राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कुशे गाउँपालिका–१, धाउनीकी २५ वर्षीया संगीताकुमारी शाही सिंहको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
स्वास्थ्यकर्मीका अनुसार भदौ १२ गते नै बच्चा जन्मिनुपर्नेमा विहिवार बिहानसम्म नजन्मेको र विगत ३ दिनदेखि व्यथा लागेर गर्भवति जोखिममा परेपछि उनको हेलिकोप्टरबाट उद्धार गर्नुपरेको कुशे–१ का वडाअध्यक्ष गोपाल नेपालीले बताए । नजिकमा प्रसुति गृह नहुँदा उनी समस्या परेकी थिईन । शुरु अवस्थामा कसैलाई नभनेको र अन्तिम अवस्थामा उनको अवस्था जटिल भएको जानकारी पाएपछि आफुहरुले पहल गरेको वडाध्यक्ष नेपालीले बताए ।
वडाध्यक्ष नेपालीले जिल्लामा आवश्यक पर्ने प्रक्रिया पुरा गर्न समन्वय गरेका थिए । नेकपाका नेताहरु मायाप्रसाद शर्मा , कृष्ण बिसी र नरबहादुर गिरी लगायतले काठमाडौँमा पहल गरेका थिए ।
महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मगरसँग भेटी मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईमार्फत शाहीको उद्धार गर्न सफल भएको नेता शर्माले बताए । हेलिकप्टरको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइले व्यहोरेको छ ।
आवश्यक प्रक्रिया पुरा भएपछि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट कुशे पुगेर शाहीलाई उद्धार गरि सुर्खेत ल्याएको थियो । सुत्केरी ब्यथाले छट्पटाईरहेकी उनको हेलिकोप्टर पुग्ने वित्तिकै धाउनीमै बच्चा जन्मेको थियो । अत्याधिक रक्तस्राव भएको र बच्चाको अवस्था निकै जटिल भएपछि सेनाले तत्काल हेलिकोप्टरबाट उनीहरुलाई सुर्खेत स्थित क्षेत्रिय अस्पताल लगेको थियो । तर अस्पताल पुरयाएको केही बेरमै बच्चाको मृत्यु भएको क्षेत्रिय अस्पताल सुर्खेतका डा. मदनरत्न शर्माले बताए । उनले आमाको अवस्था भने सामान्य रहेको बताए ।