राजेन्द्र कार्की । जाजरकोट
सुत्केरी हुन नसकेकी जाजरकोट कुशे गाउँपालिका–९ कि एक गर्भवती महिलालाई शुक्रबार हेलिकप्टरद्धारा उद्धार गरिएको छ । चारदिन देखि सुत्केरी ब्यथाले थला परेकी गर्भवती महिलालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
कुशे गाउँपालिका–८ लाँताकी ४५ बर्षिय तुल्सी सुनारलाई नेपाली सेनाको हेलिकप्टरबाट क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिएको प्रहरी निरिक्षक केशरबहादुर कार्कीले जानकारी दिए ।
चार दिनदेखि सुत्केरी हुन नसकेकी सुनारको ज्यान जोगाउन जिल्ला प्रशासन कार्यलयको समन्वयमा नेपाली सेनाले उद्धार गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
तुल्सीलाई सुत्केरी ब्यथा लागेपछि चार दिन अघि पैंक स्वास्थ्य चौकीमा लगिएको थियो । पैंक स्वास्थ्य चौकी ईन्चार्ज रामसिंह मण्डलका अनुसार बच्चा पेटमा उल्टो भएपछि तुल्सीलाई पैंक स्वास्थ्य चौकीमै उपचार गर्न सम्भव नभएको हो । स्वास्थ्य चौकीमा उनलाई सुरक्षित सुत्केरी गराउन नसकेपछि रेफर गरिएको हो । तुल्सीलाई कुशे गाउँपालिका–९बाट हेलिकप्टरमा राखेर सुर्खेत कालागाउँ क्षेत्रिय अस्पतालमा पुर्याईएको हो ।
गर्भवतिको क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको बताईएको छ । घरमा २ छोरा र २ छोरीको आमा तुल्सीले पाँचौ सन्तान जन्माउन खोज्दा यस्तो समस्या आएको कुशे गाउँपालिका–८ का वडाअध्यक्ष अम्मरबहादुर रोकाले बताए । केही दिन अघि मात्र सुत्केरी हुन नसकेकी कुशे १ कि गर्भवति संगिताकुमारी शाहीको हवाई उद्धार गरिएको थियो ।