राजेन्द्र कार्की । जाजरकोट
पुस्तौ देखी हलिया बस्दै आएका जाजरकोट जुनीचाँदे दह मानसिह दमाईको परिवार हलियाबाट मुक्त हुँदा ११ बर्ष अघि निकै खुसी भएका थिए । हलियाबाट मुक्त भएपछि जिवन निर्वाहमा सहजता आउने उनहरुको विश्वास थियो तर सोचे अनुसार नभएपछि निराश छन् ।
बाबाको विडो थाम्दै दह ४ का बहादुर बस्नेतको हलिया हुन बाध्य भएका थिए । तर सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ देखीको दासताबाट मुक्ती पाउँदा औधी खुसी भएका थिए तर हलियाबाट मुक्त भैसकेपछि पनि उनको परिवारको जीवनस्तरमा खासै परिवर्तन नआएपछि निराश छन् । हलियाबाट मुक्त भएपछि के के न पाईएला भन्ने सोचेका थियौ तर अहिले सम्म सरकारले जग्गा किन्ने २ लाख रुपैया बाहेक केही नदिएको उनले गुनासो गरे । उनले दुई लाख रुपैयाले गाँउमै ६ रोपनी पाखो जग्गा किनेको तर त्यो जग्गामा उत्पादन भएको अन्नले खानलाउन नपुग्ने र फेरी साहुकै काम गर्नु पर्ने बाध्यता सुनाए । हलियाबाट मुक्त भैसकेपछि ज्यालादारी काम गरेर जेनतेन छोराछोरीलाई पढाएको बताउँदै उनले भने ‘जेठो छोराले एसएलसी पास गरेको हुँदा उसलाई रोजगारीको ब्यवस्था गरिदिए राहत हुने थियो । हलिया मुक्त भएको ११ बर्ष विति सक्दा पनि अहिले सम्म पक्की घर बनाउन सकेको छैन । हलिया मुक्ती पछि स्वतन्त्रता भएपनि ९ जनाको परिवारलाई पाल्न निकै मुस्किल परेको छ । हामी पहिले भन्दा झन् समस्यामा परेका छौ’
जुनीचाँदे दहकै गानो दमाईका हजुरवुवा जयवीरे दमाईले गाँउकै मुने बस्नेतका बाजेबाट ऋण स्वरुप लिएको एक सय रुपैया तिर्न नसक्दा उनी हलिया बस्न बाध्य भएका थिए । अलिकति भएको जग्गाजमिन पनि बेचेर सकेको र साहुबाट लिएको ऋणतिर्न नसक्दा दमाई परिवार बस्नेत परिवारको हलिया बस्न बाध्य भएको थियो । गानोले आफ्नो जीवनभर बस्नेत परिवारकै हलो जोतेर विताए । त्यसपछि उनका छोरा कमारो दमाईले पनि त्यसैगरी हलिया भएरै जीवन निर्वाह गरे ।
नाती गानोले ४५ बर्ष सम्म पुस्तौले हलिया भएर जिवन निर्वाह गरेपनि अहिले भने मुक्ती पाएका छन् । हाम्रो तीन पुस्ताले हलिया भएर विताए । मैले पनि आधा जीवन हलिया भएर विताए अव मेरा छोराहरुले फेरी यस्तो दासतापुर्ण अवस्था भोग्नु नपरोस उनले भने । सरकारले हलियाबाट मुक्त भएको घोषणा त गर्यो तर पुर्नस्थापनाका लागी ठोस कार्यक्रम नगर्दा आफुहरुको झन् विचल्ली भएको बताए । ‘पहिला साहुका काम गथ्यौ दिएको खान्थ्यौ अहिले सवै आफैले जुटाउनु पर्छ उनले भने सरकारले जग्गा खरीदका लागी दिएको २ लाख रुपैयाले तिनै साहुको चार रोपनी पाखो जग्गा किनेको तर घर बनाउन नसक्दा सानो खरको कटेरोमा गुजरा चलाएका छौ ।’ अहिले विहान बेलुकाको छाक टार्न मुस्किल पर्ने गरेको बताउँदै उनले सरकार सँग मुक्त हलिया परिवारको रोजीरोटीका लागी रोजगारीको ब्यवस्था गरिदिन माग गरेका छन् ।
यी दुई परिवार मात्र होईन सवै मुक्त हलियाको अवस्था यस्तै छ । सरकारले उनीहरुको पुर्नस्थापनाका लागी गरेको सहयोग बालुवामा पानी सरह भएको मुक्त हलियाहरुको भनाई छ । सरकारले मुक्त हलियाको पुर्नस्थापनका लागी घर निर्माणमा ३ लाख २५ हजार , जग्गा खरीदमा २ लाख र घरमर्मतमा एक लाख २५ हजार रुपैया दिने गरेको छ । उनीहरुको अवस्थाका आधारमा क देखी घ बर्ग सम्म श्रेणी विभाजन गर्ने र आवश्यकताका आधारमा कुनै एउटा कामका लागी सहयोग गर्ने सरकारी निति रहेको जिल्ला मालपोत कार्यालयले जनाएको छ । जाजरकोटमा चार सय ४४ हलिया परिवार मध्य दुई सय दुई परिवारको प्रमाणिकरण भएको छ भने अन्य परिवारको प्रमाणिकरण हुन वाँकी रहेको जिल्ला मालपोत कार्यालयका प्रमुख अभिबहादुर गिरीले बताए । कार्यालयका अनुसार हाल सम्म प्रमाणिकरणमा परेका सवै परिवारलाई पुर्नस्थापनाका लागी अनुदान दिईएको जानकारी दिए । चालु आर्थिक बर्षमा जाजरकोट लगायतका ६ जिल्लाका मुक्त हलियालाई पुर्नस्थापना गर्ने कार्यक्रम सरकारले ल्याएको छ तर मुक्त हलिया भन्छन् २ लाख रुपैयाले हाम्रो पुर्नस्थापना कसरी हुन्छ ?
सरकारले मालपोत कार्यालय मार्फत मुक्त हलिया परिवारको लागी वाइरिङ्ग , सिलाईकटाई , तरकारी खेती , ईलेक्टोनिक लगायतका सीपमुलक तालिमहरु संचालन गरिरहेको जनाएको छ तर पनि मुक्त हलिया परिवारको जीवनस्तरमा खासै परिवर्तन आउन नसकेको स्थानियको भनाई छ । प्रयाप्त स्रोतको अभावमा मुक्त हलियाको मागलाई संवोधन गर्न नसकिएको कार्यालय प्रमुख समेत रहेका गिरीको भनाई छ ।
सरकारले अहिले सम्म पुर्नस्थापना गर्न नसकेको मुक्त हलियाको गुनासो छ । उनीहरुले मुक्त हलियाका परिवारलाई जीवन निर्वाहमा सहजता ल्याउन आयमुलक र सीपमुलक खालका तालिमका साथै रोजगारीको ब्यवस्था , उच्च तथा प्राविधिक शिक्षा निशुल्क पढ्न पाउने ब्यवस्था गर्नु पर्ने , निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने, निशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।