पृथ्वीनारायण शाहले उपहार दिएको शक्तिको प्रतिक खड्ग फुलपाती सँगै भित्र्याईयो जाजरकोट दरवारमा

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण अभियानका सिलसिलामा दुइ सय एकाउन्न वर्ष अघि तत्कालिन जाजरकोट राज्यलाई उपहार स्वरुप दिएको खड्ग अर्थात तरवार बडा दशैको फुलपातीको अवसर पारेर शक्तिको प्रतिकको रुपमा जाजरकोट दरवारमा भित्र्याइएको छ ।

वडादशैंका अवसरमा फुलपाती भित्रयाउने कार्यक्रम अनुसार जाजरकोट राज्यको शक्तिको प्रतीकको रुपमा रहेको उक्त खड्ग शनिवार रानागाँउ स्थित कालिका मन्दिरवाट जाजरकोट दरवारमा भित्रयाइएको हो । स्थानीय सर्वसाधारणहरु, सरकारी कर्मचारी र सुरक्षाकर्मीहरुको व्यापक सहभागितामा शंख ध्वनी सहित भेरी नगरपालिका ४ गैरीखालीमा पुजाआजा र सलामी दिएर उक्त खड्गलाइ जाजरकोट दरवार लगिएको हो ।

विक्रम सम्वत १८२५ माघ ५ गते काँसीको मणिकर्णिका घाटमा गोरखाका राजा पृथ्वीनारायण शाहले तत्कालिन जाजरकोटी राजा हरि शाहसंग नेपाल एकिकरण अभियान सफल पार्ने उदेस्यले धर्मसन्धी गर्दै उक्त खड्ग ( तरवार ) जाजरकोट राज्यलाइ उपहार स्वरुप दिएका थिए । दुइ राज्यका विचमा एक अर्कालाइ सहयोग गर्ने सम्झौता गर्दै दुवै राजाले मितेरी साइनो गाँसेर उपहार साटासाट गर्ने क्रममा उक्त खड्ग जाजरकोटी राजालाइ दिइएको जाजरकोट राज्यको इतिहासबारे जानकार केदारबहादुर शाहले वताए । उनले झन्डै ७ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यको सुरुको राजधानी जगतिपुरमा राखिएको उक्त खड्ग अर्थात तरवार १८५२ सालमा अहिलेको सदरमुकाम खलंगामा राजधानी सारिएपछि दशैंको फुलपातीका दिन विशेष पुजाआजा सहित जगतिपुरवाट खलंगा दरवारमा ल्याउने परम्परा सुरु भएको वताए ।

फुलपातीका दिन विशेष पुजा आजा सहित वली दिएर जाजरकोट दरबारमा रहेको जमारा घरमा उक्त खड्ग भित्र्याउने परम्परा रहेको छ । वली दिन र खड्ग भित्र्याउन लाग्ने रकम शूरुमा दरबारबाट र पछि गृहमन्त्रालयबाट आउने गरेपनि मुलुकमा गणतन्त्र आईसकेपछि रकम पठाउन छोडिएको छ । स्थानिय प्रशासनले आफ्नै खर्चमा पुजाआजा गर्ने गरेको छ । जाजरकोट दरबारमा हाल जिल्ला प्रशासन कार्यालय रहेको छ । पहिला राजाले गर्ने खड्ग पुजा २०१८ साल पछि प्रमुख जिल्ला अधिकारीले गदै आएका छन् ।

जगतिपुरमा रहेको राजा र देवताको शक्तिलाइ विस्तारै खलंगा स्थित दरवारमा सार्ने उद्देस्यले प्रत्यक वर्ष फुलपातीका दिन पुजाआजा सहित उक्त खड्गलाइ खर्के देउताको रुपमा पुज्दै ल्याउन थालिएको शाहले वताए । फुलपातीका दिन जाजरकोट दरवारमा भित्रयाइएको उक्त खड्गलाइ दशैंको फुलपाती अर्थात सप्तमी, महाअस्टमी, महानवमी र विजयादशीमीको दिन सम्म पन्चे वाचाको ध्वनीका साथ वोका, रांगाको वलि दिएर भव्य रुपमा पुजा आजा गरि दशमीकै दिन टीका लगाईसकेपछि जगतिपुरमै फर्काउने परम्परा रहेको थियो । तर मुलुकको १० वर्षे द्धन्दका क्रममा असुरक्षाका कारण उक्त खड्ग १८ वर्ष अघि देखि जिल्ला प्रहरी कार्यालयको परिसरमै रहेको कालिका मन्दिरमै राख्ने गरिएको छ । अव शान्ति आइसकेकोले खड्गलाइ जगतिपुरको मन्दिरमै राख्नु पर्ने ५० वर्ष देखि खड्ग पुजा गर्दै आएका पुजारी सत्यप्रसाद शर्माले वताए ।

जाजरकोट राज्यको उत्पति र खड्ग सुरुमा राखिएको मन्दिरको गरिमा र महत्व जोगाउनका लागि उक्त खड्गलाइ जगतिपुरमै राख्नुपर्ने पुजारी शर्माको भनाई छ । उनले तत्कालिन राजाका पुरोहित अर्थात खर्क देवताका पुजारी आफ्ना हजुरबुवाका बुवा रत्नदास शर्माले उक्त खडग जाजरकोट दरवारमा ल्याउन सुरु गरेको वताए ।

जाजरकोटी शाह ठकुरीहरुले मुख्य जिम्मा लिएर मनाइने खर्के देउता पुजा अहिले ओझेल पर्दै गएको छ । विगतमा खर्के देउताको पुजाका वेला स्थानीयहरुको जाजरकोट दरवारमा ठुलो मेला लाग्ने गरेको भेरी ४ का वडाध्यक्ष खम्वजंग शाहले वताए । जाजरकोटको इतिहास, सस्कृति र परम्पराको पहिचान झल्काउने खर्के देउता पुजा विगतमा स्थानीय जनता सरकारी कार्यालयको सक्रियतामा गर्ने गरिएपनि अझै थप ब्यवस्थित बनाउनु पर्ने उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले खड्ग देवताको पुजा गर्ने र जाजरकोट दरवारमा खड्ग भित्र्याउने मौलिक परम्पराको जगेर्ना सवैले गर्नु पर्ने बताए । उनले आफुले पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रुपमा शक्तिको प्रतिक खड्ग भित्र्याउन पाउँदा निकै खुसी लागेको बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad