नलगाड जलविद्युत आयोजना जाईकाले बनाउने

lagu ausadhi biruddha abhiyan jajarkot

जाजरकोट — सरकारले जाजरकोटमा बन्ने नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग बिहीबार भएको छलफलमा त्यस्तो समझदारी भएको हो ।
मन्त्री पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच आज भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सैद्धान्तिक सहमति भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको क्रममा रहेको सो आयोजनाको क्षमतासमेत सात मेगावाटले बढेर ४ सय १७ मेगावाट पुगेको छ । यसअघि सो आयोजनाको क्षमता ४सय १० मेगाबाट हुने बताइएको थियो । डिपिआर तयार भएपछि आयोजानलाई अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ ।

ऊर्जामन्त्री पुनले जाइकासँग सार्वजनिक निजी साझेदारीमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको र जापानी पक्षले सकारात्मक जवाफ दिँदै सहमति जनाएको थियो। सो आयोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ। ’जाइकासँगको छलफल अत्यन्तै सकारात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिबद्धता जनाउनुभएकाले पनि चाँडै यसले मूर्तरुप पाउनेमा म आशावादी छु,’ मन्त्री पुनले भने।

छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। मन्त्री पुनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध, नेपालमा जापानले गरिरहेको लगानीलगायतका विषयमा छलफल गरेका थिए। यस्तै, उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधबार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्रयाटिकक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए। भेटवार्तामा ऊर्जा मन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए।

भेटमा मन्त्री पुनले नेपालमा हाल स्थायी सरकार रहेको भन्दै थप लगानीका लागि आग्रह गरेका थिए। उनले नेपालमा जलविद्युत्को बजारसमेत सुरक्षित रहेको र नाफासमेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको तथ्य पेश गरेका थिए।

आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित बिजुली बेच्नका लागि भारत र बङ्गलादेशसँग सम्झौता भइसकेको मन्त्री पुनको भनाइ थियो। उनले उत्पादित बिजुलीका लागि आन्तरिक र बाह्य बजार बनाउन सरकारसक्षम रहेको धारणासमेत राखे।

मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका थिए। नेपालको जलविद्युत् क्षेत्रमा लगानीको लागि सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे। कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने प्रतिबद्धता जनाए। उनले भने, ’तपाईहरुले नेपालमा लगानी गर्नुभयो भने हामी नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौँ। उत्पादित बिजुली पनि हामीले नै खरीद गर्छौं, बजारको पनि चिन्ता नगर्नुहोस्।’

मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरणसमेत बनाइदिने प्रतिबद्धता जनाए। अन्तर्क्िरयामा जापानमा जलविद्युत्को क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साइ, टोकियो इलेक्ट्रोनिक्स, न्युजेक इलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए। कार्यक्रमको संयोजनसमेत जाइकाले गरेको थियो। रासस

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad