सभा सदस्य गणेश प्रसाद सिंहले बताए । उनले दशै, तिहार, छट तथा लोसार जस्ता पर्वहरुले सरकारले संचालन गरेका राष्ट्रिय अभियानलाई पुरा गर्नसक्ने सबैमा तागत पैदा होस भन्ने शुभकामना व्यक्त गरेका छन् । जनतामा रहेको गरिबी र बेरोजगारीलाई हटाउन नेपाल सरकारले प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रम संचालन गरिरहेको उनको भनाई छ । कर्णाली प्रदेश सरकारले पनि यसबर्ष देखि मुख्यमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याएको उनले जानकारी दिए । यी कार्यक्रमले सुखी नेपाली र समृद्ध नेपाल बनाउन सहयोग पुग्ने उनको भनाई छ ।
कर्णाली प्रदेश सभा सदस्य कौशिलावति खत्रीले रोग, भोक, गरिबीले छटपटाई रहेका जाजरकोटबासीहरुलाई दशै, तिहार, छट तथा लोसार जस्ता नजिकिदै गरेका महान् पर्वहरुले स्वाधिन तथा स्वाभिमानी जिल्लाबासी बन्न सक्ने हौसला प्रदान गरोस भन्ने शुभकामना ब्यक्त गरेकी छन् । नेपाल सरकाले “समृद्ध नेपाल–सुखी नेपाली” को नारालाई अगाडी सारी रहेको सन्दर्भमा आफुहरुले “समृद्ध जाजरकोट–सुखी जाजरकोटबासी” को नारालाई मुल मन्त्र बनाएको खत्रीले बताईन । जिल्लाको उन्नती र प्रगतिको लागि प्रदेश सभामा आफुहरुले संघर्ष गरिरहेको प्रदेश सभा सदस्य खत्रीको भनाई छ ।
दशै, तिहार, छट तथा लोसार जस्ता पर्वहरुले सबैको मनमस्तिष्कमा नयाँ स्फुर्ति पैदा गर्ने बताउदै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्तीले नजिकिदै गरेका महान पर्वहरुले सबैमा नयाँ जोस, जागर र हौसला पैदा गरोस भनेर शुभकामना व्यक्त गरेका छन । शुभकामना आदान–पदान कार्यक्रमले आत्मियतालाई निकट बनाउने बताउदै नगर प्रमुख घर्तीले आपसी सम्बन्धलाई सुमधुर बनाउनका लागि नगरपालिकाले शुभकामना आदान–पदान कार्यक्रमको आयोजना गरेको बताए ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा पुर्व साँसद गोविन्द विक्रम शाह, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, नेकपा जाजरकोट अध्यक्ष ढकवीर राना, नेपाली कांग्रेसका सचीब भुमीलाल रोकाय, गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेश संयोजक खिमबहादुर शाही, जिल्ला अध्यक्ष बीरबहादुर बस्नेत, उद्योग बाणिज्य संघ, जाजरकोटका बरिष्ठ उपाध्यक्ष शिव हमाल लगाएतका बक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए । नगरप्रमुख घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरुलाई खादा र अबीर लगाएर स्वागत गरिएको थियो ।


