गरीवलाई वितरण गर्ने भनि खरीद गरिएका कुखुरा जनप्रतिनिधि र निकटलाई

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधीले गरीवका लागी वितरण गर्ने भनि खरीद गरेका कुखुरा आफै र आफु निकटकाले लिएको खुलासा भएको छ । अति विपन्न परिवारका युवाहरुलाई ब्यवसायिक कुखुरापालन तर्फ आर्कषित गराई आयआर्जन बढाउने भन्दै खरीद गरेर ल्याईएका कुखुरा वडापालिकाका पदाधिकारी र उनीहरुका नातागोताले लिएपछि स्थानियले विरोध जनाएका छन् ।

गत आर्थिक बर्ष ०७५÷७६ मा वडा नम्बर १ मा आयआर्जन कार्यक्रम संचालनका लागी नगरपालिकाको कृषि शाखाबाट तीन लाख र पशु विकास शाखाबाट तीन लाख गरी ६ लाख रुपैया विनियोजन गरिएको थियो । उक्त रकमबाट काठ्मान्डौ स्थित एक मर्हजन ह्याचरीबाट स्थानिय जातका तीनहजार नौ सय कुखुरा खरीद गरि ल्याएको थियो । ति लोकल जातका कुखुरा जनप्रतिनिधीले आफ्नै मनोमानी अनुसार आफु र आफु निकटका लाई वितरण गरेपछि स्थानियले विरोध गरेका हुन् ।

किसानलाई वितरण गर्ने भनिएका कुखुरा वडाध्यक्ष , वडासदस्य र वडा सचिवले समेत लिएको पाईएको हो । स्थानिय दलबहादुर खत्रीका अनुसार वडाध्यक्ष दीपक रानाले ६०, वडा सदस्यहरु कृष्णराज वि.क., विमला वि.क., विमला बस्नेत, चन्द्रबहादुर पुन र कार्यपालिका सदस्य वीरबहादुर बादीले ५०÷५० का दरले कुखुरा लिएका हुन् । त्यस्तै वडा सचिव महेन्द्र बस्नेतले पनि १८ कुखुरा लिएका छन् ।

खत्रीका अनुसार अन्य ब्यवसायिक कृषक छनौटमा समेत जनप्रतिनिधीले नातेदार छानेको पाईएको छ । वडासदस्य विमला विकले आफ्नै देवर सिर्जन वि.क र भाई नाता पर्ने मिलन वि.क.लाई सिफारिस गरी दुई सयका दरले कुखुरा दिलाएकी हुन् । त्यस्तै वडा सदस्य कृष्णराज विकले साला नाता पर्ने तप्त वि.कलाई सिफारिस गरेर दुई सय कुखुरा दिलाएका छन् । अर्की वडा सदस्य बिमला बस्नेतले आफ्नै भाई विमल विस्नेत र भाइका जेठान हरीबहादुर खत्रीलाई सिफारिस गरेर क्रमशः एक सय र दुई सय निशुल्क कुखुरा दिलाएकी छन् । पुर्व वडानागरिक मञ्चका संयोजक मधुकर बादीलाई खुसी पार्न दिईएका ५० कुखुरा उनले अन्य ब्यक्तिलाई प्रति कुखुरा एक सयका दरले विक्रि गरेको खत्रीले खुलासा गरे । तर मधुकरले आफुले कुखुरा विक्रि नगरेको दावी गरे ।

वडापालिकाले छनौट गरेर कुखुरा वितरण गरेका १९ जनै ब्यवसायी जनप्रतिनिधी निकटका रहेको स्थानिय पुतला नेपालीले बताईन । उनले आफुहरु जस्ता विपन्नलाई नदिएर जनप्रतिनिधीले आफु र आफु निकटका लागी दिएको गुनासो गरिन । उनले भनिन–‘जुन ब्यवस्था आएपनि टाढावाँठा र साहुकै हालीमुहाली चल्दो रहेछ हामी जस्ता गरीव र विपन्नका लागी होईन रहेछ ।’ विपन्नको आयआर्जनका लागी दिनु पर्ने कुखुरा जनप्रतिनिधी आफैले लिनु राम्रो नभएको स्थानिय युवा धर्मराज परियारले बताए । यस्ता जनप्रतिनिधीबाट जनताले के अपेक्षा गर्ने उनले भने ।

अति गरीव छनौट गर्दा पनि खोर बनाउन नसक्ने र ब्यवसाय पनि नगर्ने विगतको तितो यथार्थतालाई मध्य नजर गदै ब्यवसायिक रुपमा कुखुरा पालन गर्ने जो कोही ब्यवसायी छनौट गरी दुई सयका दरले कुखुरा वितरण गर्ने वडा समितिले निर्णय गरेको वडाध्यक्ष दीपक रानाले बताए । उनले कुखुरा मर्न सक्छन भनेर ह्याचरीले ५ प्रतिशत बढी कुखुरा पठाईदिएको थियो । लोकल कुखुरा पालन गरौ न त भनेर साथीहरुले रहर गरे । बचेका कुखुराबाट मैले एक कार्टुन राखे ( एक कार्टुनमा ६० चल्ला हुन्छन् ) । अरु साथीहरुले पनि लिनु भयो । तर ब्यवसायी छनौट गर्न वडा सदस्य ज्युहरुलाई जिम्मा दिएका थियौ केही निकटका मानिस छनौट भएको गुनासो आएको छ । उनले भने ‘ को ब्यक्ति छनौट भयो भन्दा पनि ब्यवसायिक भए भएनन् त्यो हेरौ । हाम्रो लक्ष्य ब्यवसायिक कुखुरा पालक किसान बनाउने भन्ने हो । अति विपन्न परिवारलाई त अन्य कार्यक्रममा समेटने योजना छदैछ । यसमा विरोधै गरिहाल्नु पर्ने कारण छैन ।’

वडा सचिव बस्नेतले पनि ब्यवसायिक किसानलाई वितरण गरेर बचेका कुखुरा आफुहरुले लिएको स्वीकार गरे । उनले ब्यवसायिक किसान छनौट गर्ने जिम्मा जनप्रतिनिधीलाई दिईएको बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad