टकिङ्ग टिचरको परामर्श सेवा नदिएरै १७ लाख भुक्तानी

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता। जाजरकोट

भेरी नगपालिकाका १३ वटा बिद्यालयले खरिद गरेको टकिङ्ग टिचर (शैक्षिक सामग्री आफै बोलेर पढाउने विधी) को परामर्श सेवा शुल्कमा घोटाला भएको पाईएको छ । बिद्यालयबाट परामर्श सेवा शुल्क बाफतको १७ लाख ५० हजार बराबर रकम घोटाला भएको हो ।
भेरी नगरपालिका लेखापाल डम्बरबहादुर बिष्टका अनुसार छनौटमा परेका ति विद्यालयका लागि टकिङ्ग टिचरका टिटी सेट, बालकक्षा देखि ५ कक्षा सम्मका पुस्तक, स्पीकर, बिद्यालयका लागि बिद्यार्थी पुस्तक लगाएतका सामग्री उपलब्ध गराउनुको बिद्यालयलाई परामर्श सेवा दिने गरि नगरपालिकासंग क्रिएटिभ एडुमेन्मेन्ट वल्र्ड प्राली भाटभटेनी–४ बिशाल नगर काठमाडौंले सम्झौता गरेको थियो । नगरपालिकाले सम्झौता अनुसारको रकम विद्यालयका खातामा पैसा जम्मा गरिदिएको र विद्यालयको खाताबाट क्रिएटिभ एडुमेन्मेन्ट वल्र्ड प्रालीलाई २३ लाख २३ हजार ४ सय २० रुपैया भुक्तानी गरिएको हो ।

तर उक्त प्रालिले विद्यालयलाई ५ लाख ७३ हजार ४ सय २० रुपैया मुल्य बराबरको टकिङ्ग टिचर सामाग्री उपलब्ध गराएको भएतापनि परामर्श सेवा विनै उक्त शुल्क बाफतको १७ लाख ५० हजार रुपैया विद्यालयबाट भुक्तानी लिएर अनियमितता गरिएको नगरपालिकाको लेखा समितिले ठहर गरेको छ । सम्बन्धित विद्यालयका शिक्षक तथा बिद्यार्थीहरुलाई टकिङ्ग टिचरको सेट प्रयोग गर्न सिकाउनलाई लिईने परामर्श सेवा शुल्क हो तर, सेट प्रयोग गर्न नसिकाएरै प्रालीले भुक्तानी लियो । कामै नगरि भुक्तानी लिनु भनेको सरासर अनियमितता हो,लेखा समितिका सदस्य तथा वडा नम्बर ३ का वडाध्यक्ष लिलाबहादुर शाहले भने–“ मिलेमतोमा अनियमितता भएको देखिन्छ । त्यसैले अनियमित रकम असुल गर्न महालेखा परिक्षकलाई समेत आग्रह गरेका छौ ।” परामर्श सेवा शुल्कको नाममा प्रालिले टकिङ्ग टिचर सेट प्रयोग गर्न सिकाउनलाई एक जना विद्यार्थी बराबर एक हजार रुपैया लिने गरेको छ ।

बिद्यार्थीहरुको शिक्षण सिकाई उपलब्धीको प्रतिशतलाई बढाउन नगरपालिकाको अनुदानमा ति बिद्यालयले टकिङ्ग टिचरका टिटी सेट, बालविकास देखि कक्षा ५ सम्मका पुस्तक, स्पीकर, बिद्यालयका लागि बिद्यार्थी पुस्तक लगाएतका सामग्रीहरु खरिद गरेका थिए । खरिद गरेका उक्त सामाग्रीहरु प्रयोगमा आउन नसकेपछि हाल बिद्यालयका दराजहरुमा थन्किएका छन् । टकिङ्ग टिचरका लागि सम्बन्धित बिद्यालयले शिक्षक छनौट पनि गरिसकेका छन् तर, प्रयोग गर्नलाई छनौट गरिएका शिक्षक, शिक्षिकामा आधारभुत ज्ञान पनि नभएपछि सामाग्रीहरु थन्काउन बिद्यालय बाध्य भएका हुन् । सम्बन्धी कम्पनीले समयमा आवश्यक परामर्श सेवा नदिदा कार्यक्रम संचालनमै आउन नसकेको विद्यालयहरुको गुनासो छ ।

बागेश्वरी प्राथमिक विद्यालय पिपे, जनता प्राथमिक विद्यालय पोखरा, हनुमान प्रावि थाप्ले, भेरी प्रावि गैरीखाली, लक्ष्मी माध्यामिक विद्यालय भेरे, सिमा प्रावि डौरीखोला, शिवशक्ति प्रावि लामाकाटिया, भैरव आधारभुत विद्यालय भुरचौर, दुर्गा प्रावि महतरागाउँ, विश्व प्रावि राताचौर, भगवती मावि कुदु, विजय मावि काफलचौर, मष्टा आधारभुत विद्यालय गिमा गरि नगरपालिकाका १३ वटा बिद्यालयले सो प्रालिबाट टकिङ्ग टिचरका सामाग्री खरिद गरेका थिए ।

वडानम्बर १ का वडा अध्यक्ष दीपक राना संयोजक, वडानम्बर, ३ का वडा अध्यक्ष लिलाबहादुर शाह र वडानम्बर, ९ का वडा अध्यक्ष धुर्व पौडेल सदस्य रहेको ३ सदस्य नगरपालिकाको लेखा समितिले नगरपालिकाले खरिद गरेको टकिङ्ग टिचरका सामाग्री तथा अन्य प्रक्रिया बारे अध्ययन गरेको थियो । समितीले परामर्श सेवा उपलब्ध नगराएको खण्डमा उक्त रकम असुल उपर गर्न समेत सिफारिस गरेको छ ।

तर विद्यालयमा टकिङ्ग टिचरका सामाग्री उपलब्ध गराएको क्रिएटिभ एडुमेन्मेन्ट वल्र्ड प्रालीले लेखा समितिले दिएको निर्देशनलाई वेवास्ता गरेको लेखा समिति सदस्य शाहले बताए । क्रिएटिभ एडुमेन्मेन्ट वल्र्ड प्रालीले भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिका लगाएतका जिल्लाका अधिकांश पालिकाका विद्यालयहरुमा टकिङ्ग टिचरका सामाग्री उपलब्ध गराउनुको साथै परामर्श सेवा शुल्क बाफतको रकम भुक्तानी लिईसकेको ति पालिकाले जनाएका छन् । तर काम भने कुनै पनि ठाँउमा सम्झौता अनुसार नगरेको गुनासो गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad