राजेन्द्र कार्की । जाजरकोट
पार्टीको १५ दिने दोस्रो राष्ट्रिय जागरण अभियानको समापनको अवसरमा नेपाली काँग्रेस जाजरकोटले सदरमुकाम खलंगामा सरकार विरुद्ध प्रदर्शन गरेको हो ।
सरकार विरुद्ध चर्का नारा लगाउदै काँग्रेस नेता कार्यकर्ताहरुले सदरमुकाम वजार परिक्रमा गरेका छन् । पार्टी केन्द्रिय समितिले गरेको निर्देशन अनुसार जिल्लाका सातै स्थानीय तहमा विभिन्न जागरणमुलक कार्यक्रमहरु सकेर काँग्रेस जाजरकोटले जिल्लाका नेता÷कार्यकर्ताहरुको सहभागितामा खलंगामा सरकार विरुद्ध प्रदर्शन गरेको काँग्रेस जाजरकोटका कोषाध्यक्ष तेजविक्रम शाहले वताए । उनले सरकारका गलत क्रियाकलाप, जनताका असन्तुष्टि र भ्रष्टाचारका विरुद्ध खवरदारी गर्दै आफुहरुले सदरमुकाममा शान्तिपुर्ण प्रदर्शन गरेको वताए । जागरण अभियान समापनको अवसरमा आयोजित सरकार विरोधी प्रदर्शनका क्रममा काँग्रेसका नेता कार्यकर्ताहरुले निर्मला पन्तको वलत्कारपछिको हत्या, ३३ किलो सुनकान्ड, वाइडवडी विमान खरिद कान्ड, सरकारले लगाएका विभिन्न करहरुका विषयलाइ आफना प्रमुख नारा वनाएका थिए ।
जुलुसमा उत्साही युवाहरुले प्रधानमन्त्री केपी शर्मा वली र नेकपा विरुद्ध पनि चर्का नारा लगाएका थिए । नेपाली काँग्रेस जाजरकोटको पार्टी कार्यालय विपि स्मृति भवन थाप्लेवाट सुरु भएको र्याली गैरीखाली, दरवार, पिपलडाडा हुदै फेरि ठाँटीवजारमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाइ जागरण अभियानका लागि केन्द्रिय प्रतिनिधिको रुपमा खटिएका झकवहादुर डांगी, टंकप्रसाद उपाध्याय, जाजरकोट काँग्रेसका सचिव खडक विसी, नेताहरु हरिचन्द्र वस्नेत, महेन्द्र शाह भुमिलाल रोकाय लगाएतका नेताहरुले सम्वोधन गरेका थिए । सम्वोधनका क्रममा काँग्रेसका नेताहरुले वर्तमान सरकारको काँग्रेसले भन्दा वढी विरोध सर्वसाधारण जनता, र नेकपाकै नेता कार्यकर्ताहरुले गर्ने गरेको वताए । राम्रो काम गरेको भए जनताले विरोध गर्ने र आफनै नेता कार्यकर्ताको विरोध खेप्नु पर्ने अवस्था नआउने उनीहरुले वताए । दुइ तिहाइको दम्भ र अधिनायकवादी सोच वाहेक जनताले नयाँ अनुभुति गर्ने गरि कुनै खास काम गर्न सरकारले नसकेको काँग्रेस नेताहरुले आरोप लगाए । जनताको मत लिएर दुइ तिहाइको सरकार वनाएको नेकपाले जनतालाइ झुक्याउने मात्रै काम गरेकोले देशमा नेपाली काँग्रेसको विकल्प नभएको उनीहरुको दावी थियो ।