राजेन्द्र कार्की । जाजरकोट
दुई बर्ष अघि जाजरकोटबाट बिस्थापित भएको जिल्ला पशु सेवा कार्यालय शुक्रबार पुर्नस्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार मातहत रहने गरि पशु अस्पताल तथा पशु सेवा कार्यालयको पुर्नस्थापना भएको हो ।
कर्णाली प्रदेश सरकारका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचीब राजेन्द्र भारी, भेरी नगरपालिकाका कावा नगरप्रमुख भावना भण्डारी र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रुपमा कार्यालय स्थापनाको व्यानर उद्घाटन गरेका छन् ।
कर्णाली प्रदेश सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत रहेर स्थापना भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले पशु कृषकहरुलाई सामान्य तालिम दिने, घाँसको बिऊ वीजन बितरण गर्ने नभई पशु सेवालाई प्रभावकारी बनाउनलाई योजना निर्माण गर्नुको साथै व्यवसायीक किसानहरुको प्रवद्र्धनमा जोड दिने सचीव भारीले बताए ।
कार्यालयले किसानहरुको उत्पादनलाई बजारिकरण गर्नुको साथै उत्पादनमा बिबिधीकरण गर्नमा जोड दिने सचीब भारीको भनाई रहेको थियो । देश संघीयकरणमा गएपश्चात भएको राज्य पुर्नसंरचनाले सेवा प्रवाह गर्न सरकारलाई अन्यौलता पैदा भएको भएता पनि आगामी दिनमा सबै अन्यौलता हटेर जाने सचिव भारीले बताए ।
लामो समयसम्म जिल्लामा पशु सेवा दिदै आएको कार्यालय राज्य पुर्नसंरचना पश्चात एकाएक रुपमा उक्त कार्यालय जिल्लामा नभएता पनि कार्यालयको जात परिवर्तन नभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । पहिलाको जिल्ला पशु सेवा कार्यालयको नाम भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रमा परिवर्तन भएर जाजरकोट र पश्चिम रुकुम जिल्लालाई हेर्नेगरि कार्यालय पश्चिम रुकुममा भएको भएता पनि स्थानीय पालिकाहरुमा रहेका पशु पन्छी विकास शाखाहरुले पशु सेवा दिदै आएको प्रजिअ पन्तले बताए ।
जाजरकोटको पशु सेवा कार्यालय पश्चिम रुकुम गएपछि जाजरकोटका किसानहरु निरास बनेको भेरी नगरपालिकाका कावा नगरप्रमुख भावना भण्डारीले बताईन् । कार्यालय स्थापना भएपछि पशुहरुका लागि चिकित्सक सेवा लिनलाई जाजरकोटका किसानहरु रुकुम जानुपर्ने बाध्यताको अत्य भएको कावा नगरप्रमुख भण्डारीको भनाई रहेको थियो । कर्णाली प्रदेश सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत रहेको कृषि ज्ञान केन्द्रको नाम कृषि बिकास कार्यालय बनाईएको छ ।


