जाजरकोट अस्पतालमा औषधी अभाव, उपचारमा समस्या

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट अस्पतालमा सरकारले निशुल्क दिने भनेका सामान्य खालका औषधी पनि पाईन छोडेको छ । जिल्ला अस्पतालमा लामो समय देखि औषधी अभाव हुँदा उपचारमा समस्या भएको हो । दिनहुँ भाईरल ज्वरो, टाईफाईड, मौसमी रुघाखोकी लगायतका विरामीको चाप बढ्दै गएको भएपनि औषधी नहुँदा समस्या भएको स्वास्थ्यकर्मीको भनाई छ ।

अस्पतालले नयाँ आर्थिक बर्ष शुरु भएको दुई महिना सम्म पनि औषधी खरीद नगर्दा अभाव भएको हो । जिल्ला अस्पताल मार्फत सरकारले ७२ प्रकारका औषधी निशुल्क दिने भनेपनि यतिवेला सिटामोल, आईरन चक्की, ब्रोफिन, रेनीटेडीन, मेट्रो, एमोक्सीसिलीन, भुस्कोपान, कोर्टीन, भिटामीन बी कम्प्लेक्स, क्यामामीन लोसन, जीन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सीटोसन, जेन्टामाईस, फुस्रामाईट, सिप्रो, एसिलक, पोन्टक्स लगाएतका अत्यावश्यक औषधीको अभाव भएको छ ।

मौसम परिवर्तन सँगै अस्पतालमा विरामीको संख्या बढ्दो छ । तर निशुल्क पाउने औषधी समेत नपाउँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक ६०÷७० जना भाईरल ज्वरोका मात्र विरामी आउने गरेका छन् । भेरी नगरपालिका २ कि कमला थापालाई टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि जिल्ला अस्पताल आईन । चेकजाँच गरेर डाक्टरले औषधी लेखिदिए तर अस्पतालमा उनले कुनै पनि औषधी पाईनन् । सिटामोल समेत अस्पतालमा नभएपछि निजी मेडिकलमा किन्नु परेको उनको गुनासो छ । अस्पतालको फार्मेसीमै औषधी नभएपछि उनी निजी मेडिकल जान बाध्य भएकी हुन । केही समय पहिले कुनै पनि औषधी बाहिर किन्नु पदैन्थ्यो सवै निशुल्क पाईन्थ्यो तर अहिले सवै औषधी किनेर खानु पर्ने बाध्यता छ उनले भनिन । उनी मात्र होइन उपचारको लागी जिल्ला अस्पताल पुग्ने विरामीले औषधी नपाउँदा समस्यामा पर्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका र सधैजसो निशुल्क औषधी पाईरहेकाहरुले नपाउँदा साँचिकै समस्यामा परेको स्थानिय धर्मराज परियारले बताए ।

अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, गुलोब्स र आरएल समेतको अभाव भएको छ । लेखापाल नहुँदा ल्याव सेवा समेत बन्द हुने अवस्थामा पुगेको छ । ल्यावका लागी आवश्यक पर्ने किटहरु समेत सकिएको छ डा. कार्कीले भने हामीलाई काम गर्न निकै गाह्रो भयो । औषधी खरीदका लागि बजेट आएपनि लेखामा काम गर्ने लेखापाल नहुँदा समस्या परेको छ । औषधी खरीदका लागी बजेट निकासा भईसकेको भएपनि लेखापाल नहुँदा औषधी खरीद गर्न नपाएको उनले बताए । अस्पतालमा लेखापालको दरबन्दी भएपनि दुई बर्ष देखि पदपुर्ती हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रकको कार्यालयले तलब खुवाउन काजमा पठाउने गरेपनि असार देखि लेखापाल आएका छैनन् । लेखापाल नहुँदा स्वास्थ्यकर्मीले साउन देखि तलबभत्ता समेत खान पाएका छैनन् ।

निशुल्क औषधी पाउन बानी परेका स्थानिय सेवाग्राहीले औषधी नपाएकोमा गुनासो गर्न थालेका छन् भेरी नगरपालिका ४ का विष्णु भडेलले अस्पतालमा भरपर्दो उपचार सेवा नपाईने गरेको गुनासो गरे । ‘सामान्य रोगको पनि उपचार हुँदैन । यो अस्पतालले निशुल्क पाईने औषधी पनि दिदैन तर विरामीलाई भने उपचारको साटो रिर्फर गरेर पठाउँछ’ उनले भने । जिल्ला अस्पताल प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा गएपछि झन अस्तब्यस्त भएको छ । न समयमा औषधी आपुर्ती हुन्छ न उपकरण र दक्ष जनशक्तिको पदपुर्ती नै । धेरै स्वास्थ्यकर्मी समायोजन भएर अनेत्र गईसकेका छन् । ५० शैयाको भनिएको यो अस्पताल नाम मात्रको छ न आवश्यक औषधी पाईन्छ न दक्ष जनशक्ति नै स्थानिय धनबहादुर खड्काले भने एउटा स्वास्थ्य चौकीले दिने जति सेवा पनि पाईदैन ।

अन्य मेडिकल भन्दा सस्तो र सहज रुपमा औषधी उपलब्ध गराउन सरकारले स्थापना गरेको फार्मेसीमै औषधी सकिएपछि थप समस्या भएको छ । लेखापालको ब्यवस्था तत्काल गर्न भन्दै कोलेनिका देखि प्रदेश मन्त्रालय धाउँदा समेत सुनुवाई भएन अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले भनिन ‘अस्पतालमा डाक्टरलाई काम गर्ने वातावरण नै छैन । उपकरण, सेवासुविधा र पुर्वाधार नहुँदा कसरी काम प्रभावकारी हुन्छ ? ।’ लेखापालको अभावले पठाउन नसकिएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । आन्तरिक लेखा परिक्षण र महालेखा परीक्षणमा सवै लेखापाल ब्यस्त भएकोले पठाउन समस्या भएको कार्यालयको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad