राजेन्द्र कार्की । जाजरकोट
नेपाल विद्यार्थी संघ जाजरकोटले यातायात ब्यवसायीले जाजरकोटमा चल्ने सवारी साधनबाट मनोमानी रुपमा चर्को भाडा असुलीरहेको हुँदा भाडा घटाउन माग गदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
यस अघि स्थानिय प्रशासनले तोकेको भाडादर भन्दा यातायात ब्यवसायीले यात्रुबाट बढी भाडा असुुलीरहेको, भाडादर अनुगमण गर्नु पर्ने, मनपरी ढंगले गाडीभाडा लिने ब्यवसायीलाई कारवाही गर्नु पर्ने, जिल्लामा बैज्ञानिक र न्यायपुर्ण भाडादर तोकिनु पर्ने, सडकको स्तरोन्नती गर्नु पर्ने लगायतका माग राखि नेविसंघले जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई मंगलवार ज्ञापनपत्र बुझाएको हो ।
जाजरकोट जिल्लामा कच्ची सडकमा तोकिएको भन्दा कयौ गुणा भाडा लिने गरिएको छ । कतिपय सडकमा प्रतिकिलोमिटर ३० रुपैया सम्म भाडा असुल भैरहेको नेविसंघ जाजरकोटका अध्यक्ष ललित बस्नेतले बताए । यसरी मनोमानी रुपमा भाडा असुल भैरहेपनि नियामक निकायले हाल सम्म नियन्त्रणका लागी कुने पहल नगरेको हुँदा ज्ञापनपत्र दिन बाध्य भएको अध्यक्ष बस्नेतले बताए ।
खलंगा–पाँचकाटिया–पैक, मनमई बगरा–तल्लु, छेडा–थलह, थलह–नरमरा, छेडा–शिवालय लगायतका सडक खण्डमा मनोमानी भाडा लिने गरिएको उनले बताए । नेपाली हिन्दुहरुको महान चाड दशैतिहार नजिकिदै गर्दा पनि बर्षातको बेला भत्किएका सडक अझै मर्मत हुन नसकेको तर्फ पनि नेविसंघले स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको बस्नेतले बताए ।
प्रमुख जिल्ला अधिकारी पन्तले ज्ञापनपत्र बुझ्दै स्थानिय प्रशासनले यस अघि तोकेको भाडादर कार्यान्वयन भए नभएको र नयाँ भाडादर कायम गर्नु पर्ने भएपनि सरोकारवाला सँग छलफल गरेर तय गरिने आश्वासन दिएका छन् । उनले विग्रिएका सडक मर्मतका लागी स्थानिय तह र सडक डिभिजन कार्यालयलाई निर्देशन दिइसकेको बताए ।