राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका गाँउ गाँउमा खुलेका अधिकांश औषधी पसल अवैध रहेको पाईएको छ । मेडिकल राख्नको लागी फार्मेसी अध्ययन गरी औषधी ब्यवस्था विभागबाट स्वीकृति लिएको हुनु पर्ने प्रावधान छ तर यहाँका धेरैजसो मेडिकल नियम विपरीत अवैध रुपमा संचालन भैरहेका छन् ।
स्वास्थ्य सम्बन्धी सामान्य तालिम लिएकाले पनि मेडिकल संचालन गरिरहेका छन् । नियमनकारी निकायले यस तर्फ कुनै चासो नलिदा गाँउ गाँउमा अवैध तरीकाले खुलेका मेडिकलले उपचार गरिरहेका छन् । त्यसरी खुलेका कतिपय मेडिकलले साइन बोर्ड समेत राखेका छैनन् ।
सरकारी स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी र औषधी नहुँदा धेरै जसो जाजरकोटबासी उपचारको लागी अवैध रुपमा खुलेका निजी मेडिकल धाउन बाध्य छन् । ‘सरकारी स्वास्थ्य संस्थाको औषधी र निजी मेडिकलको औषधीको गुणस्तरमा खासै फरक नपर्ने तर निजी मेडिकलले शुरुमै हाई डोजको औषधी चलाउँदा निजी मेडिकलमा गएर उपचार गर्ने प्रबृत्ति बढेको पाइन्छ । ’ जिल्ला अस्पतालका डा.अमिन शाहले भने–‘हामी विरामीको अवस्था हेरेर सामान्य औषधी प्रयोग गछौ निको हुन केही समय लाग्छ । एकै पटक कडा डोज प्रयोग गदैनौ तर निजीले मानिसको स्वास्थ्यको ख्यालै नगरी एकै पटक कडा खालका औषधी प्रयोग गर्छन र छिटै निको हुन्छ तर त्यसले मानव स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ ।’ चिकित्सकको अनुमति विना कडा खालका एन्टिवायोटिक औषधी विक्री गर्न नै मिल्दैन तर जाजरकोटका मेडिकलवालाले आफै विरामी चेक गर्ने र मनोमानी तरीकाले औषधी दिने गरेको छन् । धेरैजसो मेडिकलवाला अहेबको कोर्स पढेका छन् । उनीहरुले विरामीको स्वास्थ्य परीक्षण नै गर्न मिल्दैन । फार्मेसी पढेकाले मेडिकल राख्न पाउँछन तर उनीहरुले पनि विरामीको उपचार गर्न पाउँदैनन् डा. शाहले भने ।
भेरी नगरपालिका २ का विर्खबहादुर कार्कीले भने ‘सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाउने औषधी नपाउँदा निमुखा नागरिकहरु अहिले पनि निजी मेडिकल जान बाध्य छन् । एकातिर निजी मेडिकलले नागरिकको आर्थिक शोषण गरिरहेका छन् भने अर्कोतिर स्वास्थ्यमा खेलवाड । पैसा कमाउने नाममा हाईडोज औषधी दिएर मानिसको स्वास्थ्य विगार्ने काम गरेपनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।’
जाजरकोटवासी स्वास्थ्य सेवा र पहुँचको हिसावले निकै पछाडी छन् । तीन नगरपालिका र चार गाँउपालिका रहेको जाजरकोटमा एक जिल्ला अस्पताल , तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य केन्द्र रहेका छन् । भौगोलिक विकटताले स्वास्थ्य संस्था पुग्न ६ घण्टा बढी समय लाग्ने गरेको छ । छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने केही ठाँउ बाहेक अन्य गाँउहरुमा सडकको पहुँच पुग्न सकेको छैन । जिल्लाका ८० प्रतिशत भुभागका बासिन्दा पैदल हिड्नुको विकल्प छैन त्यसै कारणले पनि नजिकै रहेका मेडिकलमा गएर उपचार गर्नुपर्ने बाध्यता रहेको जुनीचाँदे ४ लुवादहका हरिबहादुर खड्काले बताए । स्वास्थ्य संस्था नाम मात्रका छन् । स्वास्थ्य संस्थामा न स्वास्थ्यकर्मी हुन्छन् न सरकारले निशुल्क दिने भनेको औषधी नै उनले भने ‘ कमजोर सरकारी स्वास्थ्य संस्था र सेवाका कारण स्थानिय अवैध रुपमा खुलेका निजी मेडिकल धाउन बाध्य भएका हुन् ।’
स्वास्थ्य संस्था स्थानिय तह मातहतमा हस्तान्तरण भएसँगै स्वास्थ्य क्षेत्र झनै तहसनहस भएको सरोकारवालाको भनाई छ । स्थानिय सरकारले अवैध रुपमा खुलेका मेडिकललाई ब्यवस्थित गर्न, नियमन गर्न र बन्द गर्न सक्छन् । तर उनीहरुले यस तर्फ कुनै चासो दिएका छैनन् । स्थानिय तहले अवैध तरीकाले खुलेका मेडिकल ब्यवस्थित गर्न तर्फ चासो नदेखाउँदा उनीहरुको मनोबल बढेको छेडागाड ८ का अर्जुन अधिकारीले बताए । ‘अख्तियार, स्थानिय सरकार देखि स्थानिय प्रशासन सम्म अवैध रुपमा खुलेका मेडिकलका विषयमा उजुरी गरेपनि सुनुवाई भएन’अधिकारीले भने–‘जनस्वास्थ्यमा खेलवाड गर्ने र मनोमानी शुल्क लिने अवैध मेडिकल तत्काल बन्द हुनु पर्छ ।’
क्याप्सन ः जाजरकोट बारेकोटको घाटमा अवैध तरीकाले खुलेको एक मेडिकल । तस्वीर राजेन्द्र कार्की[/caption]
अवैध मेडिकलमा मनोमानी उपचार
