राजेन्द्र कार्की । जाजरकोट ।
सरकारले हालै सार्वजनिक गरेको देशभरका एक सय पर्यटकिय गन्तब्यमा जाजरकोट दरबारलाई पनि सुचिकृत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले प्राकृतिक सौन्दर्य, धार्मिक, ऐतिहासिक तथा पुरात्तात्विक महत्वका आधारमा देशभरबाट सय पर्यटकिय गन्तब्य छानेको हो ।
पहिलो पल्ट जाजरकोटबाट ऐतिहासिक , राजनैतिक तथा पुरातात्विक महत्व बोकेको साढे दुई सय बर्ष पुरानो जाजरकोट दरबारलाई पर्यटकिय गन्तब्यमा राखिएको हो । बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको जाजरकोट दरबारलाई सरकारले पर्यटकिय गन्तब्यमा समावेश गरे सँगै यसको मर्मत गरिएको छ । दरबारलाई पुर्ननिर्माण गरेर पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने सरकारी योजना छ ।
इतिहासका जानकार राजुराजा सिंहका अनुसार जाजरकोट राज्यको राजधानी शुरुमा जगतिपुरमा थियो । जाजरकोट राज्य संस्थापक जगती सिंहका नाती तत्कालिन राजा देव सिंहको घोडाले हालको जिल्ला सदरमुकाम खलंगाको टाकुरामा मन पराएको र बाईसे चौविसे राज्यको लडाई चलिरहेका बेला सुरक्षा दृष्किोणले पनि उपयुक्त भएपछि १६ औ शताब्दीमा जगतिपुरबाट खलंगामा राजधानी सारिएको थियो । शुरुमा सामान्य दरबार भएपनि १८ औ शताब्दीको ३० को दशकमा तत्कालीन राजा गजेन्द्रनारायणले सात तले दरबारको निर्माण गरेका हुन् । भक्तपुरबाट ल्याएका चर्चित कालिगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट इँटा बोकाएर दरबारको निर्माण भएको सिंहले बताए ।
‘जाजरकोट दरबारमा घाटघर, कोतघर, दुर्गाखोपी, भण्डारघर, भारदारी बैठक कक्ष, सिंहद्वार, मयूरद्वार, नारायण थान लगायत रहेको इतिहासमा उल्लेख छ,’ सिंहले भने वि.सं. १९९० सालको भूकम्पका कारण दरबार भत्किएपछि पुर्णनिर्माण गरेर चार तला मात्र बनाईएको हो । हाल उक्त दरबार चार तले छ । दरबारको भव्य महलबीचमा रानीहरूले नुहाउने तलाउ र दुई सिंहले खुट्टा उचालेर आक्रोश व्यक्त गरेको चित्रण देखिने कलात्मक प्रवेशद्वारको अहिले नामनिसान छैन । सरकारले २०१७ सालमा राजा रजौटाको उन्मूलन गरेपछि राजाले बस्न छाडेको यो दरबारका ऐतिहासिक वस्तुहरू हराएका छन् । दरबारको सातौं तलामा रहेको नारायणथानको मन्दिरको प्राचीन मूर्ति पनि हराएको सिहले बताए ।
जाजरकोट राज्यका अन्तिम राजा स्वयमप्रकाश शाहका छोरा प्रकाशविक्रम शाहले २०४२ सालमा जिल्ला पञ्चायतलाई ६० हजार रुपैयाँमा दरबार बिक्री गरेका थिए । त्यसपछि उक्त दरबारमा जिल्ला प्रशासन कार्यालय बस्दै आएको छ ।
दरबारको संरक्षण नहुँदा पूर्वजको चिनारी र ऐतिहासिक सम्पदा नष्ट हुन गएको स्थानीयको भनाइ छ । ऐतिहासिक जगतीपुर दरबारको भग्नावेशसमेत छैन । केही वर्ष अघिसम्म बडादसैंको फुलपाती देखि विजयादशमी सम्म यही दरबारमा बन्दुक पड्काएर हर्षबढाइँ गर्ने चलन थियो । तर उक्त चलन अहिले हराउँदै गएको स्थानिय राजेन्द्र विक्रम शाहले बताए । ‘पछिल्लो समय सरकारी बेवास्ताका कारण दरबार जीर्ण बन्दै गएको छ,’ शाहले भने, ‘नेपाल एकीकरण अभियानका बेला पश्चिममा निकै शक्तिशाली राज्यको रूपमा जाजरकोट थियो ।’
दरबार पुरातत्व विभागमा दर्ता भए पनि रेखदेख र संरक्षणमा कसैको चासो नदेखाएको उनले जनाए । उनका अनुसार दसैंका बेला जाजरकोट राज्यको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व झल्काउने राँगो बली दिएर मेला लगाउन परम्परा पनि ओझेल परेको छ ।
पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्गको पूजा गर्न ९ राँगा र ९ बोकाको बलि दिने चलन हराउँदै गएको उनले बताए । वि.सं. १९१४ मा ताक्लाकोटको लडाइँमा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले विजय हासिल गर्दाका छालाको तोप र अन्य हतियार राष्ट्रिय संग्रहालय छाउनीमा रहेको शाहको भनाइ छ । १८२५ साल माघ ५ गते भारतको मणिकर्णिका घाटमा जाजरकोटी राजा हरि शाहले गोरखाका राजा पृथ्वीनारायण शाहसँग एक अर्कालाई सहयोग गर्ने भन्दै मितेरी साइनो लगाएर गरेको धर्मसन्धिका बेला पाएका केही उपहार तथा दस्तावेज पनि हराएको शाहको भनाइ छ ।
दरबार पुनर्निर्माणका लागि पुरातत्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले दुई वर्ष अघि २७ करोडको लागतको डिजाइन बनाएर उक्त अर्थ मन्त्रालयमा पेश गरेपनि बजेट स्वीकृति हुन नसकेको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए
कार्यालयले दरबारको ऐतिहासिक पक्ष तथा कलात्मकता नबिग्रिने गरीे डिजाइन बनाएको थियो । उनले भने ‘ऐतिहासिक महत्त्व बोकेको यो दरबारको पुनर्निर्माण नहुनु दुर्भाग्य हो । ढिलै भएपनि सरकारले सय पर्यटकिय गन्तब्यमा सुचीकृत गरेको छ । यो खुसीको कुरा हो । यसको संरक्षण तथा प्रचार प्रसारका लागी राज्यले विशेष पहल गर्नुपर्छ ।’
जाजरकोटका अन्य पर्यटकिय क्षेत्रलाई सुचीकरण नगरिएकोमा असन्तुष्टि
जिल्लाका महत्वपुर्ण पर्यटकिय क्षेत्रलाई सरकारले हालै सार्वजनिक गरिएको पर्यटकिय क्षेत्रमा समावेश नगरिएको भन्दै जाजरकोटवासीले असुन्तुष्टि ब्यक्त गरेका छन् । जिल्लाका जगतिपुर दरबार क्षेत्र, खलंगाका शिवालय मन्दिर, कालिका मन्दिर, मालिका मन्दिर, पैकको मष्टा मन्दिर, पजारुको चैत्य स्तुपा, बारेकोटका साइकुवारी, संख दह, कुकुर दह, राँगाबाचिलो, ठाकुरजी लगायतका पर्यटकिय क्षेत्रलाई समावेश नगरिएको भन्दै जिल्लावासीले असन्तिुष्टि ब्यक्त गरेका हुन् ।